सूर्य ग्रह परिचय | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

सूर्य ग्रह परिचय





“सूर्य आत्मा जगत: तस्थुषश्च” इत्यादि वेद वचन अनुसार संसार र संसारभरिका जीवहरुको आत्मा नै सूर्य हो । आत्माले नै अनेक भोग इच्छा गर्ने र कर्मानुसार शरीर धारण गर्ने गर्छ । महर्षि कश्यप र अदितिबाट जन्मेकाले काश्यप आदित्य आदि अनेक नामले व्यवहार गरिन्छ । जीवनको केन्द्र आत्मा हो र आत्माको श्रोत सूर्यदेव हुन । चराचर जगतका सृष्टि स्थिति र संहारका कारक शंकर भगवान सूर्यका दाहिनेमा र ऊर्जा शक्तिको रुपमा अग्नि देवता सूर्यको देव्रेमा सक्रिय रहेको मानिन्छ ।

सूर्यले ३६० डिग्री भ्रमण पूरा गर्दा एकवर्ष पूरा हुने गर्छ । ३६० लाई १२ राशिका रुपमा भाग गर्दा ३० डिग्रीको एउटा राशि हुने गर्छ । सूर्यले एक दिनमा एक डिग्री चल्छ, ३० दिनमा ३० डिग्री अर्थात् एउटा राशि पूरा गर्छ । यसैका आधारमा ३० दिनको एक महिना र बाह्र महिनाको एक वर्ष मान्ने व्यवस्था संसारमा चलेक़ो हो भन्ने स्पष्ट बुझ्नुपर्छ । ३०/३० डिग्रीका बाह्र राशि अर्थात् बाह्र महिना पूरा गर्दा वर्ष पूरा हुन्छ । यसरी सूर्यले एक वर्षमा एक चक्र ३६० डिग्री पूरा गर्छ । यो चक्रको शुरूवात मेष राशिको अश्विनी नक्षत्रबाट शुरू हुने र मीन राशिको रेवती नक्षत्रमा चक्र समाप्त हुने गर्छ ।

मेष राशिबाट वृष राशिमा जाँदा वृष संक्रान्ति भने झैं तत्तत् राशिमा जाँदा तत्तत् नामका संक्रान्ति हुने गर्छ । ती बाह्र संक्रान्ति मध्ये कर्कट संक्रान्तिबाट मकर संक्रान्ति सम्म अर्थात् साउने संक्रान्ति देखि माघे संक्रान्तिसम्म दक्षिणायन हुने, टाढ़ा जाने, जाडो हुने गर्छ भने माघे संक्रान्ति देखि साउने संक्रान्ति सम्मको ६ महिना उत्तरायण हुने, नजिक आउने र गर्मी हुने मानिएको छ । सम्पूर्ण आकाशलाई बाह्र राशिमा हेर्दा पाँचौं सिंह राशि ( भदौ महिना ) सूर्यको घर मानिन्छ जहाँ सूर्यले सुखद अनुभव गर्छन ।

मेष राशिमा सूर्य उच्च अर्थात् सर्वाधिक प्रभावशाली हुन्छन भने तुला राशिमा नीच अर्थात् सर्वाधिक नकारात्मक या कमजोर बन्दछन । चन्द्रमा मंगल र गुरु सूर्यका मित्र मानिन्छन । शुक्र र शनि शत्रु मानिन्छन । बुध सम मानिन्छन । मित्र ग्रहका राशिमा बसेका सूर्य प्रसन्न हुने, शत्रु ग्रहका राशिमा बसेका सूर्य दुःखी हुने र सम सम्बन्ध भएका ग्रहको राशिमा भए सम स्वभावकै फल दिने गर्दछन । यसरी सूर्य मेष कर्कट वृश्चिक धनु र मीन राशिमा हुँदा प्रसन्न रहन्छन भने वृषभ तुला मकर र कुम्भ राशिमा हुँदा दुःखी हुने र मिथुन एवं कन्या राशिमा हुँदा समतामूलक रहने गर्छन ।

महिनाका हिसाबले भन्दा वैशाख महिनामा सूर्य सर्वाधिक राम्रो र कार्तिक महिनामा सर्वाधिक नराम्रो हुन्छ । साउन भदौ मंसिर पुष र चैत महिनामा सुखदायी हुने, जेठ कार्तिक माघ फागुनमा दुखदायी हुने र असार असोज महिनामा सामान्य हुने गर्दछन ।

सूर्य राम्रो भएका बेला जन्मेकालाई सूर्यले दिने सामग्री खूब दिने गर्छन । जस्तै वैशाख या भदौमा जन्मेका जातकहरु प्रायः अत्यन्त शूरवीर आत्मबलले भरिपूर्ण हुने गर्छन भने कार्तिकमा जन्मिनेहरुको आत्मबल कमजोर हुने गर्छ । सूर्य कमजोर या नकारात्मक भएका बेला जन्मेकालाई सूर्यले दिनुपर्ने सामग्री दिंदैनन अथवा राम्रो दिंदैनन । सूर्यले दिने सामग्री के के हुन त ? भन्ने प्रश्न उठन सक्छ । आउनुहोस सूर्यग्रहको अधिकार क्षेत्रको बारेमा विचार गरौं ।

“सूर्यादात्म पितृ प्रभाव निरुजा शक्ति श्रियश्चिन्तयेत” इत्यादि शास्त्र वचन अनुसार सूर्यबाट आत्मबल, पैतृक सपोर्ट, प्रभावकारिता, निरोगिता, बल, श्री सम्पत्ति, पद प्रतिष्ठा, राज्य आदि पाइने गर्दछ । सूर्य नीच या नकारात्मक भएमा माथि भनिएका कुरा हुँदैनन अथवा कमजोर हुने गर्दछन । मनोरोग, आँखा टाउको मेरुदंड कलेजो आदि अंगमा समस्या हुने गर्छ । राज्य पुलिस प्रशासनबाट भय हुने गर्छ ।

सूर्य ग्रह सम्बन्धी समस्याको समाधानका लागि सूर्य मन्त्र जप पूजा हवन, प्रतिदिन अर्घ्य दान ( जल चढ़ाउने ) तामा या सुनको औंठीमा रूबी रत्न धारण, रातो दाल आदि अन्न कपड़ा आदि दान गर्नुपर्छ ।

सूर्य मन्त्र- ॐ घृणि: सूर्याय नम: ।

सूर्य प्रार्थना -
जपाकुसुम संकाशम् काश्यपेयम् महाद्युतिम् ।
तमोSरिम् सर्वपापघ्नम् प्रणतोSस्मि दिवाकरम् ॥

सूर्यलाई अर्घ्य चढ़ाउँदा भन्ने मन्त्र-
एहि सूर्य !! सहस्रांशो, तेजो राशे जगत्पते ।
अनुकम्पय माम् भक्त्या, गृहाणार्घ्यम् दिवाकर ॥

सर्वाधिक प्रभावकारी सूर्यको वैदिक मन्त्र -

ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन् नमृतम् मर्त्यञच ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन्न ।


आचार्य चूडामणि पाठक 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.