मित्रता दिवस / फ्रेण्डसिप डे | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मित्रता दिवस / फ्रेण्डसिप डे




झगडा, बैमनस्यता यदी छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको एेना हो, यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाँउन लागीपरौं, जय होस् ।


मित्रता दिवस / फ्रेण्डसिप डे बिशेष अडियो सामाग्री

सुदामाले कृष्णलाई सोधे.. कृष्ण ! मित्रताको मतलब के हो ?

अाफ्नो अनन्य मित्र सुदामाको प्रश्न सुनेर कृष्णले बडो गज्जबको उत्तर कथे, "हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौं स्वार्थ त्यो यदि लुकेको छ भने त्यो मित्रता होइन, अात्मियता हैन र मित्रता हुनकालागि निस्वार्थ भाव अनिवार्य छ ।"

अर्थात् मित्रता सम्बन्धको त्यो टेको हो जुन भावनाको जगसंग अडिएको हुन्छ ।

आज सम्झना गरौं न, कक्षाकोठामा सिसाकलम समाएको बेला मेटाउने र सिसाकलम ताछ्ने सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पती साटदासम्म साथ दिएका-लिएका मित्रहरुलाई । इजार या इलास्टीक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालसम्म पाएको साथको अाज चर्चा गराैं ।

'गाँस छाड्नु तर साथ नछाड्नु' भन्ने उखान त्यसै भनिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरुमा सहृदय र सद्भाव भएका मित्रहरुको पाइलाका डोबहरु र अनुहारहरू यादगार हुन्छन्, कति उदाहरण त यूगाैं यूग अमर भएर बाँचिरहन्छन् भग्वान कृष्ण र सुदामा बनेर ।

घर देखि स्कूलसम्म, बस्तुभाउ चराउनदेखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि जीवन यापनका प्रसङ्गमा हामीले धाउनुपरेका अनेकानेक देशविदेशका यात्राहरूमा हामीले रगतको नातापछि सम्झिने भनेको भावनाको नाता कै हो अर्थात साथीको । यो मानवले हाँकेको विश्वले प्रेमलार्इ झै मित्रतालाई पनि अनेक साहित्य, कला अनि कथनहरुमा उत्तिकै महत्वकासाथ स्थान दिंदै अाएको छ । मित्रताका बारेमा प्रशस्तै नाटक, चलचीत्र, गीत, कथा, कविता अादि सृजना भएकाछन् । शाहवंशकी अत्यन्तै लोकप्रिय महारानी कवि तथा गीतकार चाँदनी शाहको साथ र साथीको भाव बोकेको एउटा गीत त लोकप्रिय गायक नारायण गोपालको अोठमा परेपछि नेपाली जनजिब्रोमा मायालू र साथीको भाव बनेर अझै बाँचि रहेछ....

"एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा"


यो गीत अघि र पछि पनि धेरै गीतहरु मित्रताको भावना अनि मर्म पस्किएर चर्चीत र कालजयी बनेका छन् । दूना र टपरीदेखी माटो र ढुङ्गासम्मको  मित्रताका गाथाहरु अनि फूल र काँढाका मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?

लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरुदेखी स्कूलबाट भागेर फिल्म हेर्न गएकाहरु सम्म, लूगा साटासाट गरेका जिग्रीहरुदेखी कपी साटेका पढन्ते दोस्तहरु सम्म, अनेक रुप र स्वरुपका मित्रहरु हाम्रो बाल्यकाल, बयस्क अनि बुढेसकाल गर्दै जीवनभर जोडिएका हुन्छन् ।

मदर टेरेसाका शब्दमा भन्न चाह्यौं, "आफ्ना मित्र सिद्ध हुन भनेर आश नराख बरु आफ्ना मित्रका कमि कमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर ।" यसअर्थमा हामीहरुले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरु सिकेका हुन्छौं ।
अर्कोतर्फ सत्य अनि सही मित्रहरु छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाँउमा छ, सही मित्र अनि सत्य मित्रता छनाैट गर्नसक्नु हाम्रो अाफ्नो भागको दायीत्व पनि त हो ।

केटकेटी उमेरमा साथीहरुसंग खेल्न र बोल्न पाँउदा कैंयन ज्वरो, दुखाई, बेथिती अनि उकुसमुकुसहरु हराएका हुन् । कुनै चलचीत्र हेरेपछि साथीहरुसँग त्यसको बारेमा गरिएका बखानहरु, मनपर्दो कलाकार, गायक, गायीकाहरूका बारेमा गरिएको कुराकानी.... गुच्चा, लट्टु, छकन्ता, चोर-पुलिस जस्ता अनेकानेक खेल अथवा घच्ची पिलाउने खाल्डाहरु, जितेका अनि हारेका रबरव्याण्डहरु अनि सँगै कुखुरा बनेका कक्षाकोठाबाहिरका बरण्डाहरूमा सबैले मित्रताको अनेकन पल अनि अनुभूति कोहि न कोहि साथीसंग नजोडी यो दोस्ति, यारीका सम्झनाका तरेलीहरू अधूरै रहनेछन् ।

बूढा, तरुना, बच्चा लगायत हरेक उमेर समूहका हरेकसँग मित्रता हुन सक्दछ । मित्रता उमेर र वर्ग भन्दा कोशौं पर छ । शायद विपी कोइरालाले "मेरो सानो साथी" यस्तै कुनै अनुभूतिबाट जन्माएको हुनुपर्दछ ।

हरेक बर्षको अगस्त महिनाको प्रथम आइतबार विश्वभर मित्रताको महाकुम्भ लाग्नेगर्दछ, मित्रता दिवसका रुपमा यस दिनमा सबैले आ-आफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।

यसक्रममा मित्रताको हाते धागो अर्थात फ्रेन्डशिप व्याण्डको चलन संसारभर सबैभन्दा बहुप्रचलीत तथा लोकप्रिय चलन पनि हो । नेपालमा पनि बिभिन्न प्रकारका कार्यक्रम, भेटघाट र उत्साहका साथ यस दिन मनाइन्छ । संगै पढेका, संगै काम गर्ने, संगै भएका या नभएका सम्पूर्ण मित्रहरुलाई आफ्नो माया जागृत गर्नुहोस् । मित्रता छ र त संसार यति मिठो छ, हैन र ?

झगडा, बैमनस्यता यदी छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको एेना हो, यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाँउन लागीपरौं, जय होस् ।

----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.