नेपाल निर्वाचन: समानुपातिकमा पनि रास्वपाको बलियो प्रारम्भिक लहर, दुई लाख मत गन्दा ५० प्रतिशतभन्दा धेरै पोल्टामा
देशभरि प्रत्यक्षतर्फको मतगणनामा अग्रपङ्तिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फको प्रारम्भिक मतगणनामा पनि अन्य दलको दाँजोमा निकै अगाडि देखिन्छ।
निर्वाचन आयोगले दिउँसो साढे २ बजेसम्म राखेको विवरणमा समानुपातिक तर्फ करिब साढे २ लाख मत गनिसक्दा रास्वपाले झन्डै १ लाख ३२ हजार मत पाइसकेको देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३९ हजारभन्दा धेरै अनि तीन प्रतिशत कटाउनेहरूमा त्यसपछि क्रमश: नेकपा एमालेले २९ हजारभन्दा धेरै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ हजार, र नेपाली कम्युनिस्ट पार्टीले १० हजार भन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले साढे ६ हजारभन्दा बढी मत ल्याएको देखिन्छ जुन तीन प्रतिशतको विन्दुभन्दा थोरै कम छ।
कुल १ करोड ८९ लाख मतदाता रहेकोमा देशभरि ५८.०७ प्रतिशत मत खसेको आयोगले हिसाब निकालेको छ। त्यो भनेको करिब १ करोड १० लाख हुन आउँछ।
त्यति सबै मत सोमवारसम्म गनिसिध्याउने आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका थिए।
शनिवार बीबीसीसँग कुरा गर्दै आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जुन जुन ठाउँमा प्रत्यक्षको मतगणना सकिएका छन् त्यहाँ त्यहाँ समानुपातिकतर्फको मतगणना धमाधम भइरहेको बताए।
"केही दिनभित्र सबै मतपरिणाम दिने लक्ष्य छ। ठ्याक्कै कहिलेसम्म मतपरिणाम आइसक्छ भनेर अहिले यसै भन्न सकिँदैन," उनले बताए।
रवि लामिछाने विजयी, बालेन अगाडि, केपी ओली र गगन पछाडि : हालसम्म घोषित मतगणना परिणामले देखाएको दृश्य
'रास्वपाप्रति मतपेटिकाबाट प्रकट मोहसँग जोडिएका ती घुम्तीहरू'
दुई तिहाइ नजिक
कुल २७५ सिट रहेको प्रतिनिधिसभाको १६५ प्रत्यक्ष सिटमध्ये हाल १६१ क्षेत्रमा मतगणना भइरहेको आयोगले जनाएको छ।
तीमध्ये दिउँसो साढे २ बजेसम्म रास्वापाले ४१ मा जित अनि ७९ मा अग्रता कायम गरेको छ। त्यो भनेको ७४ प्रतिशत वा लगभग तीन चौथाइ हुन आउँछ।
समानुपातिकमा चाहिँ उसले साढे दुई लाख मत गनिसक्दा ५४ प्रतिशत जति मत ल्याएको छ। दुई तिहाइ बहुमत ल्याउन १८४ सिट आवश्यक पर्छ।
अर्को ४ स्थानका लागि मतगणना सुरु हुनै बाँकी छ।
कुन-कुन दल बन्छन् राष्ट्रिय दल?
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ ले राष्ट्रिय दलको मान्यता पाउन दुईवटा स्पष्ट शर्त तोकेको छ।
"प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कम्तीमा १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता पाउने छ," सो दफामा उल्लेख छ।
यसपालिको निर्वाचनमा खसेको करिब १ करोड १० लाख मतमध्ये बदर भएका मत घटाएर हुन आउने तीन प्रतिशत कटाउन करिब ३ लाख मत देशभरिबाट पाउने र प्रत्यक्षमा कम्तीमा १ सिट जित्ने दलमात्र राष्ट्रिय मान्यता प्राप्त हुने छन्।
"यसपालि कति बदर भए भनेर हिसाब निकालिसकेका छैनौँ। विगतमा त्यही ५/६ प्रतिशत बदर हुने गर्थे," सहायक प्रवक्ता जीसीले बताए।
अहिलेको सङ्केत हेर्दा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ सिटहरू जितिसकेका छन् भने श्रम संस्कृति पार्टी तथा राप्रपाले केही सिटमा अग्रता लिएका छन्।
समानुपातिकको प्रारम्भिक हिसाबमा पनि माथि उल्लिखित ६ दलहरू तीन प्रतिशत कटाउने लाइनमा देखिन्छन्।
तीन प्रतिशत कटाउन नसक्ने दलहरूको मत अरूलाई बाँडिने नियम छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (११) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने उल्लेख छ।
साथै कुल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन पनि भनिएको छ।
"तीन प्रतिशतको थ्रेस्होल्ड कटाउने सबै दलले समानुपातिकमा सिट पाउँछन्। त्योभन्दा कम ल्याउनेहरूलाई यो प्रणालीबाट सिट पाउने हिसाबमै राखिँदैन," सहायक प्रवक्ता जीसीले बताए।
तीन प्रतिशतको 'थ्रेस्होल्ड' तथा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको शर्त पूरा गर्ने दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्छन् र उनीहरूले अर्को निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउँछन्।
संसद् सचिवालयको विगतको अभ्यासअनुसार राष्ट्रिय मान्यता प्राप्त नगरे पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराइएका छन्।
कुन-कुन दलले समानुपातिकमा तीन प्रतिशत कटाउँछन्? राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ?
रास्वपाको पक्षमा देखिएको लहरबारे अरू दल के भन्छन्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: