ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

हरिबोधिनी एकादशी | तुलसी विवाह | विश्व शौचालय दिवस




शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चार-नारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।


हरिबोधिनी एकादशी बिशेष अडियो सामाग्री

दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।

हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।

बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।

पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।

भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्ण लाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।

औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो । 

आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ ।  विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाण्डौ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।

परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।

पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा  हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।

शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।

उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ । 

यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ । 

नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना ।
------------------------
तुलसी विवाह

देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
 नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।


कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।



यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी-देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नम: भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । अस्तु ।।
-    प. नारायणप्रसाद दुलाल

विश्व शौचालय दिवस


ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु पर्दा ट्वाईलेट जस्तो छ्या भन्ने चलन छ ।
बच्चाले राम्रो नपढेमा ट्वाईलेट मा थुनिदिन्छु भन्ने धम्कीहरु त हामीमध्य धेरैले भोगेका अनि खपेका छौं । जिवनका लागि अपरिहार्य अनि सरसफाई को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि बितृष्णाका रुपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाँही लाग्ने गर्दछ ।
दुख्खद कुरा त के भनें नेपालका अधिकांश शहर या गाँउहरुमा व्यबस्थित शौचालयको सुबिधा छैन् । बाहिर निस्कन पर्दा एकफेर घरको शौचलयमा शौच अनि मुत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?
अस्पताल देखि सिनेमाघर सम्मा अधिकांश शौचलयहरु दुर्गन्ध हुने गरेको हामीले पाएका छौं भनें अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनें सुस्तरि शौचालय सभ्यता अनि सरसफाई बढोत्तरी भएकै हो ।
विश्वले यसै शौचालय अनि यसको महत्वलाई सबैसामो उजागर गर्दे हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ । यसपालाको विश्व शौचालय दिवसको नारा भनें वेस्टवाटर अर्थात फालिनेपानी या सफा गरिनुपर्ने पानी भन्ने रहेको छ । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । आउनुहोस् यसै शौचलयको परिवृती अनि बिकासक्रमका कुरा गरौं ।
शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानवजीवनशैली र सरसफाईकालागि चर्पीको आवश्यक्ता अपरिहार्य छ र चर्पीको प्रयोग हाम्रोलागि आधारभुत नै छ । तर विडम्बना शौचालय र यसको आवश्यक्ता बारे जति ढ्याङ्ग्रो पिटे पनि चौध अञ्चल, पचहत्तर जिल्लाबाट राजधानी पसेकाहरूको दैनिक लाखौं जनजीवनको आवागमनको चापकालागि राजधानी मैं सार्वजनिक शौचालय छँदैछैन भने पनि फरक नपर्ला । भएको मोबाइल शाैचालय पनि छिर्न सक्ने अवस्थामा छैनन् । सडकमा बस्ने विपन्न वर्गहरू, सडक बालबालिकाहरू, सर्वसाधारण फिरन्तेहरूकालागि शाैचालयको कहाँ कस्तो व्यवस्था छ एक पटक खोजाैं त ! सम्बन्धित निकायले किन यस बारे यति निराशा देखाएको हो बुझ्न गार्ह्रो छ ।

सानैदेखि लगाउँ बानी, चर्पी जाउन हाम्रा नानी
यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमुत्रबाट फैलनसक्ने रोगहरु अनि संक्रमणहरु रोक्नका लागि यस्ता उदाहरणिय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको ईतिहास त्यति पूरानो छैन तर विकासका धेरै मापदण्डहरु परिवर्तन भएको देख्ने पुस्ताहरु अझै जीवितै छन् ।

मान्छेहरुले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सरसफाईका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आईपुग्दा हाम्रो दिनचर्यासंग विभिन्न अानिवानी, चालचलन र अभ्यासहरु थपिंदै आएक छन् । शौचालय पनि तिनैमध्येको एक हो । शुरुशुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौचगर्ने मान्छेहरुले विस्तारै एउटा छुट्टै सानो कोठालार्इ शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । विश्वप्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मबृतान्त या यात्रा संस्मरणमा त्यसबखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा ब्याख्या गरिेको पाइन्छ । आज हामीहरु विभिन्न प्रकारका शौचालयहरु प्रयोग गर्दछौ, कुनै कुर्सिजस्तो बसेर शाैच गर्नमिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने । गाँउघरमा सेफ्टी ट्याङ्क या रिङ्ग हालेर बनाइएको शौचालयहरुको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाँउका रुपमा हेरिने गरिएपनि शरसफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन अाफू बस्ने कोठाभित्रै संक्रमण रहित सफा र अाकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छाैं । हरेक विहान सामान्यतया हामी सबै शौचालय जान्छौं । दिनभरिमा एउटा मानव सबैभन्दाधेरै जाने एकमात्र ठाउँनै शौचालय हो ।

शौचालयको प्रयोगपछी नछुटार्इ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनुपर्ने कुराहरु पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत् जस्तैः टिभी, रेडियोबाट प्रचार प्रशार गर्ने गरीएको छ । अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बनगर्न जरुरी छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।
नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शाैचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफार्इ तथा व्यवस्थापन छैन ?

शुरुशुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलार्इ अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचलयको प्रयोगकालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन् । तर नेपालका विकसित शहरहरुमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्नेगर्दछ । कतिपय ठाँउमा त सार्वजनिक शौचलयको शूल्क यति महङ्गो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमुत्र त्याग गर्ने हामी नेपाली नै हौं कि भन्ने भान हुन्छ ।

घरघरमा शौचलयको सही उपयोगका कुराहरु जानकारी दिन जरुरी छ ।
विदेशीहरुले ट्वाइलेट पेपरले शाैच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरु पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौं, दुवै तरिका सहि हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरु हुन्छन् तर सरसफाई महत्वपूर्ण कुरा हो ।

मुख्य कुरा आउने पुस्ताहरुलाई शौचालय फोहोर ठाँउ हो भन्ने भावना विकास हुन नदिउँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर संक्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरु हरेक वर्ग, लिङ्ग, जात जाति, समूदायसम्म पुर्याउनु जरूरी छ । याद राखौं सफा शौचालयको सहि प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।

हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.67
  • 115.27
  • European euro
  • 130.58
  • 131.27
  • UK pound sterling
  • 144.72
  • 145.48
  • Swiss franc
  • 116.03
  • 116.63
  • Australian dollar
  • 82.69
  • 83.12
  • Canadian dollar
  • 85.6
  • 86.05
  • Singapore dollar
  • 83.54
  • 83.98
  • Japanese yen (10)
  • 10.14
  • 10.19
  • Chinese renminbi (Yuan)
  • 16.61
  • 16.69
  • Saudi Arabian riyal
  • 30.56
  • 30.72
  • Qatari riyal
  • 31.49
  • 31.65
  • Thai baht
  • 3.5
  • 3.51
  • UAE Dirham
  • 31.22
  • 31.38
  • Malaysian ringgit
  • 27.4
  • 27.55
  • Korean Won (100)
  • 10.15
  • 10.2
  • Swedish Krone
  • 12.68
  • 12.75
  • Danish Krone
  • 17.5
  • 17.59

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम