त्रिविका १० सेवा अनलाइन माध्यमबाटै, तर प्रभावकारिताबारे विज्ञहरूको यस्तो प्रश्न

त्रिविका १० सेवा अनलाइन माध्यमबाटै, तर प्रभावकारिताबारे विज्ञहरूको यस्तो प्रश्न

bbc.com . १९ घण्टा अघि

परीक्षा आवेदन तथा ट्रान्सक्रिप्ट आवेदन फारमसहितका विभिन्न १० किसिमका सेवाहरू अनलाइन माध्यमबाट दिन थालेसँगै सेवा लिन भौतिक रूपमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पुग्ने सेवाग्राहीको चाप उल्लेख्य रूपमा घटेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

देशकै पहिलो र ठूलो उक्त विश्वविद्यालयमा देशैभर गरी कुल चार लाख ९६ हजार विद्यार्थी अध्ययनरत छन्।

परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशन कार्य समयमै गर्ने नगरेको तथा ट्रान्सक्रिप्टसहितका कागजात बनाउने प्रक्रिया झन्झटिलो रहेको भन्दै त्रिविको आलोचना हुँदै आएको छ।

'टपर'का दृष्टिकोणमा त्रिविको गुणस्तर?

जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउनेगरी प्रस्तावित नयाँ व्यवस्था र सम्भावित असर

उक्त कार्यालयले असार १५ गते एक सूचनामार्फत् भुक्तानीसहितका अत्यावश्यक सेवाहरू अनलाइन माध्यमबाटै लिन सकिने व्यवस्था मिलाइएको जनाएको थियो।

"अनलाइन सेवा सुरु भएसँगै भौतिक रूपमा आउनेहरू घट्दै गएका छन्," परीक्षा नियन्त्रक पुष्पराज जोशीले बीबीसीसँग भने, "पहिले दैनिक अधिकतम २,००० जनाको हाराहारीमा सेवाग्राहीहरू बल्खुस्थित कार्यालय आउने गरेकोमा असार १६ गतेयता दिनहुँ ५०० देखि ६०० सेवाग्राहीले अनलाइनबाटै सेवा लिन थालेको देखिएको छ।"

तर धेरै किसिमका सेवाहरू अनलाइन माध्यमबाट दिने घोषणा गरिए पनि त्यसका निम्ति छुट्टै प्राविधिक जनशक्ति छुट्याएको नदेखिँदा दिगोपनामा प्रश्न उठ्न सक्ने कतिपय जानकार बताउँछन्।

"कार्यालयका सेवालाई समयानुकूल प्रविधिमैत्री बनाइनु राम्रो कुरा हो," भूतपूर्व परीक्षा नियन्त्रक वासुदेव घिमिरेले भने, "सोही सेवालाई लक्षित गरी दक्ष तथा निपुण जनशक्ति छुट्याइएमा मात्रै त्यसको दिगोपना सुनिश्चित हुन सक्छ।"

१० थरी सेवा

नियन्त्रक जोशीका अनुसार अनलाइन माध्यममार्फत् सुरु गरिएका सेवामा त्रिवि रजिस्ट्रेशन आवेदन फारम, परीक्षा आवेदन फारम, ट्रान्सक्रिप्ट आवेदन फारम, प्रोभिज्नल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन फारम, शैक्षिक कागजातमा नाम/थर/रजिस्ट्रेशन नम्बरलगायतका विवरण सच्याउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाणपत्रहरूको प्रमाणीकरण तथा प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कशीट रहेका छन्।

अनलाइन भुक्तानीसहितका सेवाहरूको परीक्षण सफल देखिएपछि सेवा सुरु गरिएको जानकारी दिँदै जोशीले कार्यालय परिसरमा रहेका ब्याङ्कका कार्यालयहरूमा पनि घुइँचो देखिन छाडेको बताए।

पाएको छात्रवृत्ति नेपाली विद्यार्थीले छाड्न थालेपछि उठेका प्रश्न

विदेश जाने विद्यार्थीको सङ्ख्या र विदेशिने रकम बढेको बढ्यै, देशमै रोक्न सरकारले गर्नुपर्ने काम के?

"साउन एक गतेदेखि 'ट्र्याकिङ प्रणाली' पनि सुरु गर्दै छौँ," जोशीले भने, "त्यसमार्फत् सेवाग्राहीले आफूले दिएको आवेदनमा केस्तो प्रगति भयो र कहाँ पुग्यो भन्ने थाहा पाउन सक्ने छन्।"

त्यसका साथै साउन एक गतेदेखि क्षेत्रीय कार्यालयहरूमै ट्रान्सक्रिप्ट पठाइदिने व्यवस्था मिलाइएको उनले बताए। "अब विद्यार्थीहरू केन्द्रीय कार्यालय धाइरहन पर्दैन। आउँदो मङ्सिरदेखि मार्कशीटझैँ ट्रान्सक्रिप्ट पनि सम्बन्धित क्याम्पसमै पठाइदिन्छौँ।"

अनलाइन सेवा लिने तरिका

जोशीका अनुसार कार्यालयले सेवाग्राहीका निम्ति भिन्दै पोर्टल विकास गरेको छ। सेवाग्राहीले student.tuexam.edu.np मा गएर आफ्नो रजिस्ट्रेशन नम्बर राखेर कार्य अगाडि बढाउन सक्छन्।

"नयाँ प्रयोगकर्ताले त्यहाँ मागिने विवरणहरू प्रविष्ट गरेपछि इमेलमार्फत 'कन्फर्मेशन' गर्नुपर्छ," उनले भने, "त्यसपछि आफूले चाहेको सेवा छनौट गर्न सकिन्छ। आवश्यक विवरणहरू उपलब्ध गराएपछि भुक्तानी गर्ने स्थानमा पुगिन्छ र भुक्तानी गरिएसँगै आवेदन कार्य सम्पन्न भएको इमेल प्राप्त हुन्छ।"

सर्भर व्यवस्थापन कार्य भइराखेकाले आउँदो शनिवारसम्मका निम्ति उक्त वेबसाइट निष्क्रिय रहेको उनले बताए।

"तथ्याङ्कहरू भण्डारण गर्नका निम्ति दुई स्थानमा सुरक्षित गर्ने व्यवस्था मिलाइएको छ," नियन्त्रको जोशीले भने, "हेटौँडास्थित सरकारी 'डेटा सेन्टर'का साथै त्रिविमै रहेको आफ्नै केन्द्रमा पनि तथ्याङ्क भण्डारणको व्यवस्था मिलाएका छौँ। शनिवारसम्ममा सर्भर व्यवस्थापनको कार्य सम्पन्न भइसक्छ।"

त्रिभुवन विश्वविद्यालयको जग्गा कहाँकहाँ कब्जामा पर्‍यो, खोजबिन आयोगले औँल्याएका अनियमितता के हुन्

‘दलीय हस्तक्षेपले नेपालको शिक्षा क्षेत्र भित्रभित्रै खोक्रो’

चुनौती

सीमित स्रोतसाधन, अपर्याप्त प्राविधिक तथा दक्ष जनशक्ति अनि शैक्षिक र प्रशासनिक चुनौतीका बाबजुद विद्युतीय सेवालाई अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

उक्त कार्यालयले केही वर्षअघिदेखि दीक्षान्त कार्यक्रम तथा कतिपय परीक्षाका आवेदन फारम अनलाइन माध्यमबाट लिन थाले पनि त्यो समस्यारहित नरहेको गुनासो सुनिने गरेको थियो।

परीक्षा नियन्त्रक कार्यालयमा २५६ जना कर्मचारीको दरबन्दी भए पनि हाल ११८ जना कर्मचारी मात्रै छन्।

त्रिविले २०६९ सालमै विश्व ब्याङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा डिजिटल सेवा थाल्न नखोजेको होइन तर त्यो सफल हुन सकेन। "छोटो समयावधिमा गर्न खोजिएकाले त्यो कार्यान्वयन हुन सकेन। त्यसमाथि ८५ लाख रुपैयाँको टेन्डर १९ लाखमा कबुलिएकाले अघि बढ्न सक्ने कुरै भएन," जोशीले भने।

विदेशमा पढ्न खोज्ने नेपालीलाई 'झुक्याउने' सामग्री सामाजिक सञ्जालभरि, हजारौँ प्रभावित हुन सक्ने चिन्ता

https://www.bbc.com/nepali/articles/cw0zykwl0qdo

भूतपूर्व परीक्षा नियन्त्रक घिमिरे विद्युतीय सेवा सञ्चालनका निम्ति भिन्दै र स्थायी संयन्त्रका साथै सोहीअनुरूपको स्रोतको व्यवस्थापन गरिनुपर्ने धारणा राख्छन्। "बरु त्यसका निम्ति उपलब्ध जनशक्तिबाहिरबाट विशेषज्ञहरूको सेवा लिन सकिन्छ," उनले भने, "यी कुराहरू नेतृत्वको इच्छाशक्तिमा निर्भर हुन्छ्न किनकि माथिल्लो तहले चाहेको खण्डमा परीक्षा नियन्त्रकको कार्यालय आफैँले स्रोत जुटाउन सक्छ।"

परीक्षा बोर्डको अध्यक्षसमेत रहेका त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजाल भने नियमित जनशक्तिबाटै अनलाइन सेवा सञ्चालन गर्न सकिने बताउँछन्।

"जनशक्तिको अभाव छ तर अनलाइन सेवा सञ्चालन गर्नै नसक्ने गरी होइन," उनले भने, "पदपूर्ति कार्य पनि प्रक्रियामै छ र सँगसँगै भएका जनशक्तिलाई अनलाइन सेवाको निम्ति सक्षम बनाउन तालिमका कार्यक्रमहरू पनि बनाइरहेका छौँ।"

"अनलाइन सेवा सञ्चालनका क्रममा देखा पर्ने समस्याहरूलाई समाधान गर्दै त्यसलाई निरन्तरता दिन्छौँ।"

परीक्षा र नतिजा

त्रिभुवन विश्वविद्यालयले सबैभन्दा चर्को आलोचना खेप्ने भनेको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हो।

गत वैशाखमा महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले त्रिविको परीक्षा प्रणालीमा देखिएको बेथितिलाई उजागर गरिदिएको थियो। त्यसमा विश्वविद्यालय कार्यकारी परिषद्ले परीक्षा सकिएको १०० दिनभित्रै नतिजा निकाल्ने निर्णय गरे पनि २०७९ तथा २०८० सालमा लिइएका विभिन्न सङ्कायका परीक्षाको नतिजा निकाल्न २०४ देखि ४०० दिनसम्म लागेको उल्लेख गरिएको थियो।

त्रिविका अधिकारीहरू भने उक्त प्रतिवेदन आएयता परीक्षा प्रणालीमा व्यापक सुधार आइसकेको दाबी गर्छन्।

"सबैभन्दा लामो भनेको कोभिडका बेला नतिजा प्रकाशनमा १७ महिनासम्म लागेको थियो," नियन्त्रक जोशीले भने, "अहिले त्यस्तो छैन। चालू शैक्षिक सत्रमा सबैभन्दा लामो अवधि लागेको भनेको बीएड (नियमित) दोस्रो वर्षको परीक्षाफल प्रकाशित गर्न १०२ दिन लाग्यो।"

अफ्रिकादेखि युरोपसम्म पढ्न जाँदै नेपाली, पाँच वर्षमा साढे ६ लाखभन्दा बढीलाई एनओसी

एसईई राष्ट्रिय परीक्षा नभए शिक्षाको गुणस्तर 'अप्ठ्यारो अवस्थामा पुग्ने' चिन्ता

रजिस्ट्रार प्राध्यापक केदारप्रसार रिजालले चालू शैक्षिक सत्रमा सक्दो चाँडो परीक्षाफल प्रकाशन गर्ने अभ्यास गरिएकाले अब कडाइका साथ शैक्षिक क्यालेन्डर पछ्याइने र "कुनै जटिलता नआएमा" अब सञ्चालन हुने परीक्षाका नतिजा प्रकाशन गर्न १०० दिनभन्दा धेरै नलाग्ने बताए।

त्रिविले गत जेठमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो।

"क्यालेन्डर सार्वजनिक भएपछिको पहिलो परीक्षा साउन २९ गते सुरु हुँदै छ। स्नातक पहिलो वर्षको उक्त परीक्षाको नतिजा १०० दिनभित्रै निकाल्ने हाम्रो योजना छ," रजिस्ट्रार रिजालले भने, "तीन वर्षको डिग्री तीन वर्षभित्रै र चार वर्षको चार वर्षभित्रै दिइसक्ने गरी काम गरिराखेका छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.