उत्पत्तिका एकादशी | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

उत्पत्तिका एकादशी | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस




उत्पत्तिका एकादशी विशेष अडियो सामाग्री

मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पतिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दू पञ्चाङ्गको एघारौं तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पति भएको हुनाले यसलाई "उत्पतिका एकादशी" नामाकरण गरिएको हो । सवै एकादशी मध्ये "उत्पतिका एकादशी" पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । एकादशी "कृष्ण पक्ष" र "शुक्ल पक्ष" गरि महिनामा २ चोटी पर्ने गर्दछन , जसमध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।

उत्पत्तिका एकादशी व्रतकथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमयि एकादशी तिथि कसरी उत्पन्न भयो ? "एकादशी' तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरुको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरु मेट्दै भगवान कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीरसागर जानुभयो। त्यहाँ शेषनागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई साष्टांग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे।

देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान बिउझनुभयो । सबै देवगणले भगवान विष्णुलाई दानव "मुर"को अत्याचार सुनाए, जुन सुनेर भगवान बिष्णु निक्कै क्रोधित हुनुभयो र भगवान श्रीविष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। युद्धका क्रममा असंख्य असुरहरूको भगवान विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान बिष्णु समेत थाक्नुभयो र दानव "मुर"को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रालीन हुनुभयो। दानव मुरले भगवान विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन् । ति देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केहि बेरमै मुरलाई रथ र अस्त्र बिहिन बनाइदिईन। आफ्नो शक्तिको आहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिईन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा "एकादशी" ले भगवान बिष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफुले पाप नाश गर्दिन सकु भनि वरदान मागिन, जसलाई भगवान विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान बिष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।

श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन।

एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

 


१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्‍याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको विद्यालयको यो संरचना उनकोलागि योग्य छ त?

यस्तै आशाजस्ता लाखौं अरु मान्छेहरु छन्, संसारको कूल जनसंख्यामध्ये १५ प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपको अपाङ्गता छ तर उनिहरुको हरेक ठाँउमा समान पहुँच छैन ।

महोत्तरी जिल्लाका काशी साह दृष्टिविहिन छन्, नागरीकता लिन जाँदा सिडियो कार्यलयमाथी जान उनलार्इ अप्ठेरो भयो । यस्ता धेरै कार्यालय र संरचनाहरूमा अपाङ्गता भएकाहरुको समान पहुँच छैन् ।

टिभीमा आउने समाचार मैले केही पनि बुझ्दिन र कति मनलागे पनि सिरियलहरु बुझ्न सक्दिन, अरुहरु हास्य कार्यक्रम हेरेर हाँसेको देख्दा मलाई पनि बुझेर हाँस्न मन लाग्छ तर सक्दिन बाग्लुङ्ग कि सुस्त श्रवण बहिनी विनिता डिसीले हाम्रो पात्रोसंग कुराकानीको क्रममा बताउनुभयो ।

यस्तै गुनासो बाँकेका दृष्टिविहिन शिवराज वि.के.को छ, कुनैपनि पत्रिकाहरु व्रेललिपीमा आँउदैनन्, हामी बाहिरी संसारका सुचनाबाट कहिलेसम्म पर रहने ?

म्याग्दीका दृष्टिविहिन साथी गणेश सुवेदि, आफ्नो प्यारो मोबाईल सहयात्री हाम्रो पात्रो हरेक दिन चलाउनुहुन्छ, वहाँले अडियोका मार्फतबाट दिन विशेषका जानकारी लिनुहुन्छ, अझै सहज र अपांगमैत्री अडियो राखिदिन वहाँको हाम्रो पात्रोसँग आग्रह छ र हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताको भावना प्रति कटिवद्ध छ । अपांगमैत्री समाज र सुचनाका संरचनाहरु आजको आवश्यक्ता हो ।

-------------

वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो ।

अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा राख्नसके सपाङ्ग झै अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनैपनि चुनाैतिको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाई, दिदीवहिनी, आमाबुवाहरुमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरु ।

सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । अाजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरु गुञ्जीरहुन् भन्ने कामना पनि छ ।

अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।

अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन् । यसटकको अपाङ्गता दिवसकालागि संयूक्त राष्ट्रसंघले (हामीले खोजेको भविष्यकालागि १७ वटा उदेश्यहरु) भन्ने नारा लिएको छ ।

समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो ।

नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताकालागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

नेपालमै प्रथम पटक बाग्लुङ्गको धौलागिरी सुस्त श्रवण विधालयमा कक्षा १२ पश्चात् कम्यूटर ईन्जिनियरिङ्गको सीपउन्मुख कक्षा सञ्चालनमा आएको छ । यस्ता उदाहरणीय अपाङ्गमैत्री तथा समावेशी शिक्षाका अवधारणा र उदाहरणहरू नेपालभरिका सम्पूर्ण विद्यालयहरुमा ल्याउन सकेमा दिगो विकास र समावेशी समाजको अवधारणाले फड्को मार्ने थियो र अपाङ्गता कै कारण शिक्षाको न्यानो प्रकाश सम्मको अाधारभूत पहूँचबाट कोही पछि पर्नुपर्ने थिएन । ।

तपाई हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका साथीहरुलाई माया, सद्भाव, समान हेरार्इ अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।

आफ्नो जीवनयापनकालागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तराष्ट्रिय समूदाय र गैरसरकारी संस्थाहरुको पनि अपाङ्गता भएका साथीहरुको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थोपचार व्यवस्थित होस् । अपाङ्गता सोंचले सिमित नहोस् अनि यसमा सबै साथीहरुको साथ, सहयोग अनि प्रतिवद्धता रहोस् ।

डिसेम्बर ३ को विशेष क्षमतासहितको यो फरक उर्जायूक्त दिन विशेषको सबैलार्इ शुभकामना ।
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.