शहीद दिवस | विश्व कुष्ठरोग दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

शहीद दिवस | विश्व कुष्ठरोग दिवस




शहीद दिवस विशेष अडियो सामग्री

यो वर्ष पनि पछिल्लो वर्षहरूजस्तै विषम नै रह्यो । देश प्रेम र प्रजातन्त्रका हिसाबले नेपाली संसद् र समाजमा कैयन प्रश्नहरू उठे, धेरै प्रश्नहरू अझै पनि उत्तरको पर्खाइमा नै छन् । संसदमा खिचातानी, सरकार निर्माणको समीकरण, कहिले एमसीसीका कुरा, नारायणहिटी संग्राहलयमा खाजा घर खोल्ने विवादास्पद निर्णय लगायत थुप्रै कुराहरूले यस वर्ष डेरा जमायो । हरेक पटक जब जब राष्ट्रप्रेम संग तानिएर प्रश्न उठ्छ, तब तब सहिद को सपना र बलिदान माथि कुठाराघात भएको आभास गराउँदछ ।

पछिल्ला धेरै सहिद दिवसहरुले विगतका सयौँ सहिद दिवसहरूसँग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, के नेपालमा प्रजातन्त्रको लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरूको सपना वास्तवमै साकार भयो त ?

नारायणहिटी बाट सिंहदरबारमा ल्याएको शासनको बागडोर क्रमशः प्रदेश अनि स्थानीय स्तर सम्म पुग्दा सहिदहरूको बलिदानले न्याय पायो त ? आखिर प्रजातन्त्र पनि त स्वार्थले डोर्‍याएको रथ नै त भयो । या नेपालले वास्तविक प्रजातन्त्रको स्वाद चाख्न अझै बाँकी छ ?

सहिदहरुलाई धन्यवाद दिने या उनीहरूसँग माफी माग्ने ?
यस वर्षको सहिद दिवस पनि आइसकेको छ, आउनुहोस् यस पेरिफेरिमा कुरा गरौँ ।

कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो यस माघ १६ को सहिद दिवस् । परिवर्तित परिपक्ष्यमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसै गरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।

परिवर्तन ल्याउनका लागि अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूमा हाम्रो पात्रोको नमन । यी शहीदहरूको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौँ भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नै पर्ने बेला आएको छ । सहिदका परिवार अनि घरहरू लगायत सहिद परिवारका सदस्यहरूको अवस्था दूर दराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, सहिदको आशिषको छत्रछाया यो राज्यलाई जहिल्यै प्राप्त होस् र सहिदका आँसुहरू राज्यले पुछ्न सकोस् ।

अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहीदहरूको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बालिकालागि सहिदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत ३२ सालको जनमत सङ्ग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापना सम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरू सहिद भएका छन् । त्यसपछिको कालखण्डमा भएका स-शस्त्र द्वन्द्व अनि हिंसाको फेहरिस्त लामै छ, अझै धेरै नेपालीहरू बेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबै जनाको वीरगतिको विवरण लामो छ ।

अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछि पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै सहिदहरूलाई नमन छ ।

विशेषतः विद्यार्थी अनि मजदुरहरूको सक्रिय सहभागितामा नेपाली इतिहासले आन्दोलन अनि परिवर्तन ल्याउन सफल भएको छ, पुस्तक र कलम अनि औजार दुवै हातमा बोकेर आन्दोलनमा होमिएका अनि सत्यको पक्ष लागेर सहिद भएका सम्पूर्ण सहिदहरूलाई आज नेपालले सम्झना गर्न चाहन्छ ।

यी सहिदहरूलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झना गर्न जरुरी छ, सहिद गेटमा रहेको शहीदहरूको प्रतिमा देखि गङ्गालाल हृदय रोग प्रतिष्ठान लगायत सहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी संस्थाहरूले, हुलाक टिकटहरू अनि सरकारी कार्यालयमा झुन्ड्याइएका तस्बिरहरू, शहीदहरूको नाममा बनाइएका बाटाघाटाहरु लगायतले सहिदको महत्त्व हामीलाई बुझाई रहेका छन् । पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरूले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरूप सहिदहरू तोक्ने अनि खुद्रारुपमै शहीदहरूको फेहरिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरू सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टहासमा मुस्कुराइरहेका हरेक नेपाली अनुहारमा शहीदहरूको अनुहार मुस्कुराइरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर सहिदको रगतको रङ्गहरू माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरूको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा शहीदहरूको निस्स्वार्थ बलिदान अतुलनीय छ ।

सहिदले हाम्रालागि वलिदान दिएर दिइगएको स्वतन्त्रता यसैमार्फत प्राप्त गणतान्त्रिक प्रजातन्त्रको आधारमा नयाँ नेपाल निर्माणमा तपाई हामी सबै जना उत्तिकै जिम्मेवार छौ नि, हैन र ?

देशले फेरि परिवर्तन खोज्न सक्छ, सहिद एउटा मर्यादा अनि विश्वास हो, देशभक्तका लागि ।

देशले रगत मागे बलि मेरो चढाउ रुदिनन मेरि आमा नेपालकी छोरी

यस्ता महत्त्वपूर्ण संवेदना भएका गीतहरू शायद त्यसै रचना भएका हैनन् ।

आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईदैछ, माला र अबिरका बिच सहिदका तस्बिर खोज्न र राख्न भन्दा पनि सहिदलाई मुटुभित्र राखौँ, देशलाई माया गरौँ ।
जय होस् .

विश्व कुष्ठरोग दिवस


 

सुन सुन दिदी–बहिनी
सुन दाजुभाई
देउता लाग्या नठान है, कुष्ठरोगलाई
कुष्ठरोग लागेपछि लुकाउनु चाहिँ हुन्न
निको हुन्छ ओखतीले, भाकलले छुन्न
नबिराई गरेपछि ओखती मूलो
कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो, ल है

कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।

‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।

मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरुका आधारमा भ्रमजन्य मान्यता समाजमा प¥यो । शदियौंदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रुपमा लियो । कुष्ठ रोगीहरुलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरु पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरु फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरुको विभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरु अझै पनि समाजमा सुनिन्छन् ।

कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।

कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर÷वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।

यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।

पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।

आज ६९ औं विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर ¥याली प्रदर्शन गरिँदैछ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।

वर्ष २०२२ को यस दिवसको नारा चाँही United for Dignity' हो , स्वाभिमानका लागि एकता अर्थ लाग्ने यस नाराले कुष्ठरोगीहरुको स्वाभिमान र समानता अनि समता तिनवटै कुराहरुको पैरवी गर्दछ । '
कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिँदैछ । स्कूलहरुमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् ।

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।

यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।

कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्यार्इँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।

कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।

नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।

मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
----
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.