"चित्रकुटको घाटमा भयो सन्तहरुको भीड तुलसीदास प्रभू चन्दन घस्ने, तिलक लाउने रघुविर"
तुलसी दास जयन्ति
सर्वप्रिय साधक र हिन्दु दर्शनका पूर्नब्याख्याकार अनि धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसी दास ( सन १५३२ देखि १६२३), जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ । उनी बिशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उन्का खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी यस जगमा प्रसिद्घ छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसी दासले यो जगत छाडेर गएका लगभग ४५० बर्ष भइसके पनि बिभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिधापीठहरुमा तुलसी दासको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा सम्म लिइन्छ र अझै पनि उन्ले लेखेका हनुमान चालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरिनै अर्चना गरिने, गाइने अनि जप्ने गरिन्छ ।
आफ्नो जिवनको अधिकाशं काल तुलसीदासले वाराणसी अर्थात वनारसमा विताएका हुन् । बनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ ।
तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भम रहेका र जन्मदानै १२ वटा दाँत भएका थिए रे भन्ने कथाहरु आजसम्म पनि सुनिन्छ ।
जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले बरु रामको नाम लिएका थिए रे र त्यसैकारणले उनको नाम रम्बोला रहन गएको भनि तुलसी आँफैले बिनायपत्रिकामा लेखेका छन् ।
तुलसीको जन्मपश्चात बकेही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो संकटका कारणले घरमा काम गर्ने कामदार चुनीयाले उनलाई हुर्काएको तुलसी आँफैले लेखेका छन् । पछि चुनीयाको पनि मृत्यू भएपछि रम्बोलाले दैलो दैलोमा भिक्षा मागेर र गाएर जीवनयापन गरेका हुन् ।
यसैक्रममा रामायणका घटनाक्रम, पात्रहरु, छन्द, ज्ञान अनि परिवेशहरुसँग तुलसीदासको जीवनले जम्काभेट पाएको देखिन्छ, यो एउटा व्यबहारीक अध्यनन र सर्भेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरुसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रुपमा जीवन चलाँउदै गए ।
तुलसी दासको बारे प्रचलीत अवधी श्लोक नेपाली भाषामा
चित्रकुट को घाटमा भयो सन्तहरुको भिड
तुलसीदास चन्दन घस्ने, तिलक लाउने रघुविर
यस्ता धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसीदास ?
यिनीहरुका रुपान्तरणका कथाहरु अहिलेपनि मैथील र अवध गाउहरुमा बडो रसका साथ सुनाइने गर्दछ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो पत्नी रत्नावलीप्रति एकदमै आशक्त थिए । श्रीमती माइत गएको बेला एकदिन पनि छुटिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रिमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भनेर सर्प समातेर चढेका तुलसीदास सर्पदशंबाट बालबाल बचेका हुन् । श्रीमतीले तपाई म प्रति कतिधेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधु हुनुहुने थियो भनेर भनेपछि धर्म र साधना प्रति लागेको जनविश्वाश र किबंदन्ती अझै गाउ गाउमा गुन्जिने गर्दछ । तुलसीदास अझै पनि सामान्य जीवन बाच्ने तर असामान्य श्रृजना र कृतीका रचयताका रुपमा धेरैका प्रेरणाश्रोत हुन् ।
तुलसीदासको मृत्यूभएको १०० बर्षपछि पनि उनका अनुयायी प्रियदासले तुलसीदासको मृत्यू र उनका जीवनका सातवटा अदभुत आत्मीक अनुभवका बारेमा भक्तिरसबोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मिकीको अवतारकै रुपमा आफ्नो कृती भक्तकमलमा ब्याख्या गरेका छन् ।
धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जयन्ती हो, उन्का भनाइलाई हिन्दुधर्मको परिधि बाहिर पनि सहज ब्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि मार्मिक र मानवता अनि अध्यात्मका प्रवक्ता हुन्, जाँदा जाँदै तुलसी दासको यो भनाई
म उनलाई राम भन्छु
तिमी उन्लाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ
केवल उनीमा तिमी विश्वाश राख
भौतिक आशक्तिलाई उन्को समक्ष त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासीत बिचारक भइसकेका हुनेछौ ।
हिन्दु, बौदमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्मनै नमान्ने नास्तिक हुनुहुन्छनै भनेपनि सत्यता र मौलिकता को पथमा अगाडी बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस, अरुको सेवानै धर्म हो, सेवा गर्न पछाडी नहटौँ ।
हाम्रो पात्रोको शुभकामना
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: