सर्वोच्चमा निवेदन दर्ता गरेको देउवा समूहले गर्यो निर्वाचन कार्यतालिका स्थगनको माग
नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालत पुगेपछि शेरबहादुर देउवा पक्षले अदालतको फैसला नआउन्जेलसम्मका लागि चुनावी कार्यपालिका स्थगन गर्न माग गरेको छ।
गएको शुक्रवार निर्वाचन आयोगले विशेष महाधिवेशनको आयोजना गरेको गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिएका थियो।
नेता मीनबहादुर विश्वकर्माले भने, "सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय उपर मुद्दा परेकाले त्यसउपर निर्णय नआउन्जेल विद्यमान कार्यतालिका स्थगन गर्न माग गर्दै हामीले निर्वाचन आयोगमा निवेदन दिँदै छौँ।"
मङ्गलवारका लागि तोकियो पेशी
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने जिम्मा यसअघि उक्त पक्षले आफ्नोतर्फका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको थियो।
पूर्व महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको टोलीले तयार पारेको रिट निवेदन दर्ता गर्न काँग्रेसको विवादमा देउवा पक्षमा खुलेका कतिपय बरिष्ठ नेताहरू अदालत पुगेका थिए।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बीबीसी न्यूज नेपालीसँग भने, "निवेदन दर्ता भएको छ। पेशी पर्सी मङ्गलवारका लागि तोकिएको छ।"
देउवा पक्षधर नेताहरू अदालतमा पुग्दा त्यसमा शेखर कोइराला वा उनी पक्षधर नेताहरू सहभागी थिएनन्। आइतवार उक्त पक्षले अलग्गै भेला राखेका विवरणहरू आएका छन्।
निर्वाचन आयोगले माघ ६ गते मङ्गलवारका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकेको छ। उक्त निवेदनबारे आयोगका तर्फबाट प्रतिक्रिया आइसकेको छैन।
अदालतमा दर्ता गरिएको निवेदनको प्रमाणित प्रतिलिपि लिएर आफूहरू आयोग गएको देउवा समूहका नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले गतसाता नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई विधानअनुरूप भएको ठहर्याउँदै त्यसबाट निर्वाचित गगन थापाको नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गरेको थियो।
त्यसलाई अस्वीकार गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा रिट दायरसँगै निर्वाचन आयोगमा पनि चुनावी कार्यक्रम स्थगन गर्न माग गर्ने तयारी गरेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: