युक्रेन शान्तिवार्तामा 'ठूलै प्रगति' भएको भन्दै अमेरिकाद्वारा प्रशंसा
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाद्वारा प्रस्तावित पछिल्लो शान्ति योजनाबारे 'ठूलै मात्रामा प्रगति' भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्।
स्विट्जर्ल्यान्डको जिनिभामा युक्रेनी तथा युरोपेली वार्ताकारहरूसँग कुराकानी गरेपछि बोल्दै रुबियोले 'अझै केही काम बाँकी रहेको' बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "राष्ट्रपति ट्रम्पको टोलीले हाम्रा कुरा सुनिरहेको सङ्केत मिलेको" बताए।
युद्ध अन्त्यसम्बन्धी छलफलअगावै आफूले 'युक्रेन शान्ति योजना' तयार पारेको अमेरिकाको दाबी
देशले मर्यादा गुमाउने युक्रेनी राष्ट्रपतिको चिन्तासँगै युरोपेली नेता वार्तामा अग्रसर
युरोपको चिन्ता
यसअघि रुसतिर बढ्ता ढल्किएको ठानिएको अमेरिकी योजनाबारे चुहाइएका विवरणहरूप्रति युक्रेन र युरोपेली साझेदारहरूले चिन्ता प्रकट गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ उक्त योजना 'समाधानको आधार' हुन सक्ने प्रतिक्रिया दिएका थिए।
जेलेन्स्कीले युक्रेनका सामु कठिन विकल्प रोज्ने स्थिति आइपर्न सक्ने भनेका थिए। उनले युक्रेनले या त आफ्नो मर्यादा गुमाउनु पर्ने या त प्रमुख साझेदार गुमाउनु पर्ने हुन सक्ने बताएका थिए।
तर आइतवार पत्रकारहरूसँग बोल्दै रुबियोले जिनिभाको वार्ता एकदम राम्रो भएको बताए।
अझै पनि अन्तिम सहमतिको प्रस्ताव युक्रेनी तथा अमेरिकी राष्ट्रपतिहरूले अनुमोदन गर्नु पर्ने र त्यसपछि त्यसलाई रुससमक्ष पेस गर्नु पर्ने उनले बताए।
आइतवार अबेर जारी भएको अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा 'अद्यावधिक तथा परिष्कृत गरिएको शान्तिको प्रारूपमा' दुवै देश सहमत भएको उल्लेख छ। उनीहरूले आगामी दिनमा त्यसमा अझ गहन कार्य गर्न पनि सहमति जनाएका छन्।
सहमति हुनु अगाडि बोल्दै ट्रम्पले युक्रेनी नेताहरूले रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले गरिरहेका प्रयासहरूप्रति 'शून्य आभार' प्रकट गरेको आरोप लगाएका थिए।
साथै युक्रेनका सबभन्दा प्रखर समर्थकहरू युरोपेली देशहरूले नै रुससँग तेल किन्न जारी राखेको पनि औँल्याए।
युक्रेन युद्धको खर्च जुटाउन आफ्ना तेल र ग्यास निर्यातमा रुस निकै निर्भर छ।
अमेरिकी मस्यौदामा के छ?
जिनिभाको वार्ता अमेरिकाले पेस गरेको मस्यौदा योजनामा केन्द्रित छ। त्यसबारे चुहाइएका विवरणहरू अनुसार उक्त योजनामा युक्रेनी सेना उसले अहिले नियन्त्रण गरिरहेको पूर्वी दोनेत्स्क क्षेत्रका भूभागबाट पनि फिर्ता हुनु पर्ने, अनि दोनेत्स्क, लुहान्स्क तथा रुसले सन् २०१४ मा गाभेको क्राइमियामा रुसी नियन्त्रणको मान्यता जस्ता विषय रहेका छन्।
सो योजनामा दक्षिणी खेअरसन र जापोरिज्या क्षेत्रमा चाहिँ हाल युद्धको अग्र मोर्चा रहेको ठाउँमै सिमाना तय गरिने उल्लेख छ। दुवै क्षेत्रमा हाल रुसको आंशिक कब्जा कायम छ।
अनि युक्रेनी सेनाको सङ्ख्या हाल कायम ८८०,००० बाट घटाएर ६००,००० मा झारिने योजनामा उल्लेख भएको बताइन्छ।
साथै युक्रेनले नेटोको सदस्यता नखोज्ने वाचा तथा किएभलाई 'भरपर्दो सुरक्षा ग्यारेन्टी' दिइने उल्लेख छ जसबारे थप खुलाइएको भने छैन।
सो दस्ताबेजमा रुसले छिमेकीहरूमा अतिक्रमण नगर्ने तथा नेटोले थप विस्तार नगर्ने 'अपेक्षा गरिएको' पनि उल्लेख छ।
योजनाअनुसार रुसलाई 'अन्तर्राष्ट्रिय अर्थतन्त्र'मा पुन: एकीकृत गरिने र त्यसका निम्ति उसका विरुद्ध लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइने अनि उसलाई जी सेभेन समूह पुन: निम्त्याएर सो समूहलाई फेरि जी एटको स्वरूप दिइने उल्लेख छ।
हाल युक्रेनको २०% भूभागमा रुसको नियन्त्रण छ। धेरै क्षति भए पनि उसका सेना बिस्तारै अघि बढिरहेको छ।
आफ्नो योजनामा सहमति जनाउन ट्रम्पले युक्रेनलाई बिहीवारसम्मको समय दिएका थिए। तर पछि युरोप, क्यानडा र जापानले चिन्ता जनाएपछि उनले किएभका लागि यो नै 'अन्तिम प्रस्ताव' नभएको बताएका थिए।
आइतवार पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री रुबियोले बिहीवार होस् वा अर्को साता होस् 'उचित समयमा सहमति हुने बारे आफू अत्यन्त आशावादी भएको' बताएका थिए।
युक्रेन युद्ध अन्त्यबारे नयाँ अमेरिकी प्रस्ताव, जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने
जेलेन्स्की चेतावनी : रुसलाई नरोके युक्रेनबाहेक अन्यत्र पनि कारबाही बढाउने छ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by:
युद्ध अन्त्यसम्बन्धी छलफलअगावै आफूले 'युक्रेन शान्ति योजना' तयार पारेको अमेरिकाको दाबी