काठमाण्डूका बजारमा नक्कली नोट, सक्कली चिन्ने तरिका जान्नुहोस्
काठमाण्डूस्थित बौद्धको एक पसलमा जुत्ता र मोजा किन्न आएका व्यक्तिको बिल १४ हजार ५०० रुपैयाँको भयो। ग्राहकले पसलेलाई १५ वटा हजार नोट दिएपछि पाँच सय रुपैयाँ फिर्ता लिए।
केही समयपछि पसलेलाई नोटहरू नक्कली हुन् कि भन्ने शङ्का लाग्यो। उनले प्रहरीलाई गुहारे। प्रहरीले नोट नक्कली भएको ठहर गर्यो र सीसीटीभी फुटेजको सहायतामा ती क्रेताको पछि लाग्यो।
खोज्दै जाँदा बुधवार साँझ काठमाण्डूको उत्तरपूर्वी भेगबाट केही व्यक्तिहरू प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ।
जाली नोट चिन्ने उपाय यस्ता छन्
राष्ट्र ब्याङ्कले यसरी जलाउँछ करोडौँ रुपैयाँ
"क्रेताले जुत्तामोजा किनेर केही पर राखेको गाडीमा चढेको पाएपछि त्यसकै आधारमा अनुसन्धान अगाडि बढ्दै जाँदा छ जनालाई नक्कली नोट कारोबारमा पक्राउ गरिएको छ," नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेले बीबीसी न्यूज नेपालीसँग भने।
काफ्लेका अनुसार उनीहरूसँग एकपछि अर्को निस्किएको नोट गन्दै जाँदा ९३ हजार रुपैयाँ मूल्य अङ्कित भएको नोट फेला परेको छ।
चालु आर्थिक वर्षमा मात्रै ३५ वटा नक्कली नोटसम्बन्धी मुद्दामा ६५ जना पक्राउ परेको प्रहरीको तथ्याङ्क छ।
तथ्याङ्कअनुसार गएको पाँच आर्थिक वर्षमा नक्कली नोटसम्बन्धी २५७ वटा मुद्दा परेका छन्।
नेपाली नक्कली नोटको कारोबार बाहेक भारतीय मुद्रा र अमेरिकी मुद्राको पनि नक्कली कारोबार भेटिएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
नक्कली नोट कारोबारमा स्वदेशी र विदेशी महिला र पुरुष दुवै संलग्न छन्।
नक्कली नोट कसरी फेला पर्छन्? कसरी चिन्ने?
"कहिले सादा पोसाकमा खटिएका प्रहरीले फेला पार्छन्," प्रहरी प्रवक्ता काफ्ले भन्छन्, "कहिलेकाहीँ पसले र अन्य सचेत नागरिकले पनि हामीलाई जानकारी दिनुहुन्छ अनि अनुसन्धान गरिन्छ"।
प्रहरीले त्यसपछि राष्ट्रब्याङ्कसँग पनि समन्वय गर्छ।
राष्ट्र ब्याङ्कले नोटलाई दुरुस्त चोर्न नसकून भनेर विभिन्न सुरक्षा उपायहरू अपनाउने गरेको र झन्झन् बढी त्यस्ता सुरक्षा उपायहरू थप्दै गएको राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन्।
प्रवक्ता पौडेलले भने, "हामीले अन्तर्राष्ट्रिय चलन कस्तो छ भनेर अन्य देशका मुद्रा हेरेर त्यसै अनुसार फीचरहरू राखेका छौँ, विदेशमा राम्रो छाप्ने ठाउँ हेरेर छपाएका छौँ, निरन्तर चनाखो भएर हेरिरहेका हुन्छौँ र हाम्रा मुद्रामा सुरक्षा फीचर अद्यावधिक गर्ने गरेका छौँ।"
केन्द्रीय ब्याङ्कले नोट सक्कली हो कि नक्कली भनेर कसरी चिन्ने भन्नेबारे विभिन्न सूचना पनि आफ्नो वेबसाइटमा राखेको छ। विभिन्न मूल्यका नोट नक्कली र सक्कली छुट्याउन भिन्दाभिन्दै जाँच्ने तरिकाहरू वेबसाइटमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा राखिएको छ।
राष्ट्र ब्याङ्कले वेबसाइटमा लेखेको छ- "नोटको अग्र भागमा प्रिन्ट गरिएको "श्री नेपाल राष्ट्र बैङ्क, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।", कुबेरको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरू हुन्।"
"उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ। नोटमा रहेको कुबेरको आकृतिको रङ्ग नोटलाई हेरिने कोणको आधारमा फरकफरक रङ्गमा परिवर्तन हुन्छ। सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्र भागलाई हेर्दा उक्त आकृति सुनौलो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रङ्गको देखिने हुन्छ ।
प्रवक्ता पौडेल भन्छन्, "हेरेर, छोएर र ढल्काएर (टिल्ट गरेर) तथा यूभी प्रकाशमा जाँच्न मिल्ने किसिमका फीचर छन् हाम्रो नोटमा।"
खासमा अलिकति पनि चनाखो व्यक्ति झुक्किने अवस्था नरहेको तर नक्कली र सक्कलीको भेउ नपाउनेहरू मात्र झुक्किन सक्ने अधिकारीहरू बताउँछन्।
त्यसका लागि व्यापकरूपमा सचेतना कार्यक्रम गरिरहनुपर्नेमा उनीहरूको जोड छ।
नेपाली नोटका डिजाइनकर्तालाई भेट्न मन छ कि
नेपालको आफ्नै मुद्रा कसरी सम्भव भयो
प्रहरीले कसरी छुट्याउँछ?
प्रहरी प्रवक्ता काफ्लेका अनुसार शङ्कास्पद नोट छ भने सम्बन्धित वर्षको शृङ्खलासँग भिडाएर हेर्दा थाहा हुन्छ।
"असली नोटमा देख्न सकिने विशेषता हुन्छन्। सुरक्षा धागो हुन्छ, कागजको गुणस्तरबाट पनि थाहा हुन्छ। छपाइको डिजाइन, रङ र आकृति र नापबाट पनि थाहा हुन्छ," उनले भने, "छोएर पनि थाहा हुन्छ। प्रकाशतर्फ राखेर हेर्यो भने नयाँ १ हजार रुपैयाँको नोट हेर्दा त एनआरबी चलिरहेको जस्तो देखिन्छ- ३ डी विशेषता भनिन्छ त्यसलाई।"
बरामद भएका नोटलाई भने प्रयोगशालामा परीक्षण गरेर निर्क्योल गरिन्छ।
कहाँ बन्छन् नक्कली नोट?
काफ्लेका अनुसार एकपटक झापामा बोकेर हिँड्न मिल्ने मशीन नक्कली नोट छाप्न प्रयोग भएको फेला परेको थियो।
प्रहरीले पक्राउ गरेका प्रतिवादी र अभियुक्तसँग लिएको बयानमा पनि मशीनमा बनाएको भन्ने सूचना पाएको उनले बताए।
यस्ता नोट नेपालभित्र बन्छन् कि बाहिर पनि भन्ने प्रश्नको जबाफमा प्रवक्ता काफ्लेले भने, "खुला सिमाना भएको देश छ... मशीन नभेटिएको हिसाबले, खुला सिमानाका हिसाबले उतै बनाएर ल्याएको पनि देखिन्छ।"
प्रहरीले दक्षिणी सीमा क्षेत्रका विभिन्न स्थानमा नक्कली नोट नेपालतर्फ ल्याउँदै गर्दा नेपाली र भारतीय नागरिकहरू प्रकाउ गरेको सूचना जारी गर्ने गरेको छ।
नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक
नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्
नक्कली नोटको कारोबारीलाई के कारबाही हुन्छ?
नेपालको कानुनमा नक्कली नोटलाई 'खोटो मुद्रा' भनेर उल्लेख गरिएको छ र त्यसका कारोबारीलाई विभिन्न प्रकारका सजाय तोकिएको छ।
मुलुकी अपराध संहितामा मुद्रा कसुरसम्बन्धी व्यवस्था छ।
कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिणाम र मूल्य विचार गरी पाँचदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिबाना हुने व्यवस्था छ।
खोटा मुद्रा बनाउने सामान राख्न, बनाउन वा मर्मत गर्न नहुने व्यवस्था छ र सोको उल्लङ्घन गर्ने व्यक्तिलाई सात वर्ष कैद र ७० हजार रुपैयााँसम्म जरिबाना छ।
त्यसै गरी मापदण्डविपरीत मुद्रा बनाउन नहुने व्यवस्था पनि छ। त्यसमा पनि सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिबाना छ।
जाली नोटको कारोबारबापत न्यूनतम पाँचदेखि अधिकतम १० वर्षसम्म जेल र ५० हजारदेखि १ लाख रुपैयाँ सम्मको जरिबाना हुने व्यवस्था छ।
नक्कली नोट प्राप्त भए के गर्ने?
व्यक्तिले प्रहरीलाई सूचना दिएपछि कारोबारीहरूको खोजी हुन्छ।
प्रहरीको अनुसन्धानबाट साबित भएपछि नक्कली नोटको अङ्कित मूल्यबराबरको क्षतिपूर्ति तिनै दोषीहरूबाट प्रहरीले सर्वसाधारणलाई फिर्ता गराइदिने गरेको प्रवक्ता काफ्ले बताउँछन्।
नक्कली नोटको कारोबार लागुऔषध र अन्य कारोबारमा पनि हुने गरेको फेला परेको काफ्लेले बताए।
भारुसँग नेरुको साइनो किन तोड्न सकिन्न?
डलर महँगिँदा नेपाललाई रु ४४ अर्ब 'बिनाकाम' गुम्ने चिन्ता
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: