सङ्क्रान्ति के हो ?
वैशाख, ज्येष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज सङ्क्रान्ति । महिनाको प्रथम दिनलाई नै सङ्क्रान्ति भनिन्छ । यस अर्थमा एक वर्षमा १२ वटा सङ्क्रान्ति हुन्छ र आजको भाद्र सङ्क्रान्ति लाई सिंह सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह सङ्क्रान्ति भनिएको हो ।
सिंह सङ्क्रान्तिको पृष्ठभूमि
अब एकतमासको घाम अनि वर्षा पछिको शीतलता अनि थप आर्द्रता सहितको गर्मी सुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शीतलताले दसैँको आगमनको सङ्केत दिनेछ र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिँदो मौसमको फरक दृश्य र फरक दैनिकी महसुस गर्न पाउनेछन् । हरेक बिहानका वातावरणले एक खाले चाड वाडको बेग्लै सुगन्ध छर्ने गर्छ । पारिला घामका रापहरू अनि घरी(घरी आकाश कालो-मैलो देखिनुका साथै धुम्मिल्य आकाशका मुनी हरियालीयुक्त वातावरण अनि सफा वातावरणको अनुभूति अबका केही महिनाका सुखद सङ्केत हुन् ।
सिंह सङ्क्रान्तिको महत्त्व
भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झैँ यो महिनाले ओगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान् विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।
सूर्य चन्द्रले हामीलाई सदैव सहि मार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैँ कायम होस्, शुभ दिन ।
एउटा दार्शनिक पर्व
सुदूरपश्चिममा मनाइने यस वल्के पर्वको पृष्ठभूमि मानव जीवनका शाश्वत सत्यहरूसँग सम्बन्ध राख्दछ । वैशाखको गर्मी र खडेरीमा मरौँला भनेर मन लागेको खाने पर्वका रूपमा बिशु पर्व मनाइन्छ भने वैशाखलाई छिचोलेपछि बर्खाको झरी र बाढी कटियो भनेर भदौ सङ्क्रान्ति मा वल्के पर्व मनाइन्छ ।
वल्के पर्व कसरी मनाइन्छ ?
वल्के पर्व चाहिँ श्रावण मसान्त र भदौ सङ्क्रान्ति गरी २ दिन मनाइन्छ । मसान्तको दिन घरमा मिठो मसिनो खाने र भोलिपल्ट चाहिँ बर्खामा पलाएका पिँडालुको कलिलो पात, दूध र दही लगायतका मिठाईहरू छिमेकीहरूमा सगुनका रूपमा बाँड्ने चलन छ । सगुनका रूपमा यसरी ठुलाबडाहरूलाई जति धेरै परिकारहरू दिन सक्यो त्यति नै धर्म हुने विश्वास छ । यसरी दिइने सगुनहरूमा किनेका कुराहरू भन्दा आफ्नै बारीमा फलेका तुलफुलहरू दिने चलन छ ।
सङ्क्रान्ति को दिन बिवाहिता छोरीहरूलाई घरमा बोलाएर स्थानीय परिकारहरू लाउन (पुरी), बावर (सेल), चामलको पिठोबाट बनेका माणा, निसौसे, गतानी, डुब्की लगायतका स्थानीय खानाका मिठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
वल्के चाडमा एक महिना पहिले भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याइने चलन छ। यसरी रङ्गाए शरीरमा रोगव्याधी नलाग्ने भन्ने मान्यता रहेको छ । बर्खा याममा रोपाइँ गर्दा छालामा लाग्ने रोगव्याधहरु लाई निको पार्न यसरी स्थानीय ओखतीहरू लगाइने भएकाले सुद पश्चिममा आजको दिनलाई नै लुतो फाल्ने दिनका रूपमा लिइन्छ ।
वल्के पर्व र महत्त्व सुदूरपश्चिममा मात्र सीमित छैन, वल्केको सबैलाई न्यानो शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: