मतचिह्न झल्कने ट्याटु छोप्नुपर्ने, मापसे गर्न र मोबाइल लैजान नपाइने: मतदातालाई यस्ता छन् नियम
कुनै राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारको मतचिन्ह झल्कने ट्याटु शरीरमा खोपिएको छ भने मतदानको दिन त्यसलाई प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख छ।
मतदानस्थलमा मोबाइल फोन वा क्यामेरा पनि लैजान पाइँदैन।
के तपाईँलाई लाग्छ निर्वाचन आचारसंहिता भनेको केवल राजनीतिक दल, उम्मेदवार वा अन्य सरकारी अधिकारीहरूलाई मात्र हो?
त्यसो हो भने सावधान रहनुहोस्, यो आचारसंहिताले सर्वसाधारण मतदातालाई पनि जिम्मेवार बनाउन खोजेको छ र त्यसको उल्लङ्घन गरे कारबाही भोग्नुपर्ने हुन सक्छ।
समयअगावै हुन लागेको चुनाव : मुद्दा, मतदातासहितका महत्त्वपूर्ण ५ कुरा
सांसद बन्ने प्रतिस्पर्धामा ३४% स्वतन्त्र उम्मेदवार, पार्टीबाट नभई व्यक्ति नै चुनाव उठ्नुका कारण अनेक
मतदातालाई कस्ता नियम?
निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण तथा स्वतन्त्र बनाउन आचारसंहिताले हरेक पक्षलाई जिम्मेवार बनाउने कोसिस गरिरहेको निर्वाचन आयोगले बताएको छ।
"यसै सिलसिलामा मतदाताहरूका निम्ति पनि पालना गर्नु पर्ने आचरणहरू तोकिएको छ। यसले सबैलाई जिम्मेवार बनाउन मद्दत गर्छ भन्ने आयोगलाई लागेको छ," आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने।
निर्वाचन आयोगका पूर्वआयुक्त रामभक्त पीबी ठाकुर मतदाताहरू ज्यादा सजग र सचेत बनून् भन्ने ध्येयले यस्ता विषय आयोगले आचारसंहितामा राख्ने गरेको बताउँछन्।
"निर्वाचनमा सबै जना र सबै पक्ष अनुशासित भयो भने मात्र त्यसको साँचो अर्थ रहन्छ," ठाकुरले भने।
२०८२ को निर्वाचनका निम्ति निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ५ दफा २१ मा मतदाताहरूले पालना गर्नुपर्ने आचरण उल्लेख छ।
मतदाताले पालना गर्नुपर्ने आचरण यस्ता छन्:
मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,
मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने,
मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुठा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,
मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङकित कपडा, टि-सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,
मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने,
कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सज्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने,
कारबाही हुन सक्छ
माथि उल्लिखित आचरणबाहेक मतदाताले मतदान गर्न जाँदा विचार गर्नुपर्ने अन्य विषय पनि रहेको आयोगका सूचना अधिकारी घिमिरेले बताए।
खास गरी मतदानका निम्ति आवश्यक कागजपत्र बोक्नुपर्छ।
"पुराना मतदाताको हकमा मतदाता परिचयपत्र चाहिन्छ। यसपालि नयाँ थपिएका मतदाताहरूका निम्ति मतदाता परिचयपत्र बनाउने क्रममै हामी छौँ। त्यो काम सकिएमा मतदानको दुई दिनअगाडि सम्बन्धित मतदान केन्द्रबाटै तिनलाई बाँडिने छ," उनले भने।
मतदाता परिचयपत्र उपलब्ध गराउन सहज नभए मतदानको दिनभन्दा केही पहिले निर्वाचन आयोगले निर्णय गरेर त्यसबारे व्यवस्था गर्न सक्छ।
मतदाताहरूले आचरण पालना नगरे कस्तो कारबाही हुन्छ? निर्वाचन आयोगले मतदाताले गोपनीयता भङ्ग गर्ने काम गरेमा १५ हजार रुपैयाँसम्म जरिबाना गराउन सक्ने उल्लेख गरेको छ।
"कुनै मतदाताले आचारसंहिता उल्लङ्घन गरेको भनेर उजुरी परेमा आयोगले छलफल गरेर कारबाही गर्नु पर्ने वा नपर्ने, वा स्पष्टीकरण सोध्नुपर्ने वा सचेत गराउनु पर्ने भन्ने निर्णय गर्छ," घिमिरेले भने।
आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिका अनुसार उसकहाँ हालसम्म ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको उसले जनाएको छ।
तर आचारसंहितालाई आयोगले केवल कारबाहीको दृष्टिकोणले मात्र पनि नहेरेको घिमिरेले बताए।
"आचारसंहिता सबैले पालना गर्नु पर्छ भन्ने जानकारी दिन पनि आयोगले खोजेको छ। यो सातादेखि मतदाता शिक्षाका निम्ति हरेक वडामा स्वयंसेवक परिचालित भएका छन्। उनीहरू देशैभरका वडा अनि बस्तीहरूमा पुग्छन् र त्यहाँ मानिसहरूलाई आचार संहिताबारे पनि बताउने छन्।"
आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने छन्। तथा त्यसरी खटिएका स्वयंसेवकले आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमवाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने आयोगले जनाएको छ।
मतदाताहरूको सहजताका निम्ति मतदानको दिन गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदाताले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाउँछन्।
हिमाली क्षेत्रका मतदाताहरूमा मताधिकारबाट वञ्चित हुने चिन्ता
जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: