नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा भएको परिवर्तनबाट हुन सक्ने फाइदा

नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा भएको परिवर्तनबाट हुन सक्ने फाइदा

bbc.com . २ घण्टा अघि

नेपाल र भारतले पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्ने निर्णय गरेसँगै त्यसले रेलमार्फत् सबै किसिमका मालवस्तुको आयात तथा निर्यातलाई बाटो खोलेको अधिकारीहरूले जनाएका छन्।

उक्त प्रोटोकल संशोधन हुनुअघिसम्म नेपालले रेलमार्फत् चार थरी सामानहरू मात्रै ढुवानी गर्न पाउने व्यवस्था थियो।

अधिकारीहरूले पछिल्लो संशोधनले नेपालको पारवहन लागत र सामान भित्र्याउन लाग्ने समय कम गर्न पछिल्लो निर्णयले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

भारतसँगको नयाँ समझदारीले नेपाल-बाङ्ग्लादेश व्यापारलाई कति सहज पार्छ?

प्रचण्डको भारत भ्रमणमा संशोधित पारवहन सन्धिमा ‘हस्ताक्षर हुने’, नेपाललाई पुग्नसक्ने फाइदा के?

उक्त निर्णयले कोलकाता र विशाखापटनमबाट विराटनगर-जोगबनीसम्म र कोलकाता तथा विशाखापटनमबाट नौतनुवा (सुनौली) सम्मको कार्गो ढुवानीबारे पारवहन सन्धिको प्रोटोकलमा भएको व्यवस्था परिवर्तन गरेको हो।

व्यवसायीहरूले उक्त निर्णयको स्वागत गर्दै धेरै कुरा कार्यान्वयनमा भर पर्ने बताएका छन्।

अहिले भएको निर्णय के हो?

हुन त अघिल्लो सरकारकै बेलामा पारवहन सन्धिको प्रोटोकलको संशोधन गर्ने पत्रहरूको आदानप्रदान गर्ने सहमति अधिकारीहरूले गरेका थिए।

तर आफ्नो आसन्न भारत भ्रमणअघि जेन जी आन्दोलनका कारण पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएपछि चुनावका लागि गठित सरकार यो संशोधनमा संलग्न भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा एउटा सम्मेलनमा भाग लिन भारतको विशाखापटनम जाने क्रममा उनले नयाँ दिल्लीमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेटघाट गरेका थिए।

त्यहीँ नै दुई देशका अधिकारीहरूले प्रोटोकल संशोधनबारेका पत्रहरू आदानप्रदान गरेका थिए, जसले रेलमा आधारित कार्गोको निकासीपैठारीलाई सहजीकरण गर्ने दुवै देशका अधिकारीहरूले बताएका छन्।

आपूर्तिमन्त्रीसँगै भारतमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले कोलकाता र विशाखपटनमार्फत् कार्गोको आयातनिर्यातको व्यवस्थालाई प्रोटोकलमा भएको परिमार्जनले सहज बनाएको बताए।

उनले भने, "सन् २०२३ को जुन १ मा हस्ताक्षर भएको पारवहन सन्धि र यसको प्रोटोकल थियो, त्यो प्रोटोकलमा खास गरी विराटनगर र भैरहवामा बल्क कार्गो ढुवानीको लागि मात्रै खुला थियो। त्यसमा पनि चारवटा वस्तुहरू कोइला, क्लिङ्कर, सिमेन्ट र रासायनिक मलको ढुवानीलाई मात्रै त्यसमा अनुमति थियो। अहिले जुन पत्रहरू आदानप्रदान भएका छन्, त्यसले बल्क कार्गोको परिभाषालाई विस्तृत गरेर अरू पनि सामानहरू ल्याउन पाउने व्यवस्था गरिदिएको छ।"

वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भारततर्फको द्विपक्षीय व्यापार तथा पारवहन शाखा समेत हेर्ने गरेका भट्टले त्यसबाहेक कन्टेनरबाट समेत कार्गोहरू ल्याउन मिल्ने व्यवस्था यो सहमतिले गरेको उनले उल्लेख गरे।

"सबै खालको कार्गो आउने हुँदा यसले... जुन विराटनगरमा एकीकृत जाँच चौकी बनेर पनि खासै प्रयोगमा आउन सकेको थिएन, त्यसको सञ्चालनलाई सहयोग गर्छ। तेस्रो मुलुकबाट आउने सामानहरू रेलबाट आउँदा लागत पनि घट्न जान्छ।"

भारतको वाणिज्य मन्त्रालयले पछिल्लो पत्र आदानप्रदानले जोगबनीदेखि विराटनगरसम्म रेलमार्फत् मालसामान ओसारपसारको दायरालाई फराकिलो बनाएको उल्लेख गरेको छ।

नेपाल-भारत सम्बन्ध: पारवहन सन्धि पुनरवलोकनपछि नेपालले पाउने थप सुविधा यस्ता छन्

भारतमा विभिन्न सामानको मूल्य घट्दा नेपाली व्यापारीहरू 'चिन्तित'

उसले यस्तो लचिलोपनले ट्रान्जिट मार्गका रूपमा प्रयोग गरिने कोलकता-जोगबनी, कोलकता-नौतुनवा र विशाखापटनम-नौतनवा (सुनौली)हुँदै हुने दुई देशबीचको व्यापार सञ्जाल र नेपालको तेस्रो देशसँगको व्यापारलाई अभिवृद्धि गर्ने उल्लेख गरेको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले पछिल्लो संशोधनले कोलकता र विशाखापटनम बन्दरगाहका 'कन्टेनर र बल्क कार्गो' लाई सोझै विराटनगरमा रहेको भन्सार यार्डको कार्गो स्टेसनसम्म पहुँच दिने बताएको छ।

भारत सरकारको अनुदानबाट निर्मित उक्त रेल सञ्जालको नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०२३ को जुनमा संयुक्त उद्घाटन गरेका थिए।

"विगतमा रेलमार्फत् कन्टेनरसहितको कार्गो ल्याउने व्यवस्था नै थिएन। पारवहन सन्धिको प्रोटोकलमा 'बल्क कार्गो' ढुवानीमा मात्रै रेल प्रयोग गरिने लेखिएको थियो। त्यो हटेकाले अब सबै खालको सामानहरू ल्याउन मिल्छ। हाम्रोबाट पनि सामानहरू पठाउन मिल्छ," भट्टले भने।

"भैरहवाको हकमा करिब ७ किलोमिटर वर नौतनुवा सुनौली छ, त्यहाँसम्म रेलवे लाइन छ, त्यहाँभन्दा उता बनिसकेको छैन। अहिलेको जुन प्रावधान छ, सुनौली नौतनुवासम्म रेलमा र त्यहाँबाट सडकमार्गबाट ढुवानी हुन्छ।"

तर विराटनगरको हकमा एकीकृत जाँचचौकीसँगै रेलमार्ग पनि निर्माण भएकाले त्यहाँसम्म दुवै बन्दरगाहबाट रेलमा वा बन्दरगाहहरूबाट भारतीय कार्गो यार्डसम्म रेलमा र त्यहाँबाट सडक मार्गबाट पनि ल्याउन मिल्ने उनले सुनाए।

नेपालले भारतसँग कतिको व्यापार गर्छ?

नेपालले सबैभन्दा धेरै मालवस्तुको आयात तथा निर्यात भारतसँग गर्छ। अघिल्लो आर्थिक वर्षमा नेपालले कुल १८ खर्ब रुपैयाँको सामान आयात गरेकोमा १० खर्ब ७१ अर्ब रुपैयाँ बराबरको आयात भारतबाटै गरेको थियो।

त्यसै गरी निर्यातको हकमा पनि दुईतिहाइभन्दा बढी हिस्सा भारतले नै ओगट्ने गर्छ। अघिल्लो वर्ष नेपालको कुल निर्यात २ खर्ब ७७ अर्ब रुपैयाँ रहेकामा भारतमा २ खर्ब २४ अर्ब रुपैयाँबराबरको निकासी भएको थियो।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले नेपालको सबैभन्दा ठूलो व्यापारिक र लगानी साझेदार भारत रहेको उल्लेख गर्दै नयाँ व्यवस्थाले दुई देश र त्यहाँभन्दा अझ टाढासम्म आर्थिक र व्यावसायिक सम्बन्धलाई थप टेवा पुर्‍याउने जनाएको छ।

वरपरका देश 'ट्रम्प ट्यारिफ'ले चिन्तित बन्दा नेपालले देखेको अवसर

बिजुली बेचेर एकै दिनमा १० करोड रुपैयाँसम्म भित्र्याउँदै नेपाल

निजी क्षेत्रले के प्रतिक्रिया दिइरहेका छन्?

नेपाल फ्रेट फर्वार्डस असोसिएशनका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाले पछिल्लो सहमति सकारात्मक रहेको भन्दै आफूहरूले त्यसको कार्यान्वयनलाई हेरेर थप प्रतिक्रिया जनाउने बताए।

उनले भने, "हामीले विस्तृत अध्ययन गरिसकेका छैनौँ। तर त्यस्तो पहुँच पाउनु र सबै किसिमका सामान ल्याउन सकिने व्यवस्था हुनु राम्रो हो। लागत घट्ने कुराहरूमा हामी सकारात्मक छौँ।"

उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकालले कार्गो ढुवानीमा नयाँ व्यवस्था लागु हुँदा लागत घट्ने अपेक्षा आफूहरूले गरेको बताए।

उनी भन्छन्, "सहमति भएको छ, काम हुँदा राम्रो हो। हामी पनि कच्चा सामानहरू ल्याउँदा लागत घट्छ भनेर (यसमा) लागेका हौँ। धेरै वर्षदेखि प्रयास गरिएको हो र हामी व्यापारीहरूका लागि यस्ता कुराहरू आशालाग्दा हुन्।"

भारत हुँदै तेस्रो देश उड्ने नेपालीलाई थप सहज बनाउन 'लचिलोपन' खोज्दै दूतावास

गाई-गोरु तस्करी: भारतमा उच्च तहको संलग्नता खुल्दै, नेपालमा संरक्षण कसको?

उनले पछिल्लो निर्णयले पूर्व क्षेत्रका व्यापारीहरूलाई थप फाइदा पुर्‍याउने अपेक्षा आफूहरूले गरेको पनि उल्लेख गरे।

नेपालको कुल बाह्य व्यापारमध्ये सबैभन्दा बढी आयातनिर्यात वीरगन्ज हुँदै हुने गर्छ। अघिल्लो आर्थिक वर्षमा कुल व्यापारको एकतिहाइभन्दा बढी त्यहाँबाट नै भएको थियो।

अघिल्लो वर्षको आँकडाअनुसार बढी आयात गर्ने दोस्रो भन्सार बिन्दु भैरहवा र चौथो भन्सार बिन्दु विराटनगर रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.