गुंला पर्व समाप्ति | विश्व आत्महत्या रोकथाम दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गुंला पर्व समाप्ति | विश्व आत्महत्या रोकथाम दिवस





वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ।

नेपाल: सबंतको यो एक्घारौ महिना हो अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा भव्यताका साथ मनाइयो। नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ। विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ, र यो वर्ष पनि यो कार्य भक्तालुहरुले नियमित रुपमा गरिरहे।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गरेर सुरु भएको यस पर्वले बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो। । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन् । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ,कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन यस महिना कायमै रह्यो। काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरुको यस दिनमा विशेष पुजा गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।

विश्व आत्महत्या रोकथाम दिवस
शारीरिक,मानसिक,व्यबहारिकका र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ। हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेको, देशको विभिन्न ठाउहरुबाट निरन्तर आइरहने यो दुखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ।

त्यसैले,आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल मनोचिकित्सक संघले माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्या विरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्दछ। विश्व स्वास्थ्य संगठन (WHO) को अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

थुप्रै मानिस हरुको आत्महत्याको कारण दुख खप्न नसकेर भनेर भनिने गरिन्छ। खासमा दुख बिनाको जीवन छिट्टै नै खल्लो हुदै जान्छ। सुख दुख जीवनका दुइ पाटा हुन्, मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुगदछ। मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जादैछन। यस किसिमका व्यक्तिहरुलाई भने इनका आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्दछ।

नेपाल जस्तो देशमा भने आर्थिक समस्यापनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ। ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले देहत्याग गरेका छन्। कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्न पाइन्छ , कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो वेइज्जत भएपछी समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन्। कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त। यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन।

आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो। जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला। सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन।

 सास प्रति विश्वास राखौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.