सुनको मूल्य नेपालमा कसरी निर्धारण हुन्छ, अन्तभन्दा किन फरक हुन्छ

सुनको मूल्य नेपालमा कसरी निर्धारण हुन्छ, अन्तभन्दा किन फरक हुन्छ

bbc.com . २ घण्टा अघि

बहुमूल्य पहेँलो धातु सुनको मूल्य कीर्तिमान स्तरमा बढेर अहिले ओरालो लाग्न सुरु भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा लगातार दोस्रो दिन सोमवार भाउमा गिरावट आई सुनको कारोबार भइरहेको छ।

नेपाली बजारमा सोमवार छापावाल सुनको मूल्यमा प्रतितोला १३,४०० रुपैयाँले घटेको छ।

सुन किन्दा वा बेच्दा तपाईँले थाहा पाउनुपर्ने नौ कुरा

सुनको मूल्य बढेको बढ्यै, मानिसहरू यो धातुप्रति किन हुरुक्क हुन्छन्

आइतवार प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत बिहीवार सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च भएको व्यवसायीहरूले बताएका छन्।

महासङ्घका अनुसार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतवार प्रतितोला ५,५०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमवार ५,२०० रुपैयाँमा झरेको छ।

मूल्य किन ओरालोतर्फ?

महासङ्घका अध्यक्ष अर्जुन रसाइलीका अनुसार विगतमा युक्रेन, गाजा युद्ध, अमेरिका र विभिन्न देशसँग अमेरिकाको व्यापार टकराबीच सुनको भाउमा निकै वृद्धि भएको देखियो।

विश्वव्यापी राजनीतिक तनाव बढिरहँदा अमेरिकी डलरप्रतिको विश्वास ह्वात्तै घटेपछि लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुहरूतर्फ आकर्षित भए।

भेनेजुएलाका तात्कालिक राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएको घटनाले पनि सुनको मूल्यलाई कीर्तिमान स्तरमा पुर्‍याएको थियो।

तर अहिले भाउ घट्न थाल्नुमा अमेरिकी सङ्घीय रिजर्भ ब्याङ्कका नयाँ अध्यक्षको मनोनयन पनि एउटा कारण रहेको महासङ्घका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यको तर्क छ।

सुनको मूल्य बढ्नुका तीन र घट्नुको एउटा कारण

चीनले किन धेरै सुन खरिद गरिरहेको छ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय ब्याङ्कका आलोचक तथा अनुदारवादी अर्थशास्त्री केभिन वार्शलाई मनोनयन गरेका छन्।

"उनले डलर मजबुत बनाउन खोजेको सुनिन्छ। अमेरिकामा एक हप्ताभित्र दुईचोटि मार्जिन कल गरेको देखियो। अब डलर मजबुत हुन्छ भन्ने हिसाबले व्यापारीहरूले सुन बेचेको देखिन्छ। त्यो भएर अहिले भाउ घटिरहेको हो," बज्राचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

महासङ्घका अध्यक्ष रसाइलीले त्यसमा सहमति जनाउँदै सुनको कागजी खरिदविक्रीले पनि सुनको भाउ घट्न थालेको औँल्याए।

"अन्तर्राष्ट्रिय बजारमा अनलाइनमार्फत् कागजी बुकिङ गर्ने अनि नाफा हुने भएपछि बेच्ने काम भइरहेको छ। त्यसो भएर बढी मात्रामा बुकिङ भयो र पछि गएर 'सेलिङ प्रेशर' भयो। त्यो 'प्रेशर' नै अहिलेको भाउ घट्ने एउटा कारण हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।

सुन अहिलेसम्मकै महँगो, आर्थिक अनिश्चितता बढ्दा सुनमा लगानी बढ्यो

पृथ्वीका खानीमा अब कति सुन बाँकी छ?

नेपालमा किन फरक?

नेपालमा पनि अन्तर्राष्ट्रिय मूल्यबमोजिम नै सुनचाँदीको भाउ निर्धारण हुने गरेको व्यवसायीहरू बताउँछन्।

महासङ्घका उपाध्यक्ष बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घट्दा नेपालमा पनि घट्ने र बढ्दा बढ्ने गर्छ।

तर नेपाल सरकारले आयातमा लगाउने कर र ब्याङ्क तथा थोक विक्रेता व्यापारीहरूको मार्जिनले अन्तभन्दा यहाँ मूल्य फरक हुने गरेको उनले बताए।

"सुन ल्याउँदा सरकारले १० प्रतिशत कर लगाउँछ। त्यसपछि आयात गर्ने ब्याङ्क र थोक विक्रेताहरूको ०.५/०.५ प्रतिशत गरी अर्को १ प्रतिशत मार्जिन थपिन्छ," बज्राचार्यले अगाडि थपे।

महासङ्घका अध्यक्ष रसाइलीका अनुसार त्यसबाहेक पनि केही खर्चहरू सुनको मूल्यमा थपिँदा नेपालमा भाउ फरक हुन जान्छ।

"अरू केके खर्च भएका छन्, ती चिजहरू निकालेर मूल्य राख्ने हो। अन्तर्राष्ट्रिय भाउभन्दा नेपालको मूल्य फरक हुनुको मुख्य कारण चाहिँ भन्सार दर हो," उनले भने।

नेपाल राष्ट्र ब्याङ्कले तोकेको कोटाभित्र रही ब्याङ्कहरूले सुन आयात गर्ने गरेका छन्।

"ब्याङ्कहरूले सुन ल्याउँदा प्रिमिअम चार्ज लगाउँछन्। त्यो कहिले ०.२५, कहिले ०.५ त कहिले ०.७ प्रतिशतसम्म पनि हुन्छ। त्यो पनि जोडिन्छ," रसाइलीले अगाडि थपे।

नेपालमा मूल्य निर्धारण

नेपालमा सुनचाँदीको मूल्य निर्धारण गरिँदा डलरको विनिमय दरदेखि अन्तर्राष्ट्रिय बजारभाउसम्मलाई आधार बनाउने गरिएको व्यवसायीहरू बताउँछन्।

"हामीले न्यूयोर्कस्थित कोमेक्स मार्केट, डलरको विनिमय दर, नेपाल सरकारले लगाउने कर र मार्जिन जोडेर मूल्य निर्धारण गर्छौँ," बज्राचार्यले भने।

"कोमेक्स मार्केट बन्द हुँदा कायम रहेको दरलाई हामी आधार बनाउँछौँ। हामीले बिहान साढे १० बजेको भाउ लिने बेला अमेरिकाको बजार बन्द भइसकेको हुन्छ भने अस्ट्रेलिया, जापान, कोरिया र चीनको खुलेको हुन्छ। त्यसलाई पनि आधार मानेर अन्तर्राष्ट्रिय मूल्यबमोजिम निर्धारण गरिन्छ।"

उनका अनुसार सुनचाँदीको मूल्य महासङ्घले निर्धारण गर्छ भने नियमन चाहिँ राष्ट्र ब्याङ्कले गर्छ। "भाउमा फरक परे सच्याउन लगाउनुहुन्छ," उनले भने।

"सुन ल्याउने ब्याङ्कहरूले आफ्नो मार्जिनसमेत जोडेर व्यवसायीहरूलाई भाउ दिइसकेपछि त्यसलाई आधार बनाएर विनियम दरअनुसार तय गर्छौँ," उपाध्यक्ष रसाइलीले भने।

राष्ट्र ब्याङ्कको भूमिका

नेपाल राष्ट्र ब्याङ्कले सुन आयातको कोटा निर्धारण गर्ने गर्छ। सोहीअनुसार ब्याङ्कहरूले नेपालमा सुन आयात गर्ने गर्छन्।

"जुन वाणिज्य ब्याङ्कहरूले सुनचाँदी व्यवसायीहरूको सिफारिसमा सुनचाँदी ल्याएका हुन्छन्, तिनीहरूबाट व्यवसायीहरूले किन्ने गर्छन्। त्यहाँसम्म हाम्रो अधिकारक्षेत्र हुने भयो," राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार सुनचाँदीको मूल्य निर्धारणमा केन्द्रीय ब्याङ्कको चाहिँ कुनै भूमिका रहँदैन।

"सुनचाँदी व्यवसायी महासङ्घले जुन ढङ्गले मूल्य तोक्ने गर्छ, त्यसमा केही विचलन भयो र हामीले भनेर ल्याइएको सुनमा बिक्रीवितरणमा उहाँहरूले अन्यथा गर्नुभयो भने किन्नेहरूलाई सम्बन्धित ब्याङ्कबाटै कारबाही गर्न लगाउने अथवा आगामी दिनमा कारोबार गर्न नदिने भन्ने कुरा हुन्छ," प्रवक्ता पौडेलले अगाडि थपे।

"तर पसलहरूले गर्ने बिक्री, उनीहरूले तोक्ने दरमा हाम्रो हात हुँदैन।"

उनका अनुसार नेपालमा कुनै पनि मानिसले खरिद गर्न पाउने सुनचाँदीको मात्रा चाहिँ तोकिएको छैन।

के अचेल बढेको बजार भाउमा सहजै सुन बेच्न सकिन्छ?

'मानिसहरू सुन बेच्न आइरहेका छन्, किन्न आइरहेका छैनन्'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.