'म मेरो नातिको खेलौना प्रत्येक दिन सफा गर्छु, म उसलाई धेरै सम्झिन्छु', आप्रवासनका कारण एक्लिएका हजुरबा हजुरआमाहरू
"हाम्रो घरमा पहिले १३ सदस्य थिए, तर अहिले हामी दुई जना मात्र बाँकी छौँ। हामीले हाम्रा नातिनातिनाहरूसँग खेल्ने अनुभूति गुमाइसकेका छौँ।"
भारतको पटियालामा बस्ने एक वृद्ध दम्पतीका दुई छोराहरू रोजगारीको खोजीमा बसाइँसराइ गरेर धेरै वर्षदेखि विदेशमा बसिरहेका छन्।
पटियाला सहरको शान्त बस्तीमा बस्ने यो वृद्ध दम्पतीले आफ्नो दैनिक जीवन आफैँ सम्हाल्छन्। तर धेरै वर्षदेखि आफ्ना छोराछोरी र नातिनातिनाको अनुपस्थितिको कारणले गर्दा उनीहरूको 'सानो घर धेरै ठूलो र खाली महसुस हुन थालेको छ।"
यी वृद्ध दम्पतीले धेरै वर्षदेखि एकान्तमा बस्न बाध्य भएको बताएका छन्।
अमेरिकाले देशनिकाला गरेका नेपालीहरू आइपुगे, 'मानव तस्करी'बारे सोधपुछ
हरेक वर्ष नागरिकता त्याग्ने नेपालीको सङ्ख्या किन बढिरहेको छ?
श्रीमान्-श्रीमती दुवै एकै बोलीमा भन्छन्, "चिन्ता, तनाव, उदासी, पर्खाइ र आशा अब हाम्रो दैनिक जीवनको हिस्सा बनेका छन्।"
समाजशास्त्रीहरू वृद्ध आमाबाबुको यस्तो परिस्थिति 'पञ्जाबमा बसाइँसराइको लामो समयदेखि चलिरहेको प्रवृत्तिको एउटा पक्ष' भएको बताउँछन्।
यसबाहेक सुनसान सडकहरू, त्यागिएका घरहरू, र एनआरआईहरूले आफ्ना घर र फ्ल्याटहरू बेच्ने प्रवृत्तिले पञ्जाबमा बसाइँसराइको अर्को महत्त्वपूर्ण प्रभाव देखाएको छ।
वृद्ध आमाबुवाको एक्लोपन
पटियालाका एक वृद्ध दम्पतीका दुई छोराहरू छन् जो विगत केही दशकदेखि विदेशमा बस्दै आएका छन्।
हामी यहाँ उनीहरूको पहिचान खुलाउने छैनौँ।
ती दम्पती आफ्ना लागि 'हरेक तेस्रो दिनमा भिडिओ कल र वर्षौँपछि पञ्जाब भ्रमणको प्रतीक्षा नै बाँच्ने एक मात्र माध्यम' भएको बताउँछन्।
७५ वर्षीय बुबाले आफ्ना दुई छोरामध्ये जेठो छोरा २७ वर्षदेखि विदेशमा बस्दै आएको र अर्को छोरा १८ वर्षदेखि उनीबाट टाढा रहेको बताए।
उनीहरूलाई 'जेठो छोरा अन्तिम पटक कहिले घर आएको थियो भन्ने पनि याद छैन'। कान्छो छोरा भने १० वर्षअघि घर आएको थियो।
आप्रवासी सङ्कट: आप्रवासीहरूले प्रयोग गर्ने विश्वका सबैभन्दा खतरनाक मार्गहरू कस्ता छन्
पीआर लिएर सन् २०२३ मा कुन कुन देशमा कति नेपाली पुगे?
"आप्रवासनले मेरा छोराहरूलाई मबाट टाढा लग्यो," उनी भन्छन्। जेठो छोरा २७ वर्षदेखि र कान्छो १८ वर्षदेखि विदेशमा बस्दै आएका छन्।
"छोराछोरीको अभाव महसुस हुन्छ। पहिले हामी उनीहरूको करिअरलाई ध्यानमा राख्दै अभावलाई बेवास्ता गर्थ्यौँ। तर अब, उमेर बढ्दै जाँदा, बच्चाहरूको अभाव हामीलाई झन् धेरै महसुस हुन्छ।"
पहिले आफू संयुक्त परिवारमा बस्ने गरेको उनी बताउँछन्। तर अब परिवारका धेरै सदस्यहरू यस संसारमा छैनन् र धेरैजसो रोजगारी र बसाइँसराइका कारण विभिन्न ठाउँमा छरिएका छन्।
बुढापाकाहरू भन्छन्, "हाम्रो घरमा पहिले १३ जना सदस्य थिए, तर अहिले हामी दुई जना मात्र बाँकी छौँ।"
"यदि बसाइँसराइको प्रवृत्ति नभएको भए, हाम्रा बच्चाहरू हामीसँगै हुने थिए," ६५ बर्सिया आमाले भनिन्।
पञ्जाबीहरूले खाली गरेका घरहरूमा को बस्छन्?
दोआबाका धेरै गाउँहरू एनआरआई गाउँको रूपमा चर्चित छन्। कपुरथला जिल्लाको पलाही पनि त्यस्तै गाउँहरू मध्येको एक हो। कुनै समय त्यहाँ बसाइँ सरेका पञ्जाबीहरूले आफ्नो कडा परिश्रमले यस गाउँको अनुहार परिवर्तन गरेका थिए।
तर गाउँलेहरूका अनुसार अहिले प्रवासी पञ्जाबीहरूले आफ्नो जग्गा, सम्पत्ति र घर बेचेर गाउँबाट स्थायी रूपमा टाढा सर्न थालेका छन्।
यस गाउँका मानिसहरूका अनुसार सन् १९५० को दशकभन्दा पहिले पनि त्यहाँका बासिन्दाहरू विदेश गएका उदाहरणहरू छन्।
गाउँका प्रधानपञ्च बलविन्दर कौरका अनुसार गाउँका लगभग ७५ प्रतिशत बासिन्दा विदेशमा बस्छन्।
गाउँको लगभग हरेक घरमा कम्तीमा एक वा दुई जना आप्रवासी सदस्यहरू छन्।
उनी भन्छन्, "यहीँ भएकाहरू पनि विदेश जान चाहन्छन्। गाउँका धेरै घरहरू खाली महसुस हुन थालेका छन्। भारतीय आप्रवासीहरू धेरै भाडाका घरहरूमा बस्छन्।"
गाउँका बासिन्दा तथा श्री गुरु हरगोविन्द शिक्षा परिषद्का अध्यक्ष जतिन्दरपाल सिंह गाउँका रैथानेहरूको सङ्ख्या घटे पनि गाउँमा उत्तर प्रदेश र बिहारबाट आएका आप्रवासीहरूको सङ्ख्या बढेको छ।
नमुना गाउँको निर्माण कसरी भयो?
स्थानीयहरूका अनुसार विदेशमा सफलता हासिल गरेपछि यहाँका बासिन्दाहरूले गाउँको विकास गर्न र यसलाई नमुना गाउँ बनाउन धेरै प्रयास गरे।
एनआरआई समुदायको सहयोगमा पलाही गाउँमा तीनवटा निजी विद्यालय, एउटा आईटीआई र एउटा सामुदायिक पोलिटेक्निक कलेज स्थापना गरिएको छ।
यी शैक्षिक संस्थाहरू श्री गुरु हरगोविन्द शिक्षा परिषद् पलाहीद्वारा व्यवस्थित छन्। यस परिषद् अन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरूको शुल्क धेरै कम छ।
जतिन्दरपाल सिंह भन्छन्, "पूरै गाउँमा भूमिगत ढल छ। सडकहरू पनि कालोपत्रे गरिएका छन्। गाउँमा खेलकुद रङ्गशाला र पार्कहरू पनि निर्माण गरिएका छन्।"
घरजग्गा बेच्ने प्रवृत्ति बढेको छ
पलाहीमा हुर्केका आप्रवासी पञ्जाबीहरूले गाउँलाई नमुना गाउँको रूपमा विकास गरेर उदाहरण प्रस्तुत गरेका थिए। तर अब यहाँबाट बसाइँसराइको अर्को पक्ष पनि देखिन थालेको छ। आप्रवासी पञ्जाबीहरूले अब आफ्नो सम्पत्ति बेचेर गाउँ सधैँको लागि छोड्न थालेका छन्।
जतिन्दरपालले पहिले विदेशबाट गाउँ वा पञ्जाबमा पुँजी आउने गरेको बताए। गैरआवासीय पञ्जाबीहरूले विदेशमा पैसा कमाएर पञ्जाबमा सम्पत्ति निर्माण गर्थे। अब एनआरआईहरूले आफ्नो जग्गा र सम्पत्ति बेचेर आफूसँगै पुँजी विदेश लैजाँदै छन् भनेर उनी चिन्ता व्यक्त गर्छन्।
शैक्षिक संस्था र परिषद्सँग सम्बन्धित अधिकांश वृद्ध एनआरआईहरू अब यो संसारमा छैनन्। उनीहरूको अर्को पुस्ताले अब गाउँमा रहेको आफ्नो सम्पत्ति बेचेर आफ्नो पुँजी विदेश लैजाँदै छ।
"नयाँ पुस्ता जो अहिले विदेश गएका छन्। उनीहरू विदेशमा सङ्घर्ष गरिरहेका छन्। उनीहरूसँग पछाडि फर्केर हेर्ने समय छैन।"
अपूर्ण स्तरहरू
दोआबाका मानिसहरूको पीडासँगै माल्वामा बसाइँसराइका कारण भएको मानवीय भावनात्मक पीडा फरक र गहिरो रूपमा प्रतिबिम्बित हुन्छ।
पटियालाका एक वृद्ध दम्पती उनीहरूका दुवै छोराको विवाह भइसकेको र अहिले उनीहरूको जेठो नाति घर छोड्दा जेठो छोरा जति उमेरको थियो त्यत्रै भइसकेको बताउँछन्।
उनीहरूले आफ्ना नातिनातिनाहरूका लागि खेलौना किनेर घरमा राखेका छन्। आफ्नो जेठो नाति अब खेलौनाहरूसँग खेल्ने उमेरको नभए पनि नातिनातिनाहरूले एक दिन उनीहरूसँग खेल्छन् भन्ने आशामा उनीहरू हरेक दिन खेलौना सफा गर्छन्।
७० बर्सिया वृद्धा भन्छिन्, "हाम्रा छोराछोरीहरूको विवाह भएपछि बुहारीहरूसँग कसरी बस्ने, नातिनातिनाहरूसँग कसरी खेल्ने र उनीहरू कसरी हुर्किन्छन् हेर्ने भन्ने कुराबाट हामी वञ्चित थियौँ। चाडपर्वका बेला हामीलाई हाम्रा छोराछोरीहरूको धेरै याद आउँछ।"
के ट्रम्पले साँच्चै लाखौँ आप्रवासीलाई देशनिकाला गर्न सक्छन्
'आप्रवासीरहित अमेरिका' कस्तो देखिएला?
उनी भन्छिन्, "जब म साथीहरूको घरमा जान्छु उनीहरूका नातिनातिनाहरू अगाडि हिँड्छन्। बुहारीहरू पूजामा सामेल हुन्छन्। तर मेरो घरमा पाहुनाहरू आउँदा म आफैँले सत्कार गर्नुपर्छ। म सोच्छु मेरी बुहारी पनि मसँगै भएकी भए।"
"जब म अरू कसैको नातिलाई मसँग खेलिरहेको देख्छु, मेरो नाति मसँगै भए त उसको औँला समातेर गुरुद्वारा लैजान सक्थेँ। म उसलाई खेलाउन लैजान्थेँ। म मेरी बुहारीसँग नातिको खाजाको डिब्बा तयार गर्थेँ।"
विज्ञहरू के भन्छन्
लुधियानास्थित अर्थशास्त्र र समाजशास्त्र विभागबाट सेवा निवृत्त भएका प्राध्यापक सुखदेव सिंहले भने, "वृद्ध आमाबुवाको मानसिक र शारीरिक स्वास्थ्यमा एकान्तपनको असर एकदमै नराम्रो पर्छ। आप्रवासनका कारण परिवारको व्याख्या बदलिएको छ। बालबालिका र आमाबुवा साना परिवारहरूमा बस्ने गर्थे। अहिले एकल आमाबुवाको छुट्टै परिवार भएको छ। बच्चाहरूको छुट्टै परिवार भएको हुन्छ।"
पञ्जाब विश्वविद्यालय, पटियालाको समाजशास्त्र विभागबाट सेवा निवृत्त प्राध्यापक हरविन्दर भाटी आप्रवासनको पछाडि दुई कारणहरू रहेको बताउँछन्: 'पुल फ्याक्टर' र 'पुश फ्याक्टर'। अर्थात् तान्ने र धकेल्ने।
उनले भने, "प्रवासी पञ्जाबीहरूको सफलताका कथाहरू र विदेश जाने सपनाहरू सूचनाको माध्यमबाट पञ्जाबका युवाहरूसम्म पुगिरहेका छन्। यी सपना र कथाहरूमा धेरैको आकर्षण छ। उनीहरूलाई लाग्छ कि उनीहरू विदेशमा मात्र सफल हुन सक्छन्।"
"दोस्रो, यहाँ सफलतापछि पनि जीवन स्थिर छैन। त्यसैले यहाँ सफल हुनेहरू पनि विदेश सरिरहेका छन्।"
भाटीका अनुसार, "समाज केवल युवाहरू रहँदा रहन्छ। त्यसैले हाम्रो समाज पनि युवाहरूसँगै बसाइँ सरेको छ। यस्तो अवस्थामा एउटा शून्यता सिर्जना भएको छ। यो शून्यतालाई कसैले न कसैले अवश्य भर्ने छ। यूपी र बिहारबाट पञ्जाबमा बसाइँसराइ यही शून्यताको परिणाम हो।"
उनी भन्छन्, "हामी हाम्रा उत्कृष्ट मानव संसाधनहरू विदेश पठाइरहेका छौँ। पञ्जाबमा बस्ने र विदेश जान इच्छुक युवाहरू दुई संसारमा बस्छन्। उनीहरू आफ्नो देश र विदेशको तुलना गरिरहन्छन्। उनीहरूलाई लाग्छ कि विदेशमा सबै कुरा ठिक छ र यहाँ सबै कुरा गलत छ। तर त्यस्तो होइन।"
बसाइँसराइको पीडाको वर्णन गर्दै भाटी आफ्नो तर्क यसरी टुङ्ग्याउँछन्, "पहिले मानिसहरूले विदेशीलाई मीठो जेल भन्थे। तर त्यो जेल पनि तीतो भएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: