सामाजिक सुरक्षा कोषमा जम्मा भएको झन्डै रु १ खर्ब कहाँकहाँ लगानी

सामाजिक सुरक्षा कोषमा जम्मा भएको झन्डै रु १ खर्ब कहाँकहाँ लगानी

bbc.com . १ घण्टा अघि

सामाजिक सुरक्षा कोषले आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा उसको खातामा योगदानकर्ताहरूले बुझाएको ९५ अर्ब ६८ करोड रुपैयाँ जम्मा भइसकेको छ।

निजी तथा अनौपचारिक क्षेत्रको समेत योगदानकर्ताहरू जोडिएको यो कोष द्रुत गतिमा विस्तार भइरहँदा उसले उक्त रकम कहाँकहाँ लगानी गरेको छ भन्ने चासो धेरैमा छ।

योगदानकर्ताहरूले उपदान तथा पेन्सनका निम्ति अनि स्वास्थ्य/दुर्घटनाका लागि जम्मा गराएका रकम सुरक्षित क्षेत्रमा लगानी गरिएको कोषका अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगारीमा रहेकाहरूलाई फाइदा हुनसक्ने गरी सामाजिक सुरक्षा कोषसम्बन्धी कानुनमा परिवर्तन

सामाजिक सुरक्षा कोषमा रहेको तपाईँको रकम यी क्षेत्रमा लगानी हुन सक्छ

यस्ता ठाउँमा भइरहेका छन् लगानी

प्रवक्ता समेत रहेका कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले कोषको रकमलाई लगानीका सुरक्षित उपकरणमा राख्नुपर्ने अभ्यास रहेको बताए।

"त्यही सिद्धान्तमा आधारित भएर कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य ब्याङ्कहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी गरेको छ। साथै योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ," अधिकारीले बीबीसीलाई बताए।

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने योगदानकर्ताहरूलाई अहिले चार प्रतिशत ब्याज दिइने गरिएको र उनीहरूलाई रकम सापटी दिँदा दुई प्रतिशतसम्म थप गरेर ब्याज लिइने गरिएको उनले बताए। यी दर बजारअनुसार बेलाबेला परिवर्तन भइरहन्छन्।

सामाजिक सुरक्षा कोषले जस्तै योगदान सङ्कलन गर्ने सञ्चय कोष तथा नागरिक लगानी कोषले चाहिँ विभिन्न जलविद्युत् आयोजनाजस्ता पूर्वाधारका क्षेत्रमा पनि लगानी गरिरहँदा सामाजिक सुरक्षा कोषले पनि उक्त मार्ग पछ्याउने सम्भावना रहेको अधिकारीले भने।

"नीतिगत रूपमा हामीले पनि परियोजनागत लगानी गर्न सक्ने त छ। अहिलेसम्म हामीले त्यस्ता गरिसकेका चाहिँ छैनौँ तर केही परियोजनाहरूमा प्रारम्भिक छलफल भइरहेको छ।"

विसं २०१९ मा स्थापना भएको सञ्चय कोषमा अघिल्लो सालको असार मसान्तसम्म झन्डै ६ खर्ब रुपैयाँ जम्मा भएको छ भने २०४८ देखि सञ्चालनमा आएको नागरिक लगानी कोषमा २०८१ असोज मसान्तमा झन्डै २.५ खर्ब रुपैयाँ जम्मा भएको छ।

राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले प्रत्यक्ष रूपमा सजिलो लगानीका उपायहरूमा मात्र सामाजिक सुरक्षा कोषको रकम लगानी भएको देखिए पनि अप्रत्यक्ष रूपमा ती रकम ब्याङ्कहरूले अरू क्षेत्रमा लगाइरहेकै देखिने बताए।

"मुद्दती निक्षेप वा सरकारी ऋणपत्रमा उसको रकम गएको छ। ती रकम ब्याङ्कहरूले वा सरकारले अन्य विभिन्न क्षेत्रमा लगाएकै हुन्छ," श्रेष्ठले बीबीसीलाई भने।

सामाजिक सुरक्षा कोषमा गरिएका नयाँ परिवर्तनबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा कोष अनिवार्य, विदेश पुगेपछि पैसा जम्मा गर्न सङ्कोच

"कोषको जस्तो योगदानकर्ताको रकम सङ्कलन गर्ने संस्थाले प्रतिफलका साथै तरलताप्रति पनि ध्यान दिनुपर्छ। बचतकर्ताहरूलाई उसले रकम फिर्ता गर्नुपर्छ तर एकैचोटि नपर्ने हुनाले उसले सोचविचार गरेर अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दा राम्रै हुन्छ।"

सामाजिक सुरक्षा कोष, सञ्चय कोष तथा नागरिक लगानी कोषजस्ता संस्थाहरू जलविद्युत् वा पूर्वाधारमा लगानी गर्न सक्ने विज्ञता भएका संस्था नभएकाले तिनले विज्ञता भएकाहरूसँग मिलेर लगानी गर्नुपर्ने सुझाव उनले दिए।

"सामान्यतया सञ्चय कोष र नागरिक लगानी कोषले ब्याङ्कहरूको समूहसँग 'कन्सोर्टिअम' बनाएर लगानी गरेको देखिन्छ। सामाजिक सुरक्षा कोषले पनि त्यही मोडल अपनाउन सक्छ।"

त्यसका अतिरिक्त अहिले अर्थमन्त्रालयमै विशेष कोष बनाएर यस्ता संस्थाको रकम सीधै पूर्वाधार विकासमा परिचालन गर्न सकिने प्रक्रिया आरम्भ भइसकेको श्रेष्ठले सुनाए। "त्यस्तो कोषमार्फत् लगानी गर्नु अझ राम्रो विकल्प हुनसक्छ।"

कति भए योगदानकर्ता?

विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो। उसले योगदानकर्ताहरूबाट रकम सङ्कलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो।

अहिले कोषमा आबद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २६.५ लाख पुगिसकेको छ। सूचीकृत रोजगारदाताको सङ्ख्या २२,५०० पुगेको छ।

कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६.५ लाखजति रहेको अनि झन्डै २० लाख जना चाहिँ वैदेशिक रोजगारीमा गएकाहरू भएको प्रवक्ता अधिकारीले बताएका छन्। अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा चाहिँ थोरै रहेको देखिन्छ।

सरकारले दिने 'स्टार्टअप' कर्जा लिन १० हजारभन्दा धेरै आवेदन

मृतकलाई ‘ज्यूँदो’, ज्यूँदोलाई ‘मृत’ बनाएर सामाजिक सुरक्षा भत्ता

"कानुनको अपेक्षा चाहिँ औपचारिक क्षेत्रमा काम गर्ने सबै २० लाख श्रमिक यसमा आबद्ध होऊन् भन्ने छ। यो वर्ष औपचारिक क्षेत्रका योगदानकर्ताहरूको सङ्ख्या सात लाख पुर्‍याउने अनि वैदेशिक रोजगारीमा रहेकाहरूको हकमा पनि हामीले एक वर्षभित्रै २७ लाख योगदानकर्ता पुर्‍याउने लक्ष्य राखेका छौँ," अधिकारीले भने।

वैदेशिक रोजगारमा गएकाहरूले निरन्तर योगदान रकम नपठाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई उनले ठूलो चुनौतीका रूपमा लिइएको बताए।

सोही चुनौतीसँग जुझ्न र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आकर्षित गर्न यसै वर्ष साउनमा सरकारले विदेशकै सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने संस्थासँग नेपालको सामाजिक सुरक्षा कोषले सहकार्य गर्न सक्ने कानुनी बाटो खोलिदिएको थियो। यसले विदेशमा रहेका लाखौँ आप्रवासी श्रमिकहरूलाई फाइदा पुग्ने जानकारहरूले बताएका थिए।

उक्त प्रावधानको क्रमश: कार्यान्वयन गर्दै लगिने कोषका प्रवक्ताले बताए।

विविध सुविधा

कोषले अहिले विभिन्न शीर्षकमा सुविधाहरू प्रदान गर्दै आएको छ।

तिनमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना पर्छन्।

हालसम्म कोषले सुविधा र अवकाश भुक्तानी गरी १७ अर्ब ७२ करोड रुपैयाँभन्दा धेरै भुक्तानी गरिसकेको देखिन्छ।

अवकाश भुक्तानीका रूपमा १४.५ अर्ब रुपैयाँ अनि औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुविधाका रूपमा २.५ अर्ब रुपैयाँ र बाँकी चाहिँ दुर्घटना बीमा तथा आश्रित परिवार सुरक्षा दाबी रकमका रूपमा भुक्तानी भएको देखिन्छ।

यसका साथै हालसम्म कोषले सात अर्ब रुपैयाँ योगदानकर्ताहरूलाई कर्जाका रूपमा लगानी गरेको कोषका प्रवक्ताले जानकारी दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.