विश्वभरि प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको 'जीवनसाथी वा परिवारका सदस्यबाटै हत्या हुन्छ'
संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन विमिनको एक नयाँ प्रतिवेदनले प्रत्येक १० मिनेटमा संसारको कुनै न कुनै ठाउँमा एक महिला वा बालिकाको हत्या उनले चिनेको व्यक्ति - पार्टनर, पति वा परिवारको सदस्य -ले गर्ने गरेको जनाएको छ।
उक्त प्रतिवेदनका अनुसार प्रत्येक दिन १३७ जनाको त्यसरी ज्यान जान्छ। विश्वका सबै भागहरू यसबाट प्रभावित छन्।
सो प्रतिवेदनले सन् २०२४ मा लगभग ५०,००० महिला र बालिकाहरू घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा मारिएको जनाएको छ। ती हत्याहरू विश्वभर महिला र बालिकाको नियतवश हुने सबै हत्याको ६० प्रतिशत थिए।
बिहार: 'बोक्सी'को आरोपमा जिउँदै जलाइएकाहरूका आफन्तले सुनाए दर्दनाक घटना विवरण
बाङ्ग्लादेशमा यौन उत्पीडनको भिडिओ इन्टरनेटमा फैलिएपछि उत्पन्न आक्रोश
महिलाविरुद्ध हुने हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा २५ नोभेम्बरमा जारी गरिएको सो प्रतिवेदनले एउटा डरलाग्दो सत्यलाई उजागर गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले घर महिलाहरूको लागि सबैभन्दा घातक स्थानका रूपमा रहेको जनाएको छ।
उसले घर बाहिर पनि महिला हत्या गरिने भए पनि त्यससम्बन्धी तथ्याङ्कको मात्रा सीमित रहेको जनाएको छ।
"नारी हत्या त्यत्तिकै हुँदैन। ती प्रायः निरन्तर हुने हिंसाको परिणाम हुन्छन् जुन अनलाइन लगायत नियन्त्रण, व्यवहार, धम्की र उत्पीडन लगायतबाट सुरु हुन सक्छ," यूएन विमिनको नीति विभागकी निर्देशक सारा हेन्ड्रिक्सले भनिन्।
विश्वव्यापी सङ्कट
अफ्रिकामा घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा हुने नारी हत्याको सबैभन्दा उच्च दरको रेकर्ड छ।
त्यहाँ प्रत्येक १ लाख जना महिला र बालिकाहरूमा तीनजना पीडित छन्। त्यसपछि अमेरिका (१.५), ओशिनिया (१.४), एसिया (०.७) र युरोप (०.५) छन्।
"विश्वभरि धेरै महिला र बालिकाहरूका लागि घर खतरनाक र कहिलेकाहीँ घातक ठाउँ बनेको छ," यूएनओडीसीका कार्यवाहक कार्यकारी निर्देशक जोन ब्रान्डोलिनोले भने।
युरोप र अमेरिकामा सन् २०२४ मा धेरैजसो नारीहत्याहरू (परिवारका सदस्यबाट नभईकन) घनिष्ठ पार्टनर द्वारा गरिएको थियो। त्यो युरोपमा ६४ प्रतिशत र अमेरिकामा ६९ प्रतिशत रहेको उक्त प्रतिवेदनले जनाएको छ।
ती हत्याहरू वर्षौँदेखिको दुर्व्यवहारको नतिजा हुन सक्छन्।
अल्बानियामा ९० प्रतिशत नारीहत्या पीडितहरूले पहिले अपराधीबाट हिंसा भोगेका थिए।
केहीलाई अपराधीहरूले जेलबाट रिहा भएको केही दिनपछि हत्या गरेका थिए। सुरक्षात्मक उपाय अपनाउन सजग गराइए पनि उनीहरू पीडित बनेका हुन्।
'रात कसैको निजी सम्पत्ति हैन': भारतमा चिकित्सकको बलात्कार र हत्या भएपछि चर्को आक्रोश
गीत गाएर तालिबानको प्रतिबन्ध अवज्ञा गर्ने दिदीबहिनी
धेरै घटनाहरूमा बन्दुक, धारिलो वा कुँदिएका हतियार वा शारीरिक बल प्रयोग भएका थिए।
उक्त रिपोर्टमा उल्लेख भए अनुसार ईर्ष्या, छुट्टिन अस्वीकार गर्दा, प्रहरीमा उजुरी गरेकोमा बदला लिने वा छुटिएपछि नयाँ सम्बन्ध स्वीकार गर्न अस्वीकार गर्ने जस्ता कुरा हत्याका मुख्य कारणहरू थिए।
नारीहत्याका कारण आफ्ना आमाहरू गुमाएका ३५ बालबालिकाहरू पनि प्रभावित भए।
लेसोथोमा घनिष्ठ पार्टनरबाट हुने हिंसाको उच्च दर रहेको छ। १५ देखि ४९ वर्ष उमेरका ४४ प्रतिशत महिलाहरूले पार्टनरबाट शारीरिक वा यौन हिंसाको उजुरी गर्ने उक्त प्रतिवेदनमा उद्धृत स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यद्यपि भरपर्दो तथ्याङ्कको अझै कमी छ।
उक्त प्रतिवेदनले धेरैजसो नारीहत्यामा घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरू संलग्न रहेको देखाउँछ।
त्यसमा आम रूपमा त्यसलाई उक्साउने पक्षमा घरेलु हिंसा, मदिराको प्रयोग र द्वन्द्वलाई पहिचान गरिएको छ।
बन्दुक र प्रविधि
बन्दुक र प्रविधि महिला हत्याको लागि सहायक तत्त्वको रूपमा देखिराखेको सो प्रतिवेदनमा थप भनिएको छ।
"यस विषयमा उपलब्ध प्रमाणहरूले सुझाए अनुसार कि त घनिष्ठ पार्टनर रहेका पीडकले बन्दुक राख्नाले हत्याको सम्भावनालाई उल्लेखनीय रूपमा बढाउँछ। र गोपनियता कायम हुने क्षेत्रमा हुने हत्यामा धेरै पीडित हुने जोखिम ७० प्रतिशतले बढाउँछ।"
सो प्रतिवेदनले प्रविधिलाई नियन्त्रणको अस्त्रको रूपमा हेरिएको जनाइएको छ।
जसमा अनलाइन स्टकिङ, डक्सिङ (इन्टरनेटमा व्यक्तिको सहमतिबिना जानकारी पहिचान गर्दै गोप्य रूपमा प्रकाशन गर्ने कार्य) र तस्बिरमा आधारित दुर्व्यवहारजस्ता प्रविधि-मैत्री हिंसासहित नयाँ देखा पर्दै गरेका जोखिमहरूको चेतावनी दिइएको छ।
"यूकेमा सन् २०११ र सन् २०१४ को बीचमा प्रकाशित ४१ घरेलु-हत्याका समीक्षा गरिएको विश्लेषणले ५८.५ प्रतिशत घटनामा हत्या गर्नुअघि जबरजस्ती नियन्त्रण र निगरानी अभ्यास गर्न प्रविधि प्रयोग गरिएको देखिएको थियो।"
देउतालाई 'चढाइएका' किशोरीहरू जो यौन शोषणमा पर्छन्
'मनभित्रका गोठहरू नभत्किएसम्म छाउपडी प्रथा रोकिँदैन'
अनलाइन जगत्मा बलपूर्वक नियन्त्रण, निगरानी र पीछा गर्नेजस्ता हिंसा कसरी शारीरिक हिंसामार्फत् विभिन्न तरिकाले अफलाइनमा प्रकट हुन सक्छ भन्ने बढ्दो प्रमाणहरू छन्।
पत्रकार, अभियानकर्मी र राजनीतिज्ञजस्ता सार्वजनिक रूपमा उपस्थिति जनाउनुपर्ने महिलाहरूले यस्तो प्रविधिसँग सम्बन्धित हिंसाको बढ्दो जोखिमको सामना गर्ने प्रतिवेदनमा जनाइएको छ।
जसको निष्कर्षमा लक्षित नीतिहरूसहित "समयमै र उपयुक्त हस्तक्षेप" सहित नारीहत्या रोक्न सकिने जनाइएको छ।
जोखिम कारकहरूमा बन्दुकमा पहुँच, पीछा गर्ने, सम्बन्ध विच्छेद र विभिन्न पदार्थ दुरुपयोग समावेश छन्।
प्रतिवेदनले ती हत्या हुनुअघि नै रोक्न बलियो कानुन, सुरक्षा आदेशहरूको कार्यान्वयन र राम्रो डेटा सङ्कलनको लागि आह्वान गरेको छ।
पीडितहरू
रेबेका चेप्टेगेई
, युगान्डाकी ३३ वर्षीया ओलम्पिक धावकलाई पश्चिमी केन्याको ट्रान्स न्जोइया काउन्टीमा रहेको उनको घरमा उनका पूर्वपार्टनर डिक्सन एन्डिमाले हमला गरे। एन्डिमाले उनलाई पेट्रोल छर्केर आगो लगाइदिँदा केही दिनपछि चोटका कारण मृत्यु भयो। केही दिनपछि गम्भीर जलनकै कारण एन्डिमाको समेत मृत्यु भयो। उनीहरू जग्गालाई लिएर झगडा गरिरहेको बताइएको थियो।
लुइस हन्ट
, २५ र उनकी बहिनी
हानाह
, २८ लाई लुइसका पूर्वपार्टनर कायल क्लिफोर्डले ब्रिटेनको हार्टफोर्डशरको बुशेमा रहेको पारिवारिक घरमा हत्या गरेका थिए। त्यसअघि उनले उनीहरूकी ६१ वर्षकी आमा
क्यारोल
लाई समेत छुरा प्रहारबाट हत्या गरेका थिए। सन् २०२४ को जुलाईमा लुइसले उनीसँगको सम्बन्ध अन्त्य गरेपछि क्लिफर्डले लुइस हन्टलाई बलात्कार गरे र क्रसबो प्रयोग गरेर उनी र उनकी बहिनीलाई प्रहार गरे। कायललाई तीनवटा अभियोगमा आजीवन कारावासको सजाय सुनाइँदै उनी जेलबाट कहिल्यै रिहा नहुने भनिएको थियो। ती महिलाहरू बीबीसीको घोडा दौड सम्बन्धी कमेन्टेटर जोन हन्टकी श्रीमती र छोरीहरू थिए।
३८ वर्षीया पूर्वमोडल तथा मिस स्विट्जरल्यान्डकी फाइनलिस्ट
क्रिस्टिना जोक्सिमोभिक
को सन् २०२४ को फेब्रुअरीमा बाजल नजिकैको उनको घरमा हत्या गरिएको थियो। उनका दुई बच्चाका बुबा रहेका उनका पतिले उनको हत्या गरेको स्वीकार गरेका थिए। स्विस सञ्चारमाध्यमका विवरण अनुसार शारीरिक हिंसासम्बन्धी उजुरीका कारण पहिले नै प्रहरीलाई उनीहरूको घरमा बोलाइएको बताइएको छ।
नोर्मा आन्द्राडे
की छोरी मेक्सिकोको सिउडाड ह्वारेजमा नारीहत्याको शिकार बनिन्। लिलिया अलेजान्ड्राको अपहरण, यातना र हत्या भएपछि छोरी आन्द्राडेले मेक्सिकोमा नुएस्ट्रास हिजास डे रेग्रेसो ए कासा एनजीओ ("मे आओर डटर्स रिटर्न होम, सिभिल एसोसिएसन") स्थापना गरिन्।
"एक दिन... मेरी छोरी लिलिया अलेजान्ड्रा गार्सिया एन्ड्रेड घर आइनन्। उनी त्यो दिन नफर्किएपछि मैले पछि थाहा पाएँ कि म उनलाई अब फेरि कहिल्यै देख्ने छैन। त्यस क्षण मेरो संसार ध्वस्त भएको थियो। लिलिया अलेजान्ड्रालाई अपहरण, यातना र हत्या गरिएको थियो। उनको हत्यापछि हामीले देख्यौँ कि उनको मुद्दा सिउडाड ह्वारेजमा मात्र थिएन। हामी एकजुट भएर हाम्रो शोकलाई न्यायको लागि लड्ने र महिला हिंसाको अन्त्यको माग गर्ने सङ्कल्पमा परिणत गर्यौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: