वृष संक्रान्ति | विश्व परिवार दिवस | ललितपुर मत्स्यन्द्रनाथ रथा यात्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

वृष संक्रान्ति | विश्व परिवार दिवस | ललितपुर मत्स्यन्द्रनाथ रथा यात्रारम्भ




वृष संक्रान्ति विशेष अडियो सामग्री

लाग्यो है आजवाट जेष्ठ महिना, हरेक महिनाको प्रथम दिन सक्रान्तिहरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र आजको सक्रान्तिको पनि यसै हिसाबले धेरै महत्वपूर्ण रहेको लाकोक्तिहरु छन् । विहान विहान राशी चक्रअनुसार टिभी या रेडिया, मोवाईल या पत्रिकामा राशीफल चाल पाँउदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशीसम्म पुगेर १२ वटा राशीका फलहरु अन्त्य हुन्छ । यी कुराहरु अनि राशी चक्र महिनासँग समबन्धीत हुन्छन्, यसअर्थमा आज सूर्य मेष अर्थात पहिलो राशीवाट वृष अर्थात दोश्रो राशीमा प्रवेश गर्दैछ ।

सौर्यमान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष संक्रान्ति भनिएको हो । यस वर्षको वृष संक्रान्तिमा हामीसबैलाई स्वागत छ । जेष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला वादलहरु लगायत पश्चिमी हावाहरु खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?


जेठ अथवा जेष्ठ जे भनेपनि यो महिना भनेँ वडो गज्जबको महिना हो, असारका रोपाँईकालागी धानका विऊहरु छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नकालागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरु, बाँसका कलिला मुनाहरु अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरुको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।

विश्व परिवार दिवस


 


आजकै दिन अर्थात विसं २०७८ सालको जेठ महिनाको १ गतेनै ईसं २०२१ को मे १५ तारिख भएको र यसै दिन विश्व परिवार दिवस पनि पर्न गएको छ । आउनुहोस्, यस वारेमा पनि कुरा गरौ तर त्यस अगाडी हाम्रो पात्रोका हामीसबै प्रयोगकर्ताको परिवारका सदस्यहरु लाई पनि परिवार दिवसको शुभकामना छ है ।

अब कुरा गरौ हामीसबैका परिवार अनि पारिवारीक कुराहरुको । सामान्यतया बूवा, आमा, छोराछोरी, काका काकी, ठूलोबुवा ठूलीआमा र हजुरबुवा, हजुरआमा मिलेर एउटा औसत नेपाली परिवार बनेको छ । बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।

आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ ।

परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । यस वर्षको विश्व परिवार दिवसको नारा नै “Socially just transition towards sustainable development: the role of digital technologies on social development and well-being of all.” सामाजिक बिकास र सबैको कुशलताका लागि प्रविधीको भूमिका र दिर्घकालिन बिकास लक्ष्य प्राप्तिका लागि सामाजिक बिकासको अवधारणा भन्नेतर्फ केन्द्रित छ । यसवर्ष कोरोना संक्रमणका कारणले धेरैजसो परिवारहरु घरको छतमुनी नै बसेका छन्, सबैका परिवारहरु बिकास र समृद्धितर्फ उन्मुख हुन्, सबैका परिवार सुरक्षित रहुन् । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।

 सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रुपमा संयूक्त राष्ट्रसँघको आब्हान अनुरुप मनाईन थालिएको हो ।

नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना , विश्व परिवार दिवसको

ललितपुर मत्स्यन्द्रनाथ रथ यात्रारम्भ

यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । आज तृतिया तिथीवाट रथयात्रा शुरु भएको छ ।

सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेवाः भाषामा बुङ्ग द्धया का रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ, आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु अनि मत्स्यनाथलाई एउटा योगीका रुपमा यहाँहरु समक्ष परिचित गराउन चाहन्छु ।

प्राचिन बुङ्गमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।

आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुङ्गमती गाँउमा राखिने चलन छ ।

योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेंर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ, कुनै दिन अर्को आलेखमा यि पितापूत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकालदेखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समयसमयमा गरिआएको पाइन्छ ।

हजारौंवर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, यसवर्ष कोरोना कहरमा विश्व नै आक्रान्त छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ, हाम्रो विश्वास छ ।
आजवाट मत्यस्नारायाणको रथयात्रा आरम्भ भएको छ । कोरोना संक्रमणको जोखिमका कारणले यसवर्ष तिर्थालुहरुको घुँईचो कम हुन सक्ला तर मत्स्यनारायण प्रतिको श्रद्धाको कमी हुने छैन ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.