कुकुर तिहार | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कुकुर तिहार




नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।


कुकुर तिहार विशेष अडियो समाग्री मानव सभ्यताको एउटा अभिन्न साथी

दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलार्इ यमपञ्चक पनि भनिन्नछ ।

अाज यमपञ्चकको दोश्रो दिन 'कुकुर तिहार' । हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ अाज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

ऋगवेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिअाएको छ ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

यी त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र "हाछिको" आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् । 

आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलार्इ मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।

आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिअाएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ । अाज नरके चतुर्दशी पनि र अाजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्कार्इ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलार्इ नरके बगाउने भनिन्छ।

आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।

तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी-भार्इ, दाजू-बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो । साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अाजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।

मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितिकी तन्त्र (Eco-System) का रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ ।

माया दिऔ, माया बाँडाैं अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधूर सम्बन्धको यो यात्रा जूगाै जूग चलिरहोस् । शुभकामना !

----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.