अन्तर्राष्ट्रिय मानव अधिकार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस




अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष अडियो सामग्री

प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।

विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।

प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२१ मा हामी यो संकटबाट थप सुन्दर, समान र स्वच्छ भएर उठ्नेछौँ भन्ने आशयको रहेको छ । विश्व कोरोनाभाइरस (कोभिड १९) संकटबाट गुज्रिएकाले यो नारालाई यो वर्षको मूल नाराका रुपमा लिइएको हो । फेरि उठ्ने संकल्पका साथ यो दिवस मनाइरहँदा विश्वमा कोरोनाभाइरसका विभिन्न भेरियन्टले थप चासो र चिन्ता पनि बढाइरहेका छन् ।

मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।

मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु के के हुन् त ? आउनुहोस्, हाम्रो पात्रोमा यसबारे चर्चा गरौँ–

यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ

पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु पनि आइरहेका छन् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिलामाथिका हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।

पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहोस्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् । कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न यी घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ ।

झन् दुई वर्ष यता विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मानव अधिकार उल्लंघनका घटनाहरु बढेका छन् । कोभिड १९ को प्रकोपलाई तत्काल कम गर्न लगाइएका लकडाउन, सीमानाका बन्द, बन्दाबन्दीका कारण मानव अधिकारमा थप दखल पुगेको विभिन्न रिपोर्टहरुले बताएका पनि छन् । मानव अधिकारका आधारशिलाहरु शिक्षा, स्वास्थ्य, यात्रा, व्यापारलगायतका विषयमा पनि कोरोनाका कारण ठूलो प्रभाव पुगेको छ ।

अब संसारले कोरोनाबाट पुनस्र्थापना हुँदै गर्दा मानव अधिकारका यी आधारशिलाहरुको पनि विशेष ध्यान दिनु जरुरी छ । अनि समाजको दिगो विकासका लागि स्थानीय सरकार, स्थानीय समुदाय तथा प्रत्येक व्यक्तिहरुले विशेष ध्यान दिनु पर्छ, सजगता अपनाउनु पर्छ ।

मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका कदम नचाल्ने संकल्प लिऔँ । मानव अधिकार दिवसको शुभकामना ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.