आमलकी एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आमलकी एकादशी




आमलकी एकादशी विशेष अडियो सामाग्री

हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनष्पतिलाई जनाउँदछ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्व छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा वहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैं देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो । त्यहि बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा स्विकार गरियो । यहि कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी दवाईका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।

आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास रहेको छ । यस एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् श्री बिष्णुको मुखबाट उत्पति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ । भगवान् बिष्णुलाई समेत अत्याधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रिय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ । आमलकी एकादशीको व्रत लिनेले सवेरै स्नान गरी भगवान् बिष्णुको मुर्ति तयार पारी हातमा तिल, कुश र पैसाले पानी समातेर संकल्प गर्नु पर्दछ । त्यसपछि अमलाको बोटको वरिपरि सफा सुग्धर गरी गाईको गोबरले लिपेर शुद्ध पारी अमला बृक्षको पूजा गर्नु पर्दछ । त्यसरी पूजागर्दा अमलाको रुखको जरा छुनेगरी वेदी बनाउनु पर्दछ र त्यहाँ कलश स्थापना गर्नुपर्दछ । उक्त कलशमा सुगन्ध तथा पञ्चरत्नहरु समेत राख्ने गरिन्छ । कतिपयले भगवान् बिष्णुको छैठौं अवतार पर्शुरामको प्रतिमा पनि स्थापना गर्दछन् । यसोगर्दा बिष्णु प्रसन्न भई मोक्ष प्राप्तिको बाटो खुल्छ भन्ने विश्वास रहेको छ ।

एक नगरका सवै बासिन्दाहरु भगवान् बिष्णुका भक्त थिए । उनीहरु सवैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एकपटक आमलकी एकादशीकै दिनमा सबैजना व्रत बसि मन्दिरमा जाग्राममा थिए । रातीको समय भएकाले एउटा धेरै हिंस्रक र असहिंष्णु भोको शिकारी पनि शिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । शिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो तर सकेन । उसले भोजनकै लागि भए पनि त्यो रात बिष्णुका भक्तहरुसंगै जागै बस्ने निर्णय गर्यो । भोलीपल्ट बिहान भएपछि शिकारी सहित सवै भक्तजनहरु आ-आफ्नो घर फर्किए । समय बित्दै जाँदा शिकारीको अचानक मृ्त्यु भयो । तर शिकारीले नजानिकनै भए पनि आमलकी एकादशीको ब्रत गरेको थियो । त्यहि भएर मरे पनि सवै पापहरु नास भई उक्त शिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुर्नजन्म एउटा राजकीय खानदानमा भयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रुपमा देखा पर्यो । दान धर्मादि कार्यमा उसको तीब्र रुचि देखियो । समय वित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले शिकार खेल्न गयो तर उ डाकाहरुको चंगुलमा पर्यो । हातहतियार सहितका डाकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाकाहरुले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केहि चोट पुर्याउन सकेन । अझ शस्त्रहरु प्रहार गर्न थाले तर डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरे पछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाकाहरू उसलाई आक्रमण गर्न छाडेर आफूआफूमै झगडा र आक्रमण गर्न थाले । त्यहिबेला एक अलौकिक शक्ति प्रकट भयो र उक्त शक्तिका कारण सवै डाकाको मृत्यू भयो । उसले अलौकिक शक्तिसंग सोध्यो- मेरो रक्षा गर्ने को हो? जवाफमा- पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तेरो रक्षा भगवान् बिष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो कुरा सुनेर उ सारै बिष्णु भगवान् प्रति झन धेरै कृतज्ञ बन्यो र सदा लागि बिष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा रहेको छ । यसै कथाका आधारमा अहिले पनि आमलकी एकादशीको व्रतको प्रभाव र महत्व जाज्वल्य रहेको छ ।

अर्को मान्यता अनुसार जसरी भगवानहरुमा बिष्णु पुज्यनीय छन्, त्यसैगरी फलहरुमा अमला पवित्र र पुज्यनीय मानिएको छ । बिष्णुले जव सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यहि बेला अमलाको रुखको उत्पति भएको मानिन्छ । भगवान् बिष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुम उल्लेख भएको पाइन्छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.