संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
सर्वप्रथम आज हामी जितिया पर्वको महिमामा संग्रहित र आधारित व्रतकथाबाट शुरुवात गर्दछौंः
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रुख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रुखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । एकदिन गाउँका अरु महिलाहरूले जस्तै उनीहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे ।
तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरु महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखी र निराश हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।
ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवती पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षडयन्त्र गर्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन् ।
दिदीको खुशी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकी थिइन् । यो प्रसंग शिलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस् हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् ।
दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
त्यसैगरी थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई विजय अर्थात् जितका रूपमा लिँदै नवलपरासी अनि चितवनका महिलाहरूले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
प्रकृतिको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ । यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ । बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ ।
अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुन सक्ला, तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस् । सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् । जितियाको अपार शुभकामना !
अष्टमी श्राद्ध
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । पछिल्ला दुई वर्षदेखि कोरोना संक्रमण जोखिमले असाध्यै जोखिमपूर्ण बनाएको व्रत, तीर्थ, श्राद्ध, मेला लगायतका कुराहरू यस वर्षबाट अलिक खुकुला हुँदैछन् ।
सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।
अष्टमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
बुधाष्टमी व्रत
यस वर्षको बुधाष्टमी व्रतमा स्वागत छ । यस व्रतमा विशेषतः शिवपार्वतीको अर्चना गर्ने चलन रहन्छ । यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ ।
आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्छ । यो दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ र पूजा सकिएपछि मात्र यी नैवेद्य लगायत प्रसाद वितरण गर्न र भोजन गर्न दिइन्छ ।
यसका अतिरिक्त भगवान बुद्धको धातुमा अंकित प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । बुद्ध अष्ठमी व्रतका महिमाहरू ब्रह्माण्ड पुराणमा पाइन्छ । बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबै जनालाई बुद्धअष्टमीको अनेक शुभकामना ।
विश्व मुटु दिवस
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । 'Use Heart to Connect' भन्ने नाराका साथ सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्न चाहेको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सु–स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयघात अनि हृदयसम्बन्धी रोग अनि समस्याहरूले मृत्युवरण गरिरहेको तथ्याङ्क छ ।
हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसँग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ्य अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यही संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रूपमा मनाउन थालेको हो ।
यस दिन हृदय रोगीहरू, उपचार प्रदायकहरू, जनचेतकहरू, सञ्चार माध्यमहरू असन जनमानसहरू एकै थलोमा भेला भएर मुटुको रक्षा गर्ने कुराहरू अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । तपाईं हामीलाई थाहा हुनुपर्छ कि हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो हृदयमा नकारात्मक असर पारिरहेको छ भन्ने ?
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूका अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दूरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौं ।
दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धुम्रपान अनि मदिरापान, औषधिको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्यु रोक्न सकिन्छ ।
मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्वभरि सबैसमक्ष पु¥याउन शक्तिलाई विकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।
आफ्नो मुटुलाई छामौँ र विचार गरौं, हामीले कत्तिको मुटुमैत्री जीवनशैली अपनाएका छौं ? हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि विचार गरौं । जबसम्म छाती ढुकढुक गर्छ, तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।
सबैको हृदयको गति जवान होस् । स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना !
––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: