भारत-अमेरिका व्यापार सम्झौतापछि नेपालमा अब डलर सस्तो हुने अपेक्षा किन

भारत-अमेरिका व्यापार सम्झौतापछि नेपालमा अब डलर सस्तो हुने अपेक्षा किन

bbc.com . २ घण्टा अघि

नेपाली रुपैयाँको तुलनामा एकोहोरो बढिरहेको अमेरिकी डलरको भाउ दुई दिनयता प्रतिडलर झन्डै तीन रुपैयाँले सस्तो भइसकेको छ।

यो साताको सुरुमै अमेरिका र भारतले व्यापार सम्झौता गर्न सहमति जनाएका खबर आएलगत्तै भारतीय मुद्रा एकै दिन करिब एक प्रतिशतले बलियो बनेको थियो।

भारतीय मुद्रासँग स्थिर विनिमय प्रणालीमा जोडिएको नेपाली मुद्रा त्यही कारण केही बलियो बन्न पुग्यो। तर यो प्रवृत्ति कत्तिको स्थायी रहला?

अमेरिकी डलरको भाउ अकासिँदा नेपाललाई हुने तीन फाइदा

डलर महँगिँदा नेपाललाई रु ४४ अर्ब 'बिनाकाम' गुम्ने चिन्ता

के भन्छन् विश्लेषक

सोमवार फेब्रुअरी २ मा भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको घोषणा भयो। विगतमा उक्त दुई देशबीच व्यापार अनिश्चय बढेको, ट्यारिफ दर उतारचढाव भइरहेकोजस्ता कारणले भारतीय रुपैयाँको अवमूल्यन भएको विश्लेषण गरिएको थियो।

उक्त सहमतिपश्चात् भारतीय रुपैयाँमा कैयौँ महिनायता देखिएको निरन्तरको गिरावट अनि त्यससँगसँगै नेपाली रुपैयाँको गिरावट पनि अब थामिने स्पष्ट सङ्केत देखिएको जानकारहरू बताउँछन्।

"भारतीय बजारबाट विदेशी संस्थागत लगानीकर्ताहरूले निरन्तर पैसा फिर्ता लगिरहेको अवस्था थियो जसले गर्दा भारु अवमूल्यन हुँदै आएको थियो। अब यसमा विराम लाग्ने ठानिएको छ," अर्थविद् नरबहादुर थापाले भने।

सन् २०२५मा मात्रै एफआईआई भनिने विदेशी संस्थागत लगानीकर्ताहरूले भारतबाट करिब १८ अर्ब डलर फिर्ता लगिसकेको विवरण भारतीय सञ्चारमाध्यममा आएको थियो।

सन् २०२६को प्रारम्भिक साताहरूमा पनि उक्त प्रवृत्ति मौलाएपछि भारु कीर्तिमान स्तरमा अवमूल्यन भएको थियो।

फलस्वरूप फेब्रुअरी १ मा प्रति अमेरिकी डलरको बिक्रीदर १४७.४८ नेपाली रुपैयाँसम्म पुग्यो।

भोलिपल्ट भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको ट्रम्पले घोषणा गरेयता नेपाली रुपैयाँ डलरसहित अन्य केही प्रमुख विदेशी मुद्राको तुलनामा राम्रो स्थितिमा देखिएको छ।

"यो प्रवृत्तिले केही समय निरन्तरता पाउन सक्छ। तुरुन्तै नेपाली रुपैयाँ धेरै बलियो भइहाल्ने त देखिँदैन। तर भारु लगातार अवमूल्य भइरहने प्रवृत्ति तत्काललाई थामिने नै देखिन्छ," नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक तथा अर्थविद् गुणाकर भट्टले बताए।

भारत-अमेरिका व्यापार सम्झौताका मसिना विषयवस्तु सार्वजनिक भएपछि यसले पार्ने प्रभाव थप सही ढङ्गले विश्लेषण गर्न सकिने जानकारहरू ठान्छन्।

"अहिलेलाई भारु अब थप कमजोर भइरहने प्रवृत्ति पूरै नउल्टिए पनि थामिन चाहिँ सक्छ," अर्का अर्थविद् थापाले भने।

भावी दिनमा भारु बलियो हुने छनक

अहिले केवल घोषणामात्र भएको भारत र अमेरिकाबीचको व्यापार सम्झौताका सूक्ष्म पक्षहरू सार्वजनिक भएपछि त्यसले मुद्रा बजारमा पार्ने प्रभाव कत्तिको दिगो रहने भन्ने थाहा हुने जानकारहरूले बताएका छन्।

भारतले उसको बजारलाई अमेरिकी उत्पादनहरूका निम्ति कति खुला गर्छ, लगानीकर्ताहरू कति आकर्षित हुन्छन् अनि अमेरिकामा भारतीय निर्यात कति बढ्छ भन्नेमा भारुको भाउ तय हुने र त्यसकै लयमा नेपाली मुद्रा चल्ने देखिने उनीहरू बताउँछन्।

तथापि कुल गार्हस्थ्य उत्पादनको आधारमा भारत अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनिसकेको छ।

"अहिले वैश्विक अर्थतन्त्रमै वृद्धिको प्रमुख कारक बनिरहेको भारतको मुद्रा मध्यमकाल तथा दीर्घकालमा कमजोर नहोला। त्यसले नेपाली मुद्रालाई पनि स्थिर बन्न मद्दत पुग्छ," अर्थविद् भट्टले भने।

अमेरिकी डलर अहिलेसम्मकै महँगो, भारु कमजोर हुँदा नेपाललाई पनि घाटा

अमेरिकी डलर किन चार वर्षयताकै कमजोर

आगामी दिनमा भारतीय अर्थतन्त्र थप बलियो हुने देखिएकाले भारुको बल पनि सोहीअनुरूप बढ्ने बताउँछन् नरबहादुर थापा।

"एक त भारतको अर्थतन्त्र आफैँ बलियो बन्दै गएको छ त्यसमाथि अमेरिकासँग व्यापारिक सम्बन्ध सुध्रियो भने उसको मुद्रा कमजोर हुने छैन।"

निरन्तर ओरालो लागिरहेको नेपाली मुद्रा केही स्थिर हुन सके त्यसले लगानीकर्ताहरूको मनोबल बढ्ने ठान्छन् भट्ट।

"दिनदिनै डलरको भाउ बढिरहँदा नेपाली मुद्राबारे अनिश्चय हुने, लगानीकर्ताहरू विकर्षित हुने र समग्रमा अस्थिरता हुने हुन्छ। त्यस प्रवृत्तिमा रोक लाग्नु श्रेयस्कर नै हुन्छ," उनले भने।

भारतीय रुपैयाँ-नेपाली रुपैयाँको साइनो र डलर भाउमा प्रभाव

पाँच वर्षअघि एक डलरको भाउ ११८ रुपैयाँ थियो। गत वर्ष २०२५ को फेब्रुअरी ४ मा एक अमेरिकी डलर बराबर १३९.८० रुपैयाँ रहेकोमा एक वर्षपछि त्यो झन्डै १४५ पुगेको छ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको सोझो साइनो भने छैन। नेपालले आफ्नो मुद्रालाई भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणालीमा गाँसेको कारण बजारमा भारुको उतारचढावसँगै नेपाली रुपैयाँ र डलरको भाउ तय हुने गर्छ।

नेपालले भारतसँग स्थिर विनिमय प्रणाली २०१७ साल वैशाख १ गतेदेखि अपनाउँदै आएको हो।

आजभन्दा ६५ वर्षअघि पनि १०० भारु बराबर १६० नेरुकै दर कायम थियो। समयक्रममा पछि त्यो दर कहिले १०१ त कहिले १३५, १४२, १७०, वा १६८ बनाइयो तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० मै कायम छ।

खासमा राष्ट्रपति डोनल्ड ट्रम्पको पुनरामनसँगै अन्तर्राष्ट्रिय मुद्रा बजारमा डलरको भाउ खस्किरहेको थियो। उनका ट्यारिफ नीति, अनिश्चयपूर्ण भूराजनीतिक सम्बन्धजस्ता कारण गत वर्ष मुद्रा बजारमा डलरको सूचकाङ्क १० प्रतिशतले खस्कियो, जुन सन् २०१७ यताकै सबैभन्दा खराब गिरावट थियो।

तर यही अवधिमा नेपालको छिमेकी भारतको रुपैयाँको दाँजोमा चाहिँ अमेरिकी डलर खस्कनुको साटो झन्झन् बलियो हुँदै गयो जसको प्रभाव नेपाली रुपैयाँमा परिरह्यो।

भारतबाट विदेशी लगानीकर्ताहरूले निरन्तर डलर झिकेर लैजाने प्रवृत्ति, भारतको उच्च व्यापार घाटा, बढिरहेको तेल मूल्य अनि भूराजनीतिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा देखा परेको अनिश्चयलाई भारतीय विश्लेषकहरूले भारुको गिर्दो मूल्यका कारक तत्त्व बताउँदै आएका थिए।

त्यसमाथि ट्रम्प प्रशासनले भारतमाथि लगाएको चर्को ट्यारिफ अनि भारत-अमेरिका व्यापार सम्झौता गर्न भइरहेको ढिलाइले डलरको भाउ तल झर्न नसकेको उनीहरूले बताएका थिए।

ताजा घोषणासँगै अमेरिकाले भारतमाथि लगाउने ट्यारिफलाई २५ बाट घटाएर १८ प्रतिशत बनाएको छ। नेपालमाथि ट्रम्प प्रशासनले १० प्रतिशतको ट्यारिफ लगाएको छ। यसले यस क्षेत्रको मुद्रा बजारलाई प्रभाव पार्ने निश्चित रहेको जानकारहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.