निर्वाचन आयोगमा अझै दर्ता भएको छैन कुनै जेन जी पार्टी
भदौमा भएको जेन जी आन्दोलनपछि कतिपयले नवयुवाकै नेतृत्वमा सरकार बन्नुपर्ने बहस सामाजिक सञ्जालमा सुरु भएको थियो। तर भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो र फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गर्यो।
विरोधप्रदर्शन सुरु भएको दोस्रो दिनमै प्रधानमन्त्रीको राजीनामा र प्रतिनिधिसभा विघटनसँगै घोषणा गरिएको निर्वाचनमा नवयुवाहरूको दल पनि सहभागी हुने र सक्रिय राजनीतिमा युवाहरूको सहभागिता बढ्ने धेरैले ठानेका थिए। जेन जी प्रदर्शनको अगुवाइ गरेका युवाहरूले अन्तरिम सरकारमा समेत जेन जी प्रतिनिधित्व माग गरेका थिए।
निर्वाचन आयोगले फागुनमा हुने चुनावका लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको समय दिएको छ। तर 'नवयुवाको प्रदर्शनकै बलमा हुन लागेको' निर्वाचनमा भाग लिन जेन जी पुस्ताका युवाहरूको अगुवाइ रहेको दल अहिलेसम्म पनि निर्वाचन आयोगमा दर्ता भएको छैन।
सरकार र जेन जी समूहहरू सम्झौता गर्ने 'तयारीमा'
जेन जी प्रतिनिधिले गृहमन्त्रीलाई सम्झाए 'काम गर्न नसके पद छाड्ने वाचा', सरकारका प्रवक्ता के भन्छन्
आयोगका अनुसार अहिलेसम्म १२६ वटा दल दर्ता भएका छन्। तीमध्ये चार वटा नयाँ दल भएका र तिनले जेन जी प्रदर्शनपछि आयोगमा दर्ता भएर प्रमाणपत्र लिएका सहायक प्रवक्ता प्रकाश न्यौपानलेले बीबीसी न्यूज नेपालीसँग बताए।
"अहिले करिब २०-२२ वटा दल दर्ताको प्रक्रियामा छन्। आयोगले दिएको कात्तिक ३० गतेसम्मको समयसीमाभित्र दर्ता हुन आएका दलहरूलाई पछि प्रमाणपत्र दिने निर्णय पनि आयोगले गर्न सक्छ," सहायक प्रवक्ता न्यौपानेले भने।
आयोग अधिकारीहरूका अनुसार जेन जीको नाम राखेर पनि एउटा दलले दर्ताका लागि निवेदन दिएको छ। तर जेन जी प्रदर्शनको बेलादेखि चर्चामा आएका र आफ्नो नेतृत्वमा दल खोल्ने घोषणा गरेका मिरज ढुङ्गानाले दल दर्ताका लागि आयोगमा निवेदन नदिएको न्यौपानेले बताए।
अब नयाँ दल दर्ता गर्न शुक्रवार र आइतवार दुई दिन मात्रै सरकारी कार्यालयहरू खुल्ने छन्।
जेन जीको कुनै दल बन्छ?
जेन जी फ्रन्टसँग आबद्ध अभियानकर्मी रक्षा बम जेन जीको प्रतिनिधित्व गर्दै एउटाभन्दा बढी पार्टी दर्ता हुन सक्ने बताउँछिन्।
"जेन जीहरूको पार्टी पनि आउनुपर्छ। युवाहरू आउनुपर्छ। तर भइरहेकै पार्टीहरूमा पनि सुधार भएर युवाहरू आउनुपर्छ। त्यहाँभित्र पनि युवाहरू हुनुहुन्छ, उहाँहरू पनि सच्चिएर सुध्रिएर आउनुपर्छ," बमले बीबीसी न्यूज नेपालीसँग भनिन्।
उनले विचार फरक भए पनि देश बनाउने विषयमा सबै युवाहरूको उद्देश्य देश बनाउने भएको बताइन्।
"जेन जीबाट पनि दुइटा, तीनवटा पार्टी हुन सक्छन्। जेन जीले पार्टी खोले भने एउटैमा सबै आउँदैनन् भन्न पनि सकिन्न, आउन पनि सक्छन्। त्यो प्रयास पनि भइरहेको छ। एउटा 'अलायन्स'को प्रयास भइरहेको छ। यसमा व्यक्तिगत आफू आउने नआउने भन्ने कुरा अझै छलफलका पाटो होलान्," उनले भनिन्।
फागुन २१ मा चुनाव हुने आधार के, अनि आशङ्का किन
'जेन जी' र 'नेपो बेबिज' को हुन्, नेपालमा दुई दिनमै कसरी उथलपुथल भयो
आयोगले तोकेको समयसीमाभित्रै जेन जी युवाहरूको प्रतिनिधित्व गर्ने दल आयोगमा दर्ता हुने सम्भावना रहेको उनको भनाइ छ।
अर्का अभियानकर्मी पुरुषोत्तम यादव केही दिनभित्रै जेन जीको प्रतिनिधित्व गर्ने दल घोषणा हुने बताउँछन्।
"त्यो अपेक्षा पूरा गर्न हामी उभिन्छौँ। काम चलिरहेको छ। हामी एक-दुई दिनमा सार्वजनिक गर्छौँ," यादवले बीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार जेन जी युवाहरूको प्रतिनिधित्व गर्नका लागि नवयुवाकै नेतृत्वमा नयाँ दल दर्ता नभए पनि यसअघि नै दर्ता भइसकेका दलमा युवाहरू सामेल हुने सम्भावना पनि छ।
"यो देशमा धेरै पार्टीहरू पहिलेदेखि दर्ता भएर राखिएका छन्। ती निष्क्रिय छन्। त्यो पार्टी हामीले लिन पनि सक्छौँ, त्यसबारे पनि कुरा चलिरहेको छ," उनले भने।
नयाँ दल खोल्ने कि पुरानैमा हस्तक्षेप गर्ने
जेन जी अभियानकर्मी भावना राउतले पनि भइरहेकै दलमा जेन जी पुस्ताको हस्तक्षेप बढाएर जाने वा नयाँ दल दर्ता गर्ने विभिन्न विकल्पमा छलफल भइरहेको बताइन्।
"जेन जीभित्रैबाट खोल्ने कि कसैको संरक्षकत्वमा खोल्ने कि वा भइरहेकै पार्टी प्रयोग गर्ने धेरै विकल्पमा कुरा भइरहेको छ," उनले भनिन्।
जेन जी प्रदर्शनको अगुवाइ गरेका कतिपय युवाहरूले अहिलेको संविधान र कानुनले प्रधानमन्त् सहित महत्त्वपूर्ण पदहरूमा जेन जी युवाहरूको सहभागितामा अङ्कुश लगाएका कारण आफूहरूभन्दा परिपक्व उमेरका व्यक्तिलाई अघि सारेर चुनावमा जान सकिने बताएका छन्।
जेन जीहरूको एउटा समूह 'इन्डिजिनस जेन जी कलेक्टिभ'की सामना लावतीले आफूहरूले जेन जी अलायन्समार्फत् सरकारलाई बुझाएको सम्झौताको मस्यौदामा पनि संसद् चुनावमा उम्मेदवारीका लागि कानुनले व्यवस्था गरेको न्यूनतम उमेर घटाउन प्रस्ताव गरिएको बताइन्।
आन्दोलनका बेला आगजनी, तोडफोड र लुटपाटमा संलग्न 'धेरै जना आपराधिक पृष्ठभूमिका'
मतदाता नामावलीमा १ लाख जना थपिए, अपेक्षाअनुसार 'जेन जी' नआउँदा 'चिन्ता'
लावतीका अनुसार जेन जीलाई स्थान दिन खोजिरहेका पार्टीमा उपस्थिति बढाउने विषय पनि नवयुवाहरूको प्राथमिकतामा छ।
"दर्ता मात्रै महत्त्वपूर्ण होइन हो। किनभने कतिपय पार्टीहरू हुनुहुन्छ जसले जेन जी प्रतिनिधित्व खोजिरहनुभएको छ," उनले भनिन्।
"यो बीचमा पनि केही पार्टी खुलेका छन्। कतिपय साथीहरू खुलिरहनुभएको पनि छ, कतिपय छैन।"
राउतले पनि नयाँ दल बनाउने वा पुरानै दलमा युवाहरूले हस्तक्षेप गर्नेबारे छलफल चलिरहेको बताइन्।
"साथीहरूलाई म आज पनि पार्टी बनाएर जानूस् वा कुनै पार्टीमा पुनर्संरचना हुन्छ भने त्यो पनि गरेर जानूस्। एमाले कांग्रेसलाई पनि सुध्रिएर आउनूस्, पुस्तान्तरण गर्नूस् भन्छु," राउत भन्छिन्।
"साथीहरूसँग पनि पार्टी बनाउने र सदनमै पुग्नेबारे कुरा भइरहेकै छ र छिट्टै निकासमा पनि पुग्छ होला।"
कुलमान घिसिङ, रवि लामिछाने र बालेन 'मिलाउने' प्रयास किन
जेन जी अभियानकर्मी पुरुषोत्तम यादव आफूहरूले ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्ठूका मेयर बालेन्द्र शाह 'बालेन' लाई एकै ठाउँमा ल्याएर बलियो पार्टी बनाउनेबारे पनि छलफल भइरहेको बताए।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। सहकारी ठगीसँग सम्बन्धित मुद्दामा उनी अहिले जेलमा छन्।
आयोगमा दर्ता भएको एउटा नयाँ दलमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकाश पाएका घिसिङ र हाल सरकारमा प्रभावशाली मन्त्री रहेका घिसिङसँग निकट व्यक्तिहरू भएको विवरण सार्वजनिक भएको छ। यद्यपि घिसिङले उक्त दलमा आफ्नो परोक्ष संलग्नता वा त्यसप्रति समर्थन रहे नरहेको विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन्।
स्वतन्त्र उम्मेदवार भएर काठमाण्डू महानगर प्रमुख बनेका बालेनलाई जेन जी प्रदर्शनपछि कतिपयले नयाँ प्रधानमन्त्रीका रूपमा चर्चा गरेका थिए। तर उनी आफू प्रधानमन्त्री नबन्ने भन्दै कार्कीको नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा उभिएको बताइन्छ। उनले पार्टीको राजनीति गर्ने कि नगर्ने भनेर मुख खोलेका छैनन्।
मतदाता नामावलीमा १ लाख जना थपिए, अपेक्षाअनुसार 'जेन जी' नआउँदा 'चिन्ता'
'व्यवस्था फेरियो, माथिको अवस्था उस्ताको उस्तै': जेन जी आन्दोलनका घाइते के चाहन्छन्
"हाम्रो मुख्य ध्यान भनेको कुलमानजी, रविजी र बालेनजीलाई मिलाउनु हो। किनभने ठूलो शक्ति नबन्दासम्म चुनाव जित्न अप्ठ्यारो हुन्छ," मन्त्री यादव भन्छन्।
"पुराना राजनीतिक दलहरू पुरै संरचना भएका पार्टी हुन् र सङ्गठित भएनौँ भने हामी चुनाव हार्छौँ। त्यो भएर हामी सङ्गठित हुने प्रयासमा छौँ। हाम्रो एउटा बलियो पार्टी बन्छ र चुनाव पनि जित्छौँ।"
जेन जी अभियानकर्मी रक्षा बम यसअघिको सरकारमा रहेका कतिपय नेताहरू कानुनी कारबाहीमा पर्ने सम्भावना रहेको बताउँछिन्।
"जनता सचेत हुनुपर्यो। जनताले भोट हाल्ने हो नि त। आफ्नो भोटको चाहिँ कदर गर्नुपर्यो जनताले। किनभने अब पनि 'त्यही व्यक्ति पठाउने त आफ्नो प्रतिनिधि?' भनेर जनताले आफूले आफूलाई प्रश्न गर्नुपर्यो," उनले थपिन्।
केही जेन जी अगुवाहरू आगामी निर्वाचनबाट नवयुवाहरू संसद्मा पुग्ने र सरकारमा पनि सहभागी हुने सम्भावना रहेको दाबी गर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: