इजरेल-हमास युद्धविराम : दोस्रो चरणको सम्झौतालाई केले अड्काइरहेको छ
गएको अक्टोबरमा अमेरिकी मध्यस्थतामा इजरेल र हमासले गाजामा पहिलो चरणको युद्धविरामका निम्ति सहमति जनाए। त्यसले यस क्षेत्रको लडाइँ अन्त्यतर्फ जाने सम्भावनाको आशा जगायो।
अहिले दुई महिनापछि पनि गाजाको लडाइँ त्यही प्रारम्भिक चरणमै अड्किएको छ। यो अहिले पनि दुई पक्षमा विभाजित छ र त्यहाँको जनसङ्ख्या विस्थापित हुनुका साथै भग्नावशेषबीच जीवन बिताउन बाध्य छ।
इजरेल र प्यालेस्टाइन: हिंसा र सङ्घर्षको लामो इतिहास यस्तो
इजरेल-गाजा युद्ध : शान्तिको मूल्य के हो?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत इजरायल र हमास दुवैले कठिन छनौटहरू गर्नुपर्ने छ।
हमासले आफ्नो हतियार बुझाउनुपर्छ र इजरेलले गाजाबाट आफ्ना थप सैनिक फिर्ता बोलाउनुका साथै अन्तर्राष्ट्रिय स्थायीकरण फौजलाई सुरक्षाको जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ। स्थिति अज्ञात रहेका इजरेली बन्धक र्यान जिभिलीको खोजी जारी रहँदा गाजाको प्रशासन हाँक्ने सङ्क्रमणकालीन सरकारको गठन अर्को चुनौतीको विषय हो।
कहाँ छन् ती अन्तिम इजरेली बन्धक?
इजरेली प्रहरी अधिकारी र्यान जिभिलीलाई ७ अक्टोबरको हमासको हमलाका क्रममा बन्धक बनाइएको थियो। हमासले गाजाको भग्नावशेषमा गरिएको खोजीमा अहिलेसम्म उनको कुनै सङ्केत फेला नपरेको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सम्झौताको अर्को चरणतर्फ अघि बढ्न हमासले सबै जीवित तथा मृत बन्धकहरू फर्काउनै पर्नेमा जोड दिएका छन्।
गत वर्ष जिभिलीका बाबुआमा तालिक र इट्जिकलाई उनी जीवित नरहेको बताइएको थियो।
"उनीहरूले हाम्रो बच्चा चोरे, उसलाई चोरे," उनकी आमा तालिकले बीबीसी न्यूजसँग भनिन्। "ऊ कहाँ छ भन्ने उनीहरूलाई थाहा छ," उनका बुबा इट्जिकले भने, "उनीहरू केवल उसलाई लुकाउने वा राख्ने कोसिसमा छन्। तिनीहरू हामीसँग खेल खेल्दैछन्।"
अन्य बन्धकहरू फिर्ता गरिसकेको हमासले आफ्नो छोरोलाई भविष्यका वार्तामा सौदाबाजीको साधनको रूपमा प्रयोग गर्न राख्न चाहेको उनीहरूको ठम्याइ छ।
यसबारे प्रतिक्रिया दिँदै हमासका एकजना अधिकारीले ती आरोपहरू सत्य नभएको र इजरेलले सम्झौता लागु नगर्न कोसिस गरिरहेको बीबीसीसँग बताए।
यद्यपि इजरेली अखबारहरू 'हारेट्ज' र 'द टाइम्स अफ इजरेल'का अनुसार अमेरिकी प्रशासनले दुवैलाई सम्झौताको दोस्रो चरणतर्फ अघि बढाउने ठानिएको छ।
अल-अक्सा किन सधैँ इजरेल र प्यालेस्टाइनबीच झगडाको कारण बन्छ
हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो
बीबीसी न्यूज अरेबिकसँगको अन्तर्वार्तामा बन्धक मामिलासम्बन्धी पूर्वइजरेली वार्ताकार र खासगरी सन् २०११ मा इजरेली सैनिक गिलाड शालिटको रिहाइ सम्झौतामा खटेका गेरशन बास्किनले गाजा सम्झौताको दोस्रो चरणतर्फको सङ्क्रमणलाई पछि सार्न इजरेलसँग "धेरै विकल्पहरू नभएको" बताए।
"पहिल्यै स्पष्ट निर्णय गरिसकेका" ट्रम्पले नेतन्याहूलाई "आलटाल गर्ने ठाउँ नभएको" बताउने उनको तर्क छ।
पहिले इजरेल र हमासबीच अनौपचारिक सञ्चार सम्पर्कका निम्ति महत्त्वपूर्ण भूमिका खेलेका बास्किनले गाजामा बन्धकको शव बाँकी नै रहेको भन्ने मुद्दा सम्झौताको दोश्रो चरणतर्फ जान ढिलाइ गर्नका निम्ति "पर्याप्त कारण हुन नसक्ने" बताए।
कसले गर्दैछ हमासलाई निरस्त्रीकरण
दुवै पक्षलाई स्वीकार्य हुने गरी हमासलाई निरस्त्रीकरण गर्ने कार्यलाई युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ अघि बढ्नका निम्ति सबैभन्दा ठूलो बाधा ठानिएको छ।
हिब्रू भाषाको अखबार 'इजरेल हायोम'का अनुसार 'इन्टरन्याश्नल स्टेबलाइजेशन फोर्स' (आईएसएफ) को हिस्सा बन्न टर्कीले निरन्तर दबाव दिइरहेको छ। उक्त फौजले हमासलाई नि:शस्त्र गराउने जिम्मा पाउने ठानिएको छ।
नेतन्याहू त्यसो हुन नदिन दृढ रहेको र अमेरिकाले उक्त अडानलाई समर्थन गरिरहेको उक्त पत्रिकाले गत साता लेखेको छ।
इजरेलमाथि प्रहार भएका रकेट ध्वस्त पार्ने 'आइरन डोम'ले कसरी काम गर्छ
खाडी मुलुकहरूसँगको इजरेली सम्झौताले किन अर्थ राख्छ
अहिलेसम्म कुनै पनि देशले औपचारिक रूपमा 'आईएसएफ'मा सामेल हुने घोषणा गरेका छैनन्।
हमासले "आफ्ना हतियारहरू जम्मा वा भण्डारण गर्न" र सम्भवत: तिनलाई प्यालेस्टिनी सरकार वा तेस्रो पक्षलाई सुम्पिने कुरा स्वीकार्न सक्ने तर इजरेल र अमेरिकालाई नसुम्पिने बास्किन बताउँछन्।
हमासलाई हतियारमुक्त गर्ने विषय गाजाबाट इजरेलको पूर्ण फिर्तीसँग जोडिएको अमेरिकाले महसुस गरेको तर गाजा स्ट्रिपभित्र इजरेली फौजको उपस्थिति रहिरहँदा उक्त लक्ष्य हासिल गर्न कठिन रहेको उनले बीबीसी न्यूज अरेबिकसँग बताए।
इजरेली सेना कहाँबाट फिर्ता हुने छ
इजरेलले हाल गाजा स्ट्रिपको ५३% भूभाग नियन्त्रण गर्छ।
पहिलो चरणको युद्धविराम सम्झौतामा इजरेलले गाजाको उत्तर, दक्षिण र पूर्वतर्फको सीमासम्म पछि हट्ने सहमति जनाएको थियो। उक्त विभाजन "येल्लो लाइन"का नामले चिनिन थालेको छ।
दोस्रो चरणमा प्रवेश गर्न इजरेली सैन्य तैनाथीको नयाँ सीमा, हतियारमुक्त गर्ने विधि, पुनर्निर्माण र अन्तर्राष्ट्रिय अनुगमन व्यवस्थाबारे पारस्परिक सहमति आवश्यक छ।
सिधै गाजासँग सिमाना जोडिएका इजरेली नगरहरूको सुरक्षा र फिलाडेल्फी करिडर (गाजासँगको सीमा र इजिप्टसँगको रफाह नाकासहितको भूभाग) मा इजरायली सैन्य उपस्थितिलाई प्रभावित तुल्याउने भएकाले यी विषयहरू संवेदनशील मानिन्छन्।
इजरेली सैन्य अपरेशन निर्देशनालयका पूर्वप्रमुख तथा सेवानिवृत्त जनरल इसरेल जिभका अनुसार हमास र इजरेल दुवै दोस्रो चरणमा चाँडो अघि बढ्न हिचकिचाइरहेका छन्।
गाजाका शरणार्थी भन्छन्, 'लडाइँले हामीलाई १०० वर्ष पछाडि धकेल्यो’
"हमास नियन्त्रण गुमाउन चाहँदैन र इजरायली पक्ष पनि राजनीतिक कारणले गाजामा रहन चाहन्छ किनकि कोही पनि आफ्ना समर्थकहरूलाई आफू किन पछि हट्नुपर्छ भन्ने बताउन चाहँदैन," उनले बीबीसी न्यूजसँग भने।
ट्रम्पले मात्रै दुवै पक्षलाई अघि बढ्न बाध्य पार्न सक्ने उनको तर्क छ। तर समय घर्किँदै गएकोमा उनले जोड दिए।
"पर्खिराख्यौँ भने हामीले अवसर गुमाउन सक्छौँ, किनकि हमास पुन: सङ्गठित भइरहेको छ र यसको शक्ति बढिरहेको छ," उनले स्पष्ट पारे।
हमासपछि गाजाको प्रशासन कसले हाँक्छ
अर्को चरणमा प्रवेश गर्दै गर्दा गाजाको प्रशासन हाँक्ने सङ्क्रमणकालीन निकाय कसरी गठन गर्ने भन्ने अर्को ठूलो चुनौतीको विषय हो।
प्रस्तावित योजनाले विज्ञ सम्मिलित स्वतन्त्र प्यालेस्टिनी सरकार गठनको सुझाव दिएको छ जुन हमास र प्यालेस्टिनी अथरिटी (पीए) दुवैबाट अलग हुनेछ। तर दुवै पक्षका प्रतिनिधिहरूको सहभागिता अपरिहार्य हुन सक्ने इजरेलको आशङ्का छ।
यसले हमासलाई कुनै पनि किसिमको नयाँ प्रशासनिक संस्थाभित्र प्रभाव कायम राख्ने अवसर दिन सक्ने वा गाजामा पीए पुन: फर्कने सम्भावना समेत पैदा गरिदिन सक्नेबारे इजरेली सरकारले चिन्ता व्यक्त गर्दै आएको छ। पीएले पहिले गाजा र वेस्ट ब्याङ्कका केही भागमा सीमित नियन्त्रण राख्थ्यो तर सन् २००७ मा हमासले गाजा कब्जा गरेपछि यसले केवल इजरेल अधिनस्थ वेस्ट ब्याङ्कका केही भागमा मात्र शासन गरिरहेको छ।
नेतन्याहू नेतृत्वको सरकारले पीए वा हमास दुवैको कुनै पनि किसिमको सहभागिता अस्वीकार गरेको छ। त्यसको सट्टा उक्त क्षेत्रमा "तटस्थ प्यालेस्टिनी निकाय"को शासन हुनु पर्ने माग गरेको छ।
त्यसका साथै इजरेली सरकार दोस्रो चरणले "इजरेलसँगै प्यालेस्टिनी राज्यको स्थापना गर्ने वास्तविक सुरुवात जनाउन सक्ने" बारे पनि चिन्तित रहेको पूर्वइजरेली वार्ताकार बास्किन बताउँछन्।
नेतन्याहू-ट्रम्प वार्ता
यस महिनाको अन्त्यतिर फ्लोरिडामा नेतन्याहू र ट्रम्पबीच हुने बैठकमा यीनै महत्त्वपूर्ण विषयहरूमा छलफल हुने ठानिएको छ।
गाजामा युद्धविराम गराउन मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति छिट्टै गाजाका निम्ति गठन गरिएको "शान्ति बोर्ड"को सदस्यता घोषणा गर्ने तयारीमा छन्।
इजरेली सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पसँगको बैठकमा नेतन्याहूले हमासको नीरस्त्रीकरणमा जोड दिनुका साथै भविष्यमा गाजाको प्रशासनमा हमासको सहभागिता रोक्ने, मध्यवर्ती क्षेत्रमा इजरेली सेनाको तैनाथी सुनिश्चित गर्ने र गाजामा टर्कीको सेना तैनाथ हुन नदिने प्रयास गर्ने ठानिएको छ।
इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो?
हमास लडाकुलाई चिया र बिस्कुट दिएर 'अलमल्याएकी' इजरेली हजुरआमा
अर्कातर्फ ट्रम्पले नेतन्याहूलाई "युद्धविराम सम्झौताको उल्लङ्घन रोक्न" दबाब दिन सक्ने बास्किनले बीबीसी अरेबिकलाई बताए। "हमासले भन्दा इजरेलले अधिक युद्धविराम उल्लङ्घन गरेको छ," उनले भने।
हमाससञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार १० अक्टोबरको युद्धविराम सम्झौतायता गाजामा करिब ४०० प्यालेस्टिनी मारिएका र १,००० भन्दा बढी घाइते भएका छन्।
सन् २०२३ को ७ अक्टोबरदेखि सुरु भएको युद्धबाट गाजामा मृत्यु हुनेको संख्या हाल ७०,९३७ पुगेको र घाइतेको संख्या १,७१,१९२ रहेको (२२ डिसेम्बर २०२५ सम्मको तथ्याङ्क) सो मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: