ब्याङ्कको भन्दा धेरै ब्याज पाउन सरकारलाई ऋण दिने हो?

ब्याङ्कको भन्दा धेरै ब्याज पाउन सरकारलाई ऋण दिने हो?

bbc.com . २ घण्टा अघि

नेपाल सरकारले सर्वसाधारण नागरिक र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूसँग ऋण लिइरहेको छ।

अधिकारीहरूका अनुसार सरकारले पाँच वर्षका लागि लिन चाहेको दुई अर्ब ५० करोड रुपैयाँ ऋणमध्ये सर्वसाधारण बचतकर्ताले करिब एक अर्ब रुपैयाँ दिइसकेका छन्।

सरकारले वैदेशिक रोजगारीमा रहेकाहरूबाट पनि 'राम्रो ब्याजदरमा' ऋण लिन चाहे पनि यो क्षेत्रबाट सरकारलाई ऋण दिनेहरू न्यून देखिएका छन्। उनीहरूबाट सरकारले खोजेको ५० करोड रुपैयाँमध्ये आइतवारसम्म ४० लाख रुपैयाँ मात्रै प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

रु २० लाखसम्म बिनाधितो उद्यम कर्जा : कसले र कसरी पाउन सक्छ

ग्राहकको १८ किलो सुन लुटिएपछि पैसा तिर्ने 'तयारी'मा राष्ट्रिय वाणिज्य ब्याङ्क

यो वर्षको बजेटमा उल्लिखित तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सरकारले दुईवटा बचतपत्र निष्कासन गरेको छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट पहिलो चरणमा तीन अर्ब ऋण लिने अर्थ मन्त्रालयको योजना छ।

यो वर्ष सर्वसाधारणबाट दुई चरणमा लिइने ऋणको दोस्रो माग फागुनमा गरिने व्यवस्थापनको जिम्मा पाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका आन्तरिक ऋण व्यवस्थापन शाखाका प्रकाश पुडासैनी बताउँछन्।

"हामीले मङ्सिर २५ गतेसम्म दुवै बचतपत्रहरूमा आवेदन लिने सूचना निकालेका छौँ। तर त्यस अघिनै हामीले माग गरे जति ऋणपत्र बिक्री भइसक्यो भने अगाडि नै बन्द हुन्छ," उनले भने।

केही वर्ष अघिसम्म यस्तो ऋणपत्र राष्ट्र ब्याङ्क मार्फत जारी हुने गरेको थियो। पछिल्लो समय अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई यसको जिम्मा दिएको छ।

लामो समय राष्ट्र ब्याङ्कको ऋणपत्र व्यवस्थापन विभाग प्रमुख रहेर काम गरेका मीनबहादुर श्रेष्ठ यस्तो ऋणपत्रको अभ्यास विश्वभरि नै रहेको र नेपालमा पनि बजेटको चलनसँगै सुरु भएको बताउँछन्।

"बरु पछिल्लो क्रममा ऋण लिने रकमको परिमाण बढिरहेको छ," उनले भने।

व्यक्तिले घरमा कति रकम राख्न पाउँछ? नेताका घरमा आगजनी हुँदा 'जलेका नोट'बारे अनुसन्धानसँगै उत्पन्न चासो

एक रुपैयाँको सिक्का छाप्न अढाई रुपैयाँ खर्च, कुन नोट छाप्न कति लाग्छ?

सरकारसँग पैसा सकिएर ऋण लिन लागिएको हो?

सरकारसँग पैसा नभएर सर्वसाधारणसँग उसले ऋण लिन लागेको भने होइन। सरकारले हरेक वर्ष बजेटमा वैदेशिक र आन्तरिक लिएर आफ्नो खर्च जुटाउने आकलन गर्छ।

"सरकारले प्रत्येक वर्ष आन्तरिक स्रोतबाट कति ऋण लिने भन्ने संसद्ले स्वीकृत गरेको हुन्छ। यो वर्ष ३६२ अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाउँछौँ। त्यसका लागि सरकारले विभिन्न ऋणपत्र जारी गर्छ। त्यो मध्ये व्यक्तिगत लगानीकर्तालाई अवसर दिन ५ अर्ब जति नागरिक र वैदेशिक रोजगार बचतपत्रबाट उठाउँछौँ," सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव पुडासैनीले भने।

सरकारले आन्तरिक ऋण उठाउन ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जस्ता ऋणपत्रहरू जारी गर्ने गरेको छ।

जनताबाट ऋण लिएको पैसा केमा खर्च हुन्छ?

बचतपत्र मार्फत सर्वसाधारणबाट लिइएको ऋण सरकारले विकास निर्माणका काममै खर्च गर्ने दाबी सरकारी अधिकारीहरू गर्छन्।

उपसचिव पुडासैनी यस्तो रकम चाहिँ सरकारले बजेटले तोकेका काममा र अधिकांश रकम विकास निर्माणका काममा खर्च हुने गरेको बताउँछन्।

"सरकारले लिएको ऋण रकम चाहिँ अधिकांश पुँजीगत काममा खर्च गरेको देखिन्छ," उनले भने।

तर नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ पछिल्लो समय सरकारले अन्य काममा पनि यस्तो रकम खर्च गर्न थालेको बताउँछन्।

"सरकारले लिएको ऋण ठ्याक्कै यही काममा खर्च भयो भनेर सबै हेर्न सकिने अवस्था छैन। तर अहिले सरकारले आम्दानी र खर्चबीचको खाडल पूर्ति गर्न खर्च गरिँदै आएको भन्ने गरेको छ," उनले भने।

नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्

नेपाल 'ऋणको पासो'मा फस्ने चिन्ता, अहिले प्रत्येक नागरिकको थाप्लोमा रु ९१ हजार ऋण

बचतपत्रको कारोबार कसरी हुन्छ?

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले जारी गर्ने बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।

नेपाल सरकारले आवश्यकताअनुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ।

अहिले माग गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे हुन्।

यो ऋण सरकारले २०८७ सालसम्म तिरिसक्नु पर्छ।

सरकारलाई बचतपत्र खरिद गरेर ऋण दिन चाहनेहरूले घटीमा दश हजार लगानी गर्नुपर्ने भनिएको छ।

यस्तो बचतपत्र अनलाइनबाट खरिद गर्न सकिने र धितोपत्र बजार जसरीनै जुनसुकै समयमा अनलाइनबाट बिक्री पनि गर्न सकिने जानकारहरू बताउँछन्।

"यो एक किसिमको धितोपत्र नै हो। यदि कुनै पनि लगानीकर्ताले बीचमै बेच्न चाहनुभयो भने दोस्रो बजारमा कारोबार गर्न सक्नुहुन्छ। बजार निर्माताकहाँ गएर सजिलै किनबेच गर्न सकिन्छ," पुडासैनी भन्छन्।

"बिक्री गर्दा यसको खरिदका लागि गरिएको मूल्य तलमाथि हुँदैन। बिक्री अघिको ब्याज पनि पाइन्छ। शेअर बजारमा जस्तो मूल्य तलमाथि हुँदैन। बजार निर्मातालाई निश्चित कमिसन मात्रै तिरे पुग्छ।"

ब्याङ्कको भन्दा धेरै ब्याज

नागरिक बचतपत्रमा लगानीकर्ताले ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत ब्याज पाउँछन्।

यसको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको ब्याङ्कक खातामा भुक्तानी हुने र त्यसमा आयकर लाग्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

"नागरिकहरूले पनि बचत गर्न प्रोत्साहन होस् भनेर नागरिक बचतपत्रमा विकास ऋणपत्रमा भन्दा एक/डेढ प्रतिशत नै ब्याजदर बढी हुन्छ," नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्।

उनका अनुसार सरकारी बचतपत्र विश्वसनीय हुने भएका करण पनि सामान्यतया मानिसहरूले लगानी गरेका छन्।

अहिले ब्याङ्कहरूले औसतमा अधिकतम ५.०४ प्रतिशत ब्याज दिइरहेका छन्। नागरिक बचतपत्रले दिने ब्याजदर अहिले ब्याङ्कले दिने भन्दा धेरै रहेकाले पनि यसमा मानिसहरूको आकर्षण हुने गरेको उनको भनाई छ।

"अहिले फिक्स डिपोजिटमा पनि यति ब्याज पाइँदैन। सरकारी ऋणपत्र विश्वसनीय भएकोले र मान्छेहरूसित अहिले हातमा धेरै रकम रहेकोले पनि यसको माग धेरै भएको हो। यो मान्छेहरूको हातमा धेरै पैसा छ भन्ने सङ्केत पनि हो," श्रेष्ठ भन्छन्।

नेपाल अर्थतन्त्र: शङ्कास्पद कारोबार तथा गतिविधि बढ्दो, कारण के?

नेपालमा ठूला दरका नोट बन्द गर्नुपर्ने माग 'स्टन्ट' कि आवश्यकता?

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विगतका वर्षहरूको तुलनामा यो वर्ष सरकारले दिन लागेको ब्याजदर निकै कम हो।

"हामीले मौजुदा ब्याजदर र तरलताको अवस्था विचार गरेर ब्याजदर निर्धारण गर्छौँ। यो चाहिँ हालसम्मकै नागरिक बचतपत्रको न्यूनतम तहकै ब्याजदरमध्येको हो," उनले भने।

उनका अनुसार यसअघि निष्कासन गरिएको नागरिक बचतपत्रको ब्याजदर सात प्रतिशत थियो।

नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक श्रेष्ठ बजारको अवस्था हेरेर सरकारले जारी गर्ने बचतपत्रमा विगतमा ११ प्रतिशतसम्म ब्याजदर दिइएको बताउँछन्।

वैदेशिक रोजगारीमा भएकाहरूको आवेदन न्यून

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०७५ साल बाहेक अधिकांश आर्थिक वर्षहरूमा मानिसहरूले सरकारले चाहे जतिनै ऋण दिइरहेका छन्।

सर्वसाधारणका लागि बिक्री गरिने नागरिक बचतपत्र पछिल्ला वर्षहरूमा शतप्रतिशत जस्तो बिक्री भइरहेको पुडासैनी बताउँछन्।

तर उनका अनुसार वैदेशिक रोजगार बचतपत्र चाहिँ निकै न्यून मात्रै बिक्री भइरहेको छ।

"अघिल्लो वर्ष नागरिक बचतपत्र हाम्रो मागजति नै प्राप्त भए पनि वैदेशिक रोजगार बचतपत्रको माग अत्यन्तै न्यून परेको छ," पुडासैनी भन्छन्।

वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिनका लागि लगानीकर्ता विदेशमा रहेको हुनुपर्ने र आम्दानीको स्रोत पनि विदेशमै रहेको हुनुपर्ने व्यवस्था छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.