आफूमाथि प्रहार नगरिए छिमेकमा आक्रमण नगर्ने इरानका राष्ट्रपतिको भनाइ

आफूमाथि प्रहार नगरिए छिमेकमा आक्रमण नगर्ने इरानका राष्ट्रपतिको भनाइ

bbc.com . १ घण्टा अघि

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशविरुद्ध छिमेकी भूमिबाट प्रहार रोकिने हो भने इरानले छिमेकीहरूलाई आक्रमण नगर्ने बताएका छन्।

गत साता छिमेकी देशहरूमा गरिएका आक्रमणप्रति उनले माफी पनि मागेका छन्।

"आक्रमणमा परेका छिमेकी देशहरूसँग माफी माग्न आवश्यक भएको म ठान्छु," राष्ट्रपति पेजेस्कियानले भने।

"हामी छिमेकी देशहरूमा अतिक्रमण गर्न चाहन्नौँ," उनले शान्ति स्थापना गर्न क्षेत्रीय सहयोगको आह्वान गरे।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति पेजेस्कियानले इरानले प्रतिरोध गर्ने भन्दै 'इरानी जनतालाई घुँडा टेकाउने दुस्मनको इच्छा पूरा नहुने' बताए।

आफ्ना सशस्त्र फौजलाई नेतृत्वले "आइन्दा पहिले प्रहार नभएको खण्डमा छिमेकी देशहरूलाई आक्रमण नगर्न" आदेश दिइएको उनले बताए।

"यो घडीको दुरुपयोग गरेर इरानमाथि आक्रमण गर्नेबारे सोचिरहेकाहरू साम्राज्यवादको कठपुतली बन्न हुँदैन," उनले भने।

इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ

मध्यपूर्वमा जारी तनावबीच नेपालीहरूको पछिल्लो अवस्था के छ

छरछिमेकमा जारी छ हमला

राष्ट्रपति पेजेस्कियानले बोल्नुभन्दा केही समय अगाडि साउदी अरेबियाको रक्षा मन्त्रालयले अमेरिकी सैनिकहरू रहेको एउटा हवाई अखडालक्षित एक इरानी क्षेप्यास्त्रको प्रतिरोध गरिएको जनाएको छ।

दुबई र बाहरेनमा पनि विस्फोटनहरू भएका विवरण आएका थिए।

संयुक्त अरब इमिरेट्सले शनिवार बिहान त्यहाँ आक्रमण भएको जनाएको छ।दुबई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएका विवरणहरूलाई त्यहाँको सरकारी सञ्चार कार्यालयले अस्वीकार गरेको छ।

दुबईमा आजबाट उडानहरूको आवतजावत सुरु भएका भन्ने बारे भिन्न भिन्न विवरण आएका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले केही समयअगाडि उडानहरू आंशिक सुरु भएको जनाएको थियो।

कतारको रक्षा मन्त्रालयले उसको सेनाले एक क्षेप्यास्त्र हमलाको प्रतिरोध गरेको बताएको छ।

'लगातार दोस्रो कहालीलाग्दो रात'

इजरेलको भारी बमबारीका माझ इरानका राजधानी तेहरानमा मानिसहरूले बीबीसीसँग कुरा गर्दै उनीहरूले लगातार दोस्रो कहालीलाग्दो रात बेहोरेका छन्।

"म राति दुई बजे विस्फोटनका आवाज सुनेर बिउँझिएँ। यो लगातार दोस्रो कहालीलाग्दो रात थियो," ४० वर्ष हाराहारी उमेरकी तेहरानकी एक महिलाले बताइन्।

इन्टरनेट अवरोधका कारण इरानभित्र सम्पर्क गर्न निकै गाह्रो छ तापनि कतिपयले केही समय इन्टरनेट चलाइरहेका छन्।

स्थानीय समय करिब ४ बजे बिहान तेहरानका २० वर्षीय एकजना युवकले भने, "म अझै सुत्न सकेको छैन। आज राति तिनले तेहरानमा व्यापक बमबारी गरे।"

इरानको सरकारी टेलिभिजनले देशकै सबभन्दा व्यस्त मेहराबाद विमानस्थलमा ठूला विस्फोटन भएका जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार टार्मकमा विमानहरू जलिरहेका छन् तथा टर्मिनलमाथि बाक्लो धुवाँ देखिन्छ।

इजरेलले इरानी सत्ताका पूर्वाधारहरूमा निसाना साधिएको बताएको छ।

इरानी रेड क्रेसन्टले हालसम्म १३ सयभन्दा धेरै मानिस मारिएको बताएको छ। शनिवार इजरेली सेनाले तेहरान तथा इस्फाहानमा ताजा हमला थालिएको जनाएको थियो।

यसबीच जेरुसलेम र तेल अभिभमा हवाई हमला भएका साइरनहरू बजेका छन्। इरानले त्यहाँ प्रहार गरेका अधिकांश क्षेप्यास्त्र तथा ड्रोन खसालिएका बताइएको छ।

अमेरिका के भन्छ?

ट्रम्प प्रशासनले इरानमा उसले ४ देखि ६ हप्ताभित्र उसले 'हासिल गर्नसक्ने' उद्देश्यहरू प्राप्त भइसक्ने बताएको छ।

इरानको हवाई क्षेत्र नियन्त्रण गर्ने दिशामा इजरेली तथा अमेरिकी फौज निरन्तर अघि बढिरहेको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध रोक्ने एकमात्र उपाय भनेको तेहरानको 'नि:शर्त आत्मसमर्पण' भनेका छन्।

त्यसको अर्थ उनले खुलाएका छैनन्।

डोनल्ड ट्रम्पले इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई तथा दर्जनौँ अन्य धर्मगुरु तथा सैन्य कमान्डरहरू मारिएश्चात् अब कसले शासन चलाउँछ भनेर आफूले चुन्न चाहेको समेत बताए।

यसबीच उनले अमेरिकी शस्त्र निर्माता कम्पनीहरूले अत्याधुनिक शस्त्रको उत्पादनलाई चार दोबरले बढाउन सहमति जनाएको बताएका छन्।

इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान

लीज डूसेट: एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.