नेपाली कांग्रेस: विशेष महाधिवेशनको पहिलो दिन के हुँदैछ, नेतृत्व परिवर्तनको पनि एजेन्डा छ?

नेपाली कांग्रेस: विशेष महाधिवेशनको पहिलो दिन के हुँदैछ, नेतृत्व परिवर्तनको पनि एजेन्डा छ?

bbc.com . १० घण्टा अघि

पुस २७ गते बिहानैदेखि नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू र्‍याली, जुलुसका निम्ति व्यस्त हुन थालेको उनीहरूले बताएका छन्।

आइतवारको कार्यक्रममा सम्बोधनहरू रहेको र सोमवार चाहिँ कार्यविधि बनाएरै अघि बढ्ने योजना रहेको आयोजकहरूले बताएका छन्।

त्यस्तो योजनामा नेतृत्व परिवर्तनका विषय समेत पर्न सक्ने सम्भावना उनीहरूले नकारेका छैनन्।

कांग्रेस विशेष महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्याको महत्त्वसँगै वैधताको प्रश्न पनि

विशेष महाधिवेशन आह्वान भएसँगै नेपाली कांग्रेस 'फुट्न सक्ने' सम्भावना कति

के छ आइतवारको कार्यक्रम?

नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक हुन लागेको भनिएको विशेष महाधिवेशनको पहिलो दिन जुलुस तथा सम्बोधनका कार्यक्रममा सीमित रहने आयोजक समितिले बताएको छ।

"आइतवार ११ बजेदेखि विभिन्न ६ ठाउँबाट निस्कने जुलुस तथा र्‍याली आयोजनास्थल भृकुटीमण्डपमा पुग्ने छन्। करिब साढे १२ तिर सबै त्यहाँ भेला भइसक्ने हामीले ठानेका छौँ," दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बीबीसीलाई बताए।

त्यसपछि नेताहरूको सम्बोधनको कार्यक्रम राखिएको उनले बताए।

"हामीले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खडका, दुईजना महामन्त्री, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, पूर्व वरिष्ठ नेताहरूलाई डाकेका छौँ। कतिजना आउनुहुन्छ थाहा छैन। सम्बोधनका कार्यक्रम साढे ४ देखि ५ बजेसम्म सक्ने योजना छ," आचार्यले भने।

आफूहरूले महाधिवेशनको उदघाटन सभापति देउवाबाटै गराउने कोसिस गरेको उनले बताए। तर महाधिवेशनको निम्तो लिएर जाँदा सभापतिका स्वकीय सचिवले हेरेर फर्काइदिएको आचार्यले बताए।

कति होलान् उपस्थित?

विशेष महाधिवेशनका निम्ति देशैभरिबाट करिब ३०-३५ हजार मानिस उपस्थित हुने आयोजकहरूको अनुमान छ।

"कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशत अर्थात् २४८८ प्रतिनिधिले हस्ताक्षर गरेर यो विशेष महाधिवेशन माग गरेको हुन्। तीमध्ये २५-३० जनाले सामाजिक सञ्जालबाट आफ्नो समर्थन फिर्ता लिएको बताएको पाएका छौँ भने २००-३०० थप प्रतिनिधिहरूले समर्थन गरेर भाग लिन यहाँ आउन लागेको भन्ने जानकारी पाएका छौँ," आचार्यले बताए।

उपस्थित प्रतिनिधिहरूले बिहान नौ बजेदेखि नाम दर्ता गराउने कार्यक्रम रहेको पनि उनले बताए।

महाधिवेशनको दोस्रो दिन सोमवार चाहिँ विभिन्न प्रस्तावहरूबारे छलफल हुने कार्यक्रम रहेको बताइएको छ।

भोलि बन्न सक्छ निर्वाचन समिति

आइतवार सभापति अनि संस्थापन भनिएको पक्षकै उपस्थितिमा विशेष महाधिवेशन अघि बढ्ने आशा आफूहरूले राखिरहेको आचार्यले आइतवार बिहान बताए।

"सोमवार चाहिँ पहिलो काम भनेको बिहान ८ बजे बन्दसत्र सुरु हुन्छ। वरिष्ठ सदस्यले त्यसको अध्यक्षता गर्ने छन्। अनि सुरुमा विशेष महाधिवेशन कार्यविधि २०८२ पास हुनेछ," आचार्यले भने।

सोमवारको बन्दसत्रमा विभिन्न राजनीतिक, साङ्गठनिक प्रतिवेदनहरू पेश हुनुका साथै निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने कार्यक्रम छ।

"सातै प्रदेशका सात समूह, काठमान्डू उपत्यकाको एक समूह अनि विदेशस्थित सदस्यहरू तथा भ्रातृ सङ्गठनहरूका एक समूह गरी नौवटा समूहमाझ छलफल गरिने छन्। ती समूहका नेताले बन्दसत्रमा प्रस्तुती गर्ने छन् र बन्दसत्रले निर्णय गर्नेछ।"

जेनजी आन्दोलनपछिको सन्दर्भमा पार्टीको विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चारवटा विषयलाई मुख्य 'अजेन्डा' बनाएका छन्।

त्यसपश्चात् पार्टीले पुस मसान्तमा नियमित नै महाधिवेशन गर्ने भनेपछि विशेष महाधिवेशनको विषय सेलाएको थियो।

तर १० दिन अगाडि बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्दै फागुन २१ को चुनावपछि मात्र नियमित महाधिवेशन गर्ने निर्णय गर्‍यो।

सो बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ गतेदेखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पेस गरेका थिए।

त्यसबाट महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत विशेष महाधिवेशन पक्षधरहरू बिच्किएका थिए।

अझै पनि आफूहरूले डाकेको विशेष महाधिवेशनमा संस्थापन पक्ष पनि सामेल हुने आशमा आइतवारसम्म आयोजकहरूले निर्वाचन समिति नबनाएको बताएका छन्।

कार्यविधिमै त्यस्तो निर्वाचन समितिको विषय उल्लेख हुने बताइएको छ।

"आइतवार सभापति लगायत नेताहरू आउनु हुने अपेक्षा छ। आउनु भएन भने बन्दसत्रले नै आवश्यक निर्णय गर्ला," आचार्यले बताए।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।

सङ्ख्या पुगेमा विधिवत् रूपमा नीति तथा नेतृत्व परिवर्तनका विषय बन्दसत्रले अघि बढाउन सक्ने उनले बताए।

तर संस्थापन पक्ष विशेष महाधिवेशनको आयोजनाप्रति एकदमै रुष्ट सुनिन्छ।

आइतवार बिहान बीबीसीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको आधिकारिक निर्णयलाई सबैले मान्नु पर्ने बताए।

"पार्टीले निर्णय गरिसकेको छ। जसलाई जे मन लाग्यो त्यही गर्न मिल्दैन। विधि प्रक्रियालाई मान्नु पर्छ," महतले पार्टीले नियमित महाधिवेशन वैशाखमा गर्ने भनेर गरेको निर्णयप्रति इङ्गित गर्दै भने।

दुवै थरीबीचको बेमेल बढ्दै जाँदा चुनावको संघारमा पार्टी एकता जोखिममा परेको जानकारहरूको विश्लेषण छ।

कांग्रेसमा महाधिवेशनको नयाँ मिति तोकिँदा 'संस्थापन' र 'इतर' पक्षका आआफ्नै तर्क

'नत्र बहुमतको बलमै विशेष महाधिवेशन'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.