अस्ट्रेलियामा १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जालमा आजदेखि प्रतिबन्ध, अनुगमन गर्ने योजनासहित सरकार
प्रधानमन्त्री एन्थनी अल्बानेजीले आजको दिन आफूलाई अस्ट्रेलियाको प्रधानमन्त्री भएकोमा गर्वको अनुभव भएको बताएका छन्।
विश्वकै प्रथम भनिएको १६ वर्ष मुनि उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको निर्णय बुधवारदेखि देशभरि लागु हुँदै छ।
इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट तथा यूट्यूबलगायतका सञ्जालले अब नयाँ कानुनको पालना गर्नुपर्ने छ।
सरकारले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने उद्देश्य राखिएको बताएको छ।
तर आलोचकहरूले यसबाट किशोर किशोरीहरू एक्लिने अनि नियमन नभएका इन्टरनेटका अन्य सामग्रीतर्फ धकेलिने खतरा उब्जने बताएका छन्।
अस्ट्रेलियामा इन्स्टाग्रामले किशोरकिशोरीको अकाउन्ट बन्द गर्ने
टिकटकले नेपालमा हटाउने भिडिओ सङ्ख्या बढ्दै, तीन महिनामै २४ लाखभन्दा बढी हटाइयो
कसरी हुने छ लागु?
नयाँ कानुनको पालनामा सरकारले सामाजिक सञ्जालका कम्पनीहरूलाई जिम्मेवार बनाउन खोजेको देखिन्छ।
प्रतिबन्धको उल्लङ्घन गरेमा अभिभावक तथा बालबालिकालाई सजाय हुने छैन बरु कम्पनीहरूलाई सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना गरिने छ।
सिड्नीस्थित सम्वाददाता साइमन एट्किन्सनका अनुसार यो नीति कसरी लागु गरिन्छ भन्नेबारे धेरै चासो पाइएको छ।
बालबालिकाले प्रतिबन्ध उल्लङ्घन गर्ने विकल्प पत्ता लगाउनेप्रति – या त उमेर जाँच्ने प्रविधिलाई छलेर या त अन्य झन् असुरक्षित प्ल्याटफर्महरू प्रयोग गरेर - विज्ञहरूले चिन्ता गरेका छन्।
प्रतिबन्ध लागु भएकोबारे गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानेजीले पनि उक्त विषय औँल्याए।
"मलाई सोधिएको छ…सफलता कस्तो हुने छ? यो लागु भइरहेको छ भन्नु नै पनि सफलता हो। हामी यसबारे कुराकानी गरिरहेका छौँ र त्यो पनि सफलता हो।"
"हामीलाई थाहा छ यो एकदम सफल नहुन सक्छ तर त्यसका लागि हामी प्रयत्नशील रहने छौँ।"
"यो नीतिले बालबालिकालाई तिनको बालापन दिने छ। अनि अभिभावकहरूको मन थप शान्त बनाउने छ," उनले भने।
अस्ट्रेलियाकी ई-सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टले प्रविधि कम्पनीहरूसँग उक्त प्रतिबन्धको पालना गर्न सक्ने क्षमता भएकोमा आफू विश्वस्त रहेको बताइन्।
नियमको पालना भइरहेको छ कि छैन भनेर भोलिदेखि नै निगरानी गरिने उनले बताइन्।
'विश्वले पछ्याउने छ'
अस्ट्रेलियाले दीर्घकालीन दृष्टिकोण राखेर कदम चालिरहेको ग्रान्टले बताइन्।
बालबालिकाले प्रतिबन्ध उल्लङ्घन गरेका भन्ने समाचारहरू आइरहने तर अस्ट्रेलिया पछि नहट्ने उनले बताइन्।
"विश्वले पछ्याउने छ। जस्तो कि विगतमा हामीले टोबाको प्याकेजिङ्, बन्दुक राख्न पाउने नियममा सुधार गरेका थियौँ जसलाई अन्य देशले पछि अनुसरण गरे," उनले भनिन्।
अस्ट्रेलियामा इन्टरनेट नियमन गर्ने जिम्मा पाएको ई-सेफ्टी निकायकी प्रमुख उनले नयाँ नियमको पालनाबारे चाँडै देशलाई जानकारी दिने बताइन्।
"भोलि मैले १० मुख्य प्ल्याटफर्महरूलाई सूचना जारी गर्ने छु अनि जनतालाई क्रिसमस अगाडि नै यी उमेर जाँचेर प्रतिबन्ध लगाउने नियम पालना कसरी भइरहेको छ अनि कति लागु भइरहेको छ भनेर जानकारी दिने छौँ।"
"सबभन्दा शक्तिशाली तथा नवीन प्रविधि उद्योगसँग यी नियमलाई सही अनि निरन्तर सुधारिँदो शैलीले पालना गर्ने प्राविधिक क्षमता रहेकोमा म एकदम विश्वस्त छु," उनले भनिन्।
प्रविधि कम्पनीहरूले चाहिँ सरकारले ज्यादा हस्तक्षेप गर्न खोजेको भन्दै बालबालिकाहरूको अनलाइन गतिविधिलाई सुरक्षित बनाउने अन्य राम्रा तरिका रहेको बताएका छन्।
कतिपय किशोर किशोरीहरूले सरकारले उसको ध्यान सामाजिक सञ्जालका कम्पनीहरूलाई तिनका प्ल्याटफर्म स्वच्छ राखून् भन्नेमा केन्द्रित गर्नु पर्ने अनि बालबालिकालाई यसबारे शिक्षा दिन केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्।
सरकारले प्रतिबन्ध लागु गराउन सूचीकृत गरेको १० वटा प्ल्याटफर्ममध्ये एक्सले नयाँ नियम लागु हुनु केही घण्टा अघिमात्र त्यसको पालना गर्ने जनाएको छ। अन्य प्ल्याटफर्मले यसअघि नै पालना गर्ने बताएका थिए।
एक्सका प्रमुख इलोन मस्कले प्रतिबन्धको आलोचना गरेका थिए।
"यो हाम्रो रोजाइ होइन – अस्ट्रेलियाको कानुनको विषय हो," एक्सले टिप्पणी गरेको छ।
सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रतादेखि शिक्षा र अर्थतन्त्रसम्म मारमा
नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल 'निष्क्रिय' पार्ने निर्णय कार्यान्वयनमा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: