'> ' /> करिब १० घण्टा चल्ने बिहीवारको मतदानमा कसले के गर्न पाउँछन्, के पाउँदैनन्?

करिब १० घण्टा चल्ने बिहीवारको मतदानमा कसले के गर्न पाउँछन्, के पाउँदैनन्?

bbc.com . २ घण्टा अघि

गत भदौको जेन जी आन्दोलनले सिर्जना गरेको 'विशिष्ट परिस्थिति'मा घोषणा भएर बिहीवार हुने प्रतिनिधिसभाको आमनिर्वाचनमा मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार राजनीतिक दललाई मत दिन सक्ने व्यवस्था सुनिश्चित गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

बुधवार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले "ऐतिहासिक मतदानमा उत्साहपूर्वक सहभागी हुन" आह्वान गरेका छन्।

बीबीसीसँग कुरा गर्दै निर्वाचन आयोगका एकजना सहायक प्रवक्ता कुलबहादुर जीसीले मतदानको दिन उम्मेदवार र मतदाता दुवैका आचरणले स्वच्छ एवं निष्पक्ष निर्वाचन गराउने भन्दै "दुवै पक्ष एक अर्काको निगरानीमा हुने" बताउँछन्।

"त्यस दिन आयोगको पूरै संयन्त्र स्वतन्त्र र भयरहित निर्वाचन गराउनेगरी खट्छ। कल सेन्टर, निर्वाचन अधिकृतको कार्यालय र आयोग सबैले संयन्त्रमार्फत् आवश्यक पर्दाका हकमा तत्काल आवश्यक निर्णय लिनेछन्," जीसी भन्छन्।

चुनावमा हुन सक्ने धाँधली रोक्न निर्वाचन आयोगले के गर्दै छ?

के नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटै दलको बहुमत आउन सम्भव छ

एक पर्यवेक्षण संस्थाका प्रमुखले मतदानका दिन सयौँ पर्यवेक्षकहरू मतदान केन्द्र आसपास बढ्ता केन्द्रित भएर मतदाता र उम्मेदवारलाई स्वच्छ प्रतिस्पर्धाका लागि "मनोवैज्ञानिक ढाडस" दिने बताउँछन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष गोपालकृष्ण सिवाकोटी भन्छन्: "देशी विदेशी पर्यवेक्षकहरूको उपस्थितिले आम मतदातालाई सुरक्षा र निर्भयताको अनुभूति दिन्छ र गलत मनसाय राख्नेहरूलाई निरुत्साहित गर्न सक्ने छ।"

६,५०० उम्मेदवार, १ करोड ९० लाख मतदाता

बिहीवार देशभरका २३ हजारभन्दा धेरै मतदान केन्द्रमा योग्य उम्मेदवारहरू पुगेर नेपालको तल्लो सदनका लागि आफ्ना प्रतिनिधि चयन गर्दैछन्।

समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचन प्रणालीमा गरेर ६ हजार ५ सयभन्दा धेरै उम्मेदवार रहेको यस निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना योग्य मतदाता छन्।

"निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतान्त्रिक वैधता नविकरण गर्ने संवैधानिक अभ्यास समेत हो," बुधवारको पत्रकार सम्मेलनमा आयोग प्रमुख रामप्रसाद भण्डारीले भने।

"यो प्रक्रियाको पूर्णताले मतदातामार्फत् नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी र उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भइ आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ।"

'मतदान हुँदा मौसम सफा रहने': हिमाली क्षेत्रमा कतै हेलिकप्टरबाट, कतै डोजरले हिउँ पन्छाएर पुर्‍याइयो सामान

'चार मतदाताका लागि २० कर्मचारी': दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी

आयोगका सहायक प्रवक्ता जीसीले गोपनियताको "उच्चतम सुरक्षा हुनेगरी मतदानको व्यवस्था गरिएको" र सम्बन्धित स्वयंले मतदान गर्न नसक्ने अवस्थामा समेत "निर्वाचन अधिकृतको रोहबरमा" मतदान हुने भएकाले छलकपट हुने सम्भावना कम रहेको बताउँछन्।

"त्यसैले मतदाता कुनै पनि अफवाहबाट प्रभावित नभईकन आफ्नो विवेक प्रयोग गर्नुपर्छ।"

मतदानका दिन के गर्न मिल्छ?

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका उम्मेदवारहरू बिहीवारको झन्डै १० घण्टा हुने मतदानमा सहभागी हुँदैछन्।

हरेक मतदाता बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा निर्धक्क सहभागी हुने वातावरणको सुनिश्चितता निष्पक्ष निर्वाचनका लागि महत्त्वपूर्ण हुने निर्वाचन अधिकारीहरू बताउँछन्।

सामान्य अवस्थामा मतदानका लागि तोकिएको समयभित्र लाइनमा रहनेहरूले भोट दिन पाउनेछन्।

तर उनीहरूले त्यहाँ उम्मेदवारको चिन्ह वा मतसङ्केत वा तिनको पहिचान खुल्ने लोगो प्रयोग हुने पोसाक वा ब्याज प्रयोग गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ।

मतदाताबाहेक निर्वाचन आयोगबाट अनुमति पाएका व्यक्ति वा अधिकारी मात्र मतदान केन्द्रमा प्रवेश गर्न पाउनेछन्।

"बायोमेट्रिक दर्ता प्रणालीका कारण अवैध व्यक्तिले मतदान गर्ने, दोहोर्‍याएर मतदान गर्ने सम्भावना यसपटकको निर्वाचनमा कम हुने अवस्था रहे पनि अनियमितता गर्ने, बल प्रयोग गर्ने, हुलहुज्जत गर्ने सम्भावना नकार्न सकिँदैन," नियोकका अध्यक्ष सिवाकोटी भन्छन्।

"त्यसैले पहिल्यै संवेदनशील क्षेत्र भनेर पहिल्याइएका केन्द्रमा स्वदेशी र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको नजर बढ्दै परेको छ।"

अनुमति पाएका व्यक्तिहरूमा आयोगबाट अनुमति पाएका पर्यवेक्षक, प्रत्यक्षतर्फका उम्मेदवार वा निर्वाचन आयोगबाट अनुमति पाएका तिनका एकजना प्रतिनिधि, समानुपातिक निर्वाचन प्रणाली बमोजिम दलको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि हुन सक्नेछन्।

प्रत्येक मतदानकेन्द्रमा प्रयोग हुने छन् ५१ वटा निर्वाचन सामग्री

समयअगावै हुन लागेको चुनाव : मुद्दा, मतदातासहितका महत्त्वपूर्ण ५ कुरा

मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालबालिका एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य पनि केन्द्रमा जान पाउँछन्।

के गर्न मिल्दैन?

मतदान केन्द्रमा प्रवेश गर्ने व्यक्तिले सलाई, लाइटर, एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ, क्यामेरा, मोबाइल फोन लगायतका सामग्री तथा मतदान अधिकृतले निषेध गरेको अन्य कुनै चिज वा वस्तु लिएर नमिल्ने निर्वाचन आयोगले जनाएको छ।

मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गरेमा छ महिनासम्म कैद वा २५ हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

त्यसैगरी मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भङ्ग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन पाइने छैन।

मतदान नसक्दासम्म बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुल हुज्जत वा होहल्ला गर्न वा गराउन पाइने छैन।

मतदान भइरहँदा चुनाव प्रचारका काम समेत गर्न पाइने छैन। त्यो प्रत्यक्ष वा भर्चुअल दुवै माध्यममा गर्न निषेध गरिएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले मतदान केन्द्र तोकेपछि ३०० मिटर आसपास कसैले पहिले प्रचार सामग्री राखेका भए त्यसलाई हटाउन भनिसकिएको बताउँछन्।

"त्यो जिम्मेवार स्वयं पालना गर्ने उम्मेदवार र पालना गर्न लगाउने मतदान अधिकृतहरूको जिम्मेवारी छ," जीसी भन्छन्।

सही मतदाता कसरी चिनिन्छन्?

भोट हाल्न जाँदा भएसम्म मतदाता परिचयपत्र लैजानु सबैभन्दा उपयुक्त हुने निर्वाचन अधिकारीहरू बताउँछन्।

तर त्यो हात नपरिसकेको भए पनि मतदानबाट बञ्चित भइहालिँदैन। नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र लिएर समेत मतदान गर्न जान पाइनेछ।

निर्वाचन आयोगले मतदाताले गोपनीयता भङ्ग गर्ने काम गरेमा १५ हजार रुपैयाँसम्म जरिबाना गराउन सक्ने उल्लेख गरेको छ।

मतदाताहरूको सहजताका निम्ति मतदानको दिन गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदाताले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.