
प्रधानमन्त्री सुशीला कार्कीसँग कार्यक्रममा किन देखिँदैनन् सभामुख
प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रममा नदेखिएका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको दुईवटा अवसरमा प्रधानमन्त्रीसँग भेट भइसकेको छ।
मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका उनले मङ्गलवार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्दै बधाई दिएका छन्।
तर विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अझैँ सार्वजनिक रूपमा देखा परेका छैनन्।
उपसभामुख पनि दुबै कार्यक्रममा सहभागी भएको देखिएन।
आन्दोलनमा भएको 'दमन'को छानबिनमा 'उच्च तह समेत तानिन सक्ने'
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।
प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुख कायमै छन्। संविधानमा प्रतिनिधिसभाको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म उनीहरू बहाल रहने उल्लेख छ।
विगतमा परिषद्भित्रको समीकरणका कारण संवैधानिक निकायको नियुक्ति प्रभावित भएकाले प्रधानमन्त्रीसँग अन्य सदस्यको सहकार्य र सम्बन्ध थप महत्त्वपूर्ण मान्ने गरिन्छ।
सभामुखको 'अघोषित बहिष्कार' हो?
वर्तमान सरकारले पनि विभिन्न संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त गर्नुपर्ने छ।
जेन जीको सडक आन्दोलनको बलमा बनेको सरकार प्रमुखसँग राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने अन्य सदस्यहरूको सम्बन्धप्रति चासो बढेको हो।
सभामुख घिमिरे नेकपा एमालेबाट निर्वाचित भएका हुन्। उनको दलकै प्रधानमन्त्रीलाई विस्थापित गर्दै प्रधानमन्त्री बन्ने अवसर कार्कीलाई प्राप्त भएको हो।
उनको नियुक्ति प्रक्रिया र प्रतिनिधिसभाको विघटनलाई लिएर एमाले लगायतका पार्टीले असन्तुष्टि पनि जनाएका छन्।
सिंहदरबारको सत्ता फेरिएसँगै राजनीतिक दलका पुराना नेतृत्व फेरिएलान्
'जेन जी' र 'नेपो बेबिज' को हुन्, नेपालमा दुई दिनमै कसरी उथलपुथल भयो
त्यसैले कतिपयमा सभामुख घिमिरेले प्रधानमन्त्रीलाई अघोषित बहिष्कार गरेका त होइनन् भन्ने आशङ्का पाइन्छ।
तर उनका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको शपथमा सभामुख सुरक्षाका कारणले नगएका हुन्।
"मन्त्रीहरूको शपथ कार्यक्रममा भने अस्वस्थ (टाउको दुखेर) भएकाले नजानु भएको हो, त्यो जानकारी राष्ट्रपति कार्यालयलाई गराएका थियौँ," प्रेस विज्ञ अधिकारी भन्छन्, "सम्भवतः यसपछाडिका सार्वजनिक कार्यक्रममा उहाँ निस्किनुहुन्छ।"
अनुपस्थित उपसभामुखको 'सहयोग रहने'

सभामुख घिमिरे सरकारी निवास फर्किसकेका छन्। अस्वस्थताका कारण आराम गरिरहेको र निवासबाट ननिस्किएको उनको सचिवालयको भनाइ छ।
उनले उपसभामुख इन्दिरा रानालाई सोमवार फोन गरेर मन्त्रीहरूको शपथ ग्रहणमा गए-नगएकोबारे चासो राखेका थिए।
"सरकारी निवासमा भएको क्षतिको मुचुल्का उठाइरहेका बेला उहाँले मलाई फोन गर्नुभएको थियो," रानाले भनिन्, "तर मैले उहाँ गए नगएको सोधिनँ।"
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित उनी तोडफोड र आगजनीपछि आफू बाल गृहमा गएर बसेको जानकारी दिइन्।
उनी पनि दुबै शपथ कार्यक्रममा सहभागी भएको देखिएन।
'जेन जी'को रोजाइमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले गर्नुपर्ने काम
आन्दोलनमा भएको 'दमन'को छानबिनमा 'उच्च तह समेत तानिन सक्ने'
प्रधानमन्त्रीको शपथ कार्यक्रमको निम्तो नपाएको बताउँदै उनले भनिन्, "त्यो त अचानक भएर पनि होला, मन्त्रीहरूको शपथ कार्यक्रमको निम्तो भने आधा घण्टाअघि मात्रै आएकाले जान सकिनँ।"
उनले प्रधानमन्त्री र सरकारलाई आफ्नो तर्फबाट सहयोग रहने पनि बताइन्। आफूले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बधाई दिएको उनले सुनाइन्।
"कलिला बालबालिकाको बलिदानबाट हामी मर्माहत छौँ तर त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको छ," उनले लेखेकी छन्, "हजारौँ आमाहरू रोए पनि हामी किन खुसी छौँ भने महिलाको एउटा इतिहास कोरिएको छ। नेपालको समृद्धि, स्थिरता र समानतामूलक समाज निर्माणमा तपाईँको नेतृत्व प्रेरणादायी बन्न सकोस्।"
प्रधानमन्त्री कार्की र अध्यक्ष दाहाल भेट: कस्तो भयो कुराकानी?

सरकार गठनको प्रयास भइरहेका बेला प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिसँग भेटघाट गरेका थिए।
त्यसै दिन संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले 'जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको' बताएका थिए।
"यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ," वक्तव्यमा भनिएको थियो, "आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।"
एमालेबाट निर्वाचित सभामुखसँग संयुक्त वक्तव्य दिएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित दाहाल पनि प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्।
तोकिएकै मितिमा चुनाव गराउन कति सम्भव? निर्वाचन आयोगका चुनौतीहरूको लेखाजोखा
देश कसले चलाइरहेको छ, राजनीतिक नेताहरू कहाँ छन्

उनीसँग राष्ट्रपति कार्यालयको 'अन्तिम समयमा सम्पर्क भएकाले उनी जान नभ्याएको' बताइएको छ।
प्रधानमन्त्री कार्कीले मङ्गलवार सरकारी निवासमा आफूलाई भेटेर बधाई दिन पुगेका अध्यक्ष दाहालसँग 'सबै मिलेर देशलाई निकास दिनुपर्ने' बताएकी थिइन्।
राष्ट्रपतिले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलवार मध्यरातदेखि अन्त्य गरेका छन्।
तर प्रतिनिधिसभा विघटन गरेको सरकार राष्ट्रियसभाप्रति भने 'थोरै पनि नकारात्मक' नरहेको अध्यक्ष दाहालले अनुभव गरेको बताइएको छ।
तिहार-छठपछि राष्ट्रिय सभाको अधिवेशनबारे परिस्थिति हेरेर निर्णय गर्ने प्रधानमन्त्रीको आशय रहेको पनि अध्यक्ष निकटस्थहरूको बुझाइ पाइएको छ।
त्यस्तै अध्यक्ष दाहालको केही सातापछि हुने विदेश भ्रमणबारे पनि छलफल भएको थाहा भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: