ट्रम्पको निसानामा परेको भेनेजुएलाको चीन र रुससँगको सम्बन्धमा देखिएको परिवर्तन
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सच्चा साथी को हुन् भनेर गम खानु स्वाभाविक नै मान्न सकिन्छ।
कुनै समय चीन र रुसमाथि रहेको उनो दृढ निर्भरता अहिले झन्झन् अनिश्चित देखिन थालेको छ।
वर्षौँसम्म दुवै देशले भेनेजुएलाको समाजवादी नेतृत्वको सरकारलाई राजनीतिक, आर्थिक र सैन्य सम्बन्धमा समर्थन गरे। त्यस्तो सम्बन्ध मदुरोका गुरु तथा पूर्ववर्ती ह्यूगो चाभेजकै पालादेखि सुरु भएको थियो।
ट्रम्पद्वारा भेनेजुएला भित्रिने र बाहिरिने तेल ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउन आदेश
भेनेजुएलाको ट्याङ्कर कब्जापश्चात् अमेरिकाद्वारा मदुरोमाथि थप दबाव र प्रतिबन्ध
तर विज्ञहरूले समर्थन अहिले धेरै हदसम्म साङ्केतिक हुन थालेको देखिएको बताएका छन्। समर्थनमा सैन्य वा आर्थिक सहायताभन्दा पनि विज्ञप्तिहरू आउन थालेका छन्।
अमेरिकाले परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी, हवाई र नौ सैनिक फौज, जासुसका लागि प्रयोग हुने विमान र झन्डै १५,००० सैनिकको फौज क्यारिबीअनमा परिचालन गरेसँगै र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्रलाई "पूर्ण रूपमा बन्द" गरिएको एकतर्फी रूपमा घोषणा गरेसँगै यो परिवर्तन आएको हो।
ट्रम्पले आफ्नो कारबाही लागुऔषध तस्करीप्रति लक्षित रहेको बताएका छन् तर धेरै विज्ञहरू र मदुरो आफैँ पनि वाशिङ्टनको वास्तविक उद्देश्य सत्ता परिवर्तन गर्नु भएको ठान्छन्।
त्यसैले भेनेजुएलाका राष्ट्रपतिलाई सबैभन्दा धेरै आवश्यकता परेको घडीमा, के परिवर्तन भएको छ?
बलियो साझेदारीको विगत
सन् १९९९ मा चाभेजले पदभार सम्हालेपछि उनले चीन र रुससँग रणनीतिक गठबन्धन निर्माण गरेका थिए। उनले त्यति बेला अमेरिकी प्रभावलाई टक्कर दिन बहुध्रुवीय विश्व बनाउने प्रयासअन्तर्गत त्यसो गरेका थिए।
त्यस्तो साझेदारी सन् २०१९ मा महत्त्वपूर्ण साबित भयो जब धाँधलीका आरोपले चुनाव प्रभावित भएपछि मदुरोले एउटा महत्त्वपूर्ण वैधानिक सङ्कटको सामना गर्नुपर्यो।
बेइजिङ र मस्को दुवैले विपक्षी नेता ख्वान ग्वाइदोलाई स्वघोषित अन्तरिम राष्ट्रपतिमा स्वीकार गरेनन्। उनीहरूले आर्थिक र सैन्य सहायता उपलब्ध गराउन पनि जारी राखे।
अहिले मदुरोले नयाँ र अझै थप गम्भीर सङ्कटहरूको सामना गरिरहेका छन् तर चीन र रुस दुवैले ठोस समर्थन देखाएका छैनन्।
यद्यपि, 'द वाशिङ्टन पोस्ट' का अनुसार भेनेजुएलाका नेताले दुवै देशलाई अक्टोबरको अन्तिममा सैन्य सहायताका लागि आग्रह गरेका थिए।
अमेरिकी सरकारका आन्तरिक दस्ताबेजहरू प्राप्त गरेका पत्रपत्रिकाहरूले भेनेजुएलाले रुससँग सुखोए लडाकु विमान मर्मत गर्न, रेडार प्रणालीलाई सुधार गर्न र क्षेप्यास्त्रहरू प्राप्त गर्न अनुरोध गरेको जनाएका छन्।
तर त्यसयता मस्कोले कुनै सामाग्री उपलब्ध गराएको छैन भने आफ्नो सहायता केवल विज्ञप्तिहरूमा सीमित गरेको छ।
तेल ट्याङ्कर अमेरिकाले कब्जा गरेपछि भेनेजुएलाद्वारा 'डकैती'को आरोप
अमेरिका भेनेजुएला तनाव: अमेरिकी हमलाको त्रास र तयारी
रुसको सरकारी समाचारसंस्था तासका अनुसार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले नोभेम्बरको सुरुमा रुस भेनेजुएलासँग "कामसम्बन्धी निरन्तर सम्पर्क"मा रहेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरेका थिए।
त्यही समयताका रुसको विदेश मन्त्रालयकी प्रवक्ता मरिया जखारोभाले पत्रकार सम्मेलनमा "थप आक्रामकताले थप ठूला समस्यातर्फ पुर्याउने" बताएकी थिइन्।
तासले पछि उपविदेशमन्त्री सेर्गेइ रियाब्कोफले रुस भेनेजुएलासँग "काँधमा काँध मिलाएर" रहेको भन्दै समाचार लेखेको थियो।
"हामी भेनेजुएलालाई समर्थन गर्छौँ, जसरी भेनेजुएलाले हामीलाई समर्थन गर्छ, थुप्रै क्षेत्रमा," उनले सङ्कट थप नचर्काउन ट्रम्प प्रशासनलाई आह्वान गर्दै भनेका थिए।
यी विज्ञप्तिहरू मस्कोका सन् २०१८ का कदमभन्दा फरक छन्। त्यति बेला रुसले १०० भन्दा बढी पाइलट र सैनिकहरू र परमाणु हतियार बोक्न सक्ने दुई वटा बमवर्षक विमान पठाएको थियो। सरकार नियन्त्रित न्याश्नल इलेक्टोरल काउन्सिलले घोषणा गरेको मदुरोपक्षीय चुनावी नतिजा अमेरिकाले अस्वीकार गरेका बेला यस्तो भएको थियो।
चीनको भनाइ के हो?
वाशिङ्टन पोस्टले मदुरोले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई "अमेरिका र भेनेजुएलाबीचको सङ्घर्ष"को प्रतिकार गर्न सकियोस् भनेर"सैन्य सहायता विस्तार गर्न" अनुरोध गर्दै एउटा पत्र लेखेको जनाएको छ।
उनले बेइजिङलाई चीनमा निर्मित रेडार परिचान गर्ने प्रणालीको उत्पादन बढाउन र पठाउन भनेका थिए।
चीनको वित्तीय सहयोग एकताका भेनेजुएलाको विकासको केन्द्रबिन्दु थियो : चीन–ल्याटिन अमेरिका फाइनान्स डेटाबेसका अनुसार सन् २००५ देखि सन् २०२२ सम्म ल्याटिन अमेरिकामा चीनको सबैभन्दा धेरै ऋण लिने देश भेनेजुएला थियो।
अमेरिकामा रहेको काउन्सिल अफ फरन रिलेशन्सले कराकसले उक्त अवधिमा ६० अर्ब डलरसम्म प्राप्त गरेको र त्यो भनेको चीनले उक्त क्षेत्रमा पठाउने ४० प्रतिशतभन्दा बढी भएको अनुमान गरेको छ।
चीन भेनेजुएलाको तेलको पनि मुख्य गन्तव्य बनेको छ। तर मस्कोजस्तै बेइजिङले पनि भेनेजुएलालाई सैन्यगत रूपमा बचाउने कुनै सङ्केत देखाएको छैन। बरू उसले "बाह्य हस्तक्षेप" भन्दै निन्दा गरेको छ र ल्याटिन अमेरिका "शान्ति क्षेत्र" रहनुपर्नेमा जोड दिएको छ।
प्राथमिकता परिवर्तन
चिलीस्थित आन्द्रेस बेलो यूनिभर्सिटीस्थित सेन्टर फर चाइना स्टडिजका निर्देशक प्राध्यापक फर्नान्डो रेएस म्याटले बेइजिङ र मस्को दुवैका लागि भेनेजुएला एकदमै कम प्राथमिकतामा परेको बताएका छन्। उनले खास गरी ह्वाइट हाउसमा ट्रम्प फर्किएयता त्यस्तो भएको बताएका हुन्।
"रुस वा चीन दुवैका लागि उनीहरूकै आफ्ना समस्याहरू भइरहेका बेला भेनेजुएलाको बचाउका लागि जानुपर्ने अहिले कुनै कारण छैन। रुस युक्रेनसँगको युद्धमा छ भने चीन ट्रम्पसँगै अन्तर्राष्ट्रिय रूपमा समान देखिने कोसिस गरिरहेको छ," उनले भने।
सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण स्तरमा आक्रमण थालेयता मस्कोले द्वन्द्वका लागि विशाल स्रोतसाधन खर्च गरेको छ। त्यसमा आर्थिक र सैन्य हिसाबले धेरै नै स्रोतको प्रयोग भएको छ। उसमाथि पश्चिमाहरूको पनि व्यापक प्रतिबन्धहरू लागेको छ।
यसले विगतमा क्रेम्लिनबाट फाइदा लिएका साझेदारहरूका लागि थोरै स्रोतहरूमात्रै रहने कोलम्बियास्थित आइसेसी विश्वविद्यालयको ल्याबोरेटरी अफ पोलिटिक्स एन्ड इन्टर्न्याश्नल रिलेशनका निर्देशक प्राध्यापक भ्लादिमिर रोउभिन्स्कीले बताए।
अमेरिका नयाँ युद्ध निम्त्याउन उद्यत भएको भेनेजुएलाका नेता मदुरोको आरोप
विपक्षीले बहिष्कार गरेको भेनेजुएलाको चुनावबारे थाहा पाउनु पर्ने पाँच कुरा
मस्कोको लामो समयदेखिका मध्यपूर्वका साझेदारहरू सिरिया र इरानले पनि त्यस्तै अवस्थाको सामना गरेका छन्।
"रुसले पहिला भएकै प्रतिबन्धहरूमा थप प्रतिबन्धहरू लाग्ने जोखिम उठाउने छैन, [र] चीनले पनि आफूलाई पहिला लागेकै करहरूमा मदुरोको बचाउ गरेर थप्नु छैन," उनले थपे।
विज्ञहरूले मदुरोको पक्षमा चीनले समर्थन गर्दा थप जोखिमहरू रहेको र त्यसले बेइजिङ तथा वाशिङ्टनबीच हालै प्राप्त कूटनीतिक उपलब्धिहरूलाई खतरामा पार्न सक्ने र केवल वैचारिक मेलबाहेक धेरै फाइदा नदिने सम्भावना रहेको बताएका छन्।
अमेरिका-चीन सम्बन्ध ट्रम्पले थुप्रै देशहरूमा अतिरिक्त कर लगाएपछि थप तनावयुक्त भएको छ। ट्रम्प र सीबीच अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा भएको बैठकलाई दुवै पक्षले नयाँ सम्झौताको ढोका खुलेको भन्दै सकारात्मक भनी व्याख्या गरेका थिए।
पछि अमेरिका केही फेन्टनिलसँग सम्बन्धित चिनियाँ उत्पादनमा लाग्ने कर २० प्रतिशतबाट १० प्रतिशत घटाउन सहमति भयो। यद्यपि अन्य अधिकांश करहरू भने कायमै छन्।
विज्ञहरूका अनुसार भेनेजुएलाको अर्थतन्त्र डामाडोल र तेल उद्योग कमजोर हुनुले चिनियाँ समर्थनलाई अझ निरुत्साहित गरेको छ। पछिल्ला वर्षहरूमा बेइजिङले नयाँ ऋण कम गरेको छ र अब मुख्य रूपमा अघिल्ला ऋण फिर्ता लिनमा केन्द्रित छ।
"मलाई लाग्छ मदुरोलाई विस्थापित गर्ने कुनै पनि सरकारसँग वार्ता गर्न चीन इच्छुक हुने छ र मदुरोलाई एकदमै बलियो रूपमा समर्थन गर्दा त्यसले सत्ता ढलेपछि नकारात्मक असरहरू पार्ने छ," प्राध्यापक रोउभिन्स्कीले भने।
'एक्ला मदुरो'
दुवै विज्ञले अर्को एउटा तत्त्व पनि औँल्याए : भेनेजुएलाको आन्तरिक अवस्था।
"मलाई लाग्दैन कि कुनै पनि आन्तरिक समर्थन नभएको सत्तालाई समर्थन गर्न यी दुवै देशहरू इच्छुक छन्। त्यसमा पनि रुस र चीन दुवैलाई थाहा छ कि गएको राष्ट्रपतीय चुनावमा धाँधली भएका प्रमाणहरू छन्," प्राध्यापक रेएस म्याटले भने।
सन् २०२४ को जुलाईमा भएको चुनावमा धाँधली भएका गम्भीर आरोप लागेको थियो। सरकारका साझेदारहरू हाबी भएको न्याश्नल इलेक्टोरल काउन्सिल (सीएनई) ले मदुरोलाई विजयी घोषित गरेको थियो र परिणामबारे विगतमा जस्तो विस्तृत विवरण दिएको थिएन।
विपक्षी नोबल पुरस्कार विजेता मारिआ कोरिना मचाडो लुकेर बस्दै आएकी छन्। केही दिनअघि उनले पाउने नोबेल पुरस्कार उनकी छोरीले लिएकी थिइन्। मचाडोले निर्वाचनको अभिलेख सार्वजनिक गरेकी थिइन् र त्यसले विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज विजयी भएको देखाएको थियो।
"यसपालि मदुरो पूर्ण रूपमा एक्ला छन्," प्राध्यापक रोउभिन्स्कीले भने। उनी मदुरोको समय "सकिँदै गएको" ठान्छन्। "रुस र चीनले अमेरिकी हस्तक्षेपको आलोचनालाई जारी राखे पनि उनीहरू थप अघि बढ्न चाहँदैनन्। विगतमा मदुरोलाई जुन समर्थन थियो, अहिले त्यो वास्तविक अर्थमा छैन।"
थप रिपोर्टिङ बीबीसी ग्लोबल जर्नलिजमबाट
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: