युद्ध अन्त्य गराउने अनि युक्रेन-रुस शान्ति सहमति गराउने प्रयासमा संलग्न वार्ताकारहरू को हुन्

युद्ध अन्त्य गराउने अनि युक्रेन-रुस शान्ति सहमति गराउने प्रयासमा संलग्न वार्ताकारहरू को हुन्

bbc.com . ४७ मिनेट अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजलाई देशको पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन चेतावनी दिएका छन्।

युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता अस्वीकार गर्दै पुटिनले युक्रेन फिर्ता नभए उक्त क्षेत्र रुसले कब्जामा लिने बताएका छन्।

"कि हामीले यो क्षेत्रलाई बल प्रयोग गरेर स्वतन्त्र बनाउँछौँ कि युक्रेनी फौजले यो भूभाग छोड्नु पर्छ," उनले इन्डिया टूडेसँग भनेका छन्।

डोनबासको ८५ प्रतिशत भूभाग मस्कोले नियन्त्रण गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको भूभाग टुक्र्याउन अस्वीकार गर्दै आएका छन्।

रुसले युरोपसँग युद्ध नचाहने तर 'लड्न तयार' रहेको पुटिनको भनाइ

रुसद्वारा युक्रेनी सहर 'कब्जा', शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी दूत मस्को जाँदै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी शान्ति योजनामा छलफल गरिरहेका वार्ताकारहरूले मङ्गलवार मस्कोमा भएको वार्तापछि रुसी नेताले "युद्ध अन्त्य गर्न चाहेको" विश्वास गरेको बताएका थिए।

मस्को पुगेका ट्रम्पका विशेष दूत स्टीभ विट्कफले फ्लोरिडा फर्किएर पुनः युक्रेनी टोलीसँग भेट गर्दै छन्।

अमेरिकी वार्ताकारहरूको मस्को यात्रा युक्रेन युद्ध अन्त्य गर्ने सहमति जुटाउने प्रयासमा विगत दुई सातादेखि भइरहेका तीव्र गतिविधिअन्तर्गत पर्छ।

दुई साताअघि अमेरिकाले किएभलाई २८ वटा बुँदा भएको शान्ति योजना दिएको थियो। तर उक्त योजना मस्कोको पक्षमा देखिएको भन्दै युक्रेन र उसका युरोपेली सहयोगी देशहरूले सहमति जनाएनन्।

त्यसयता अमेरिका र युक्रेनबीच जिनिभा र फ्लोरिडामा वार्ताहरू भए।

यो वार्तामा संलग्न मुख्य वार्ताकारहरू कोको हुन् त?

अमेरिका : ड्यान ड्रिस्कोल

हाल ३९ वर्षका ड्रिस्कोल अमेरिकाका सबैभन्दा कान्छा सैन्य मामिलामन्त्री हुन्। उनी अमेरिकी उपराष्ट्रपति जेडी भान्सका सहपाठी र नजिकका सहयोगी पनि हुन्।

गत महिना अमेरिकी शान्ति योजनाको प्रस्ताव बाहिरिएलगत्तै अमेरिकाले युक्रेनको राजधानी किएभमा पठाएको प्रतिनिधिमण्डलमा उनीअप्रत्याशित रूपमा सहभागी भए। त्यसयता उनी वार्ताकारहरूमध्ये केन्द्रीय भूमिकामा देखा परेका छन्।

ड्रिस्कोललाई भविष्यको रक्षामन्त्रीका रूपमा पनि हेर्ने गरिएको छ। उनलाई दोस्रो पटक सैन्य मन्त्री नियुक्त गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पले "परिवर्तनका संवाहक र हस्तक्षेपकारी भूमिकामा काम गर्न उनीसँग अनुभवको शक्तिशाली संयोजन रहेको" भन्दै प्रशंसा गरेका थिए।

अमेरिका : स्टीभ विट्कफ

घरजग्गा व्यवसायी स्टीभ विट्कफ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका गल्फ खेल्ने साथी हुन्।

सुरुमा मध्यपूर्वका लागि ट्रम्पका विशेषदूतका रूपमा नियुक्त भएका विट्कफ रुससँग अमेरिकी वार्तामा पनि मुख्य भूमिकामा छन्।

युद्ध अन्त्यका लागि मस्कोका मागहरूलाई प्राथमिकता दिएको भन्दै उनको आलोचना पनि भएको छ। उनी यही वर्ष कैयौँ पटक रुसी राजधानी मस्को पुगे। तर एक पटक पनि किएभ गएका छैनन्।

अहिले उनी पुटिनसँग भेटका लागि छैटौँ पटक रुस पुगेका थिए।

अमेरिका : मार्को रुबिओ

अमेरिकी विदेशमन्त्री मार्को रुबिओ देशका सबैभन्दा शीर्षस्थ कूटनीतिक नेता हुन्। उनले जिनिभाको वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए र त्यहीँ युक्रेन शान्ति योजनाको ताजा संस्करण परिमार्जन गरिएको थियो।

ट्रम्प प्रशासनमा रहेका व्यक्तिहरूमध्ये रुसप्रति सबैभन्दा धेरै आलोचनात्मक धारणा राख्ने व्यक्तिमा उनी पर्छन्।

फ्लोरिडामा भएको शान्तिवार्तापछि सप्ताहान्तमा उनले पछिल्लो कूटनीति "युद्ध अन्त्य गर्ने सर्तहरूमा मात्रै सीमित नरहेको" बताएका थिए।

"यो युक्रेनको दीर्घकालीन समृद्धिसँग पनि सम्बन्धित छ... मलाई के लाग्छ भने हामीले आज त्यो काम गर्‍यौँ भने पनि धेरै काम गर्न अझै बाँकी नै रहन्छ।"

अमेरिका : ज्यारड कुश्नर

ज्यारड कुश्नर राष्ट्रपति ट्रम्पका ज्वाइँ हुन्। उनी ट्रम्पको पहिलो कार्यकालमा वरिष्ठ सल्लाहकार थिए र ट्रम्पको टोलीका प्रमुख व्यक्तिहरूमध्ये एक थिए।

उनी आफ्नो अन्तर्राष्ट्रिय व्यापारका लागि सम्झौता र सम्पत्ति विकासका कारण चिनिएका व्यक्ति हुन्।

यो पटक राष्ट्रपति ट्रम्पको प्रशासनमा उनको आधिकारिक पद छैन। तर उनले ट्रम्पको दोस्रो कार्यकालमा पनि ह्वाइट हाउसका लागि कूटनीतिक वार्ताहरूमा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन्।

उनि अहिले युक्रेनको शान्ति वार्तामा संलग्न देखिएका हुन्।

युक्रेन : एन्ड्री यर्माक

भ्रष्टाचारको आशङ्कामा आफ्नो घरमा छापा मारिएपछि पदबाट राजीनामा दिनुअघि युक्रेनका प्रमुख वार्ताकारको भूमिकामा एन्ड्री यर्माक थिए। उनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लामो समय देखिका 'चीफ अफ स्टाफ' थिए।

चीफ अफ स्टाफका रूपमा यमार्क निकै शक्तिशाली थिए। जेलेन्स्कीले उनलाई महत्त्वपूर्ण वार्ताहरूका लागि वार्ताकार नियुक्त गरेका थिए।

उनको राजनीतिक यात्रा गत साता अचानक अन्त्य भयो। भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अनुसन्धान अधिकारीहरूले किएभको उनको घरमा छापा मारेको केही घण्टामै उनले राजीनामा घोषणा गरे।

युक्रेन : रुस्टेन उमेरोभ

रुस्टेन उमेरोभ युक्रेनको न्याश्नल सेक्युरिटी काउन्सिलका प्रमुख हुन्। उनले गएको सप्ताहान्तमा फ्लोरिडामा भएको वार्तामा यमार्कको साटो सहभागी भएका थिए।

उनी भर्खर युद्ध सुरु भएको बेला पनि शान्तिवार्तामा संलग्न थिए। उनी पछि युक्रेनको रक्षामन्त्री बने। उनी गत जुलाईसम्म उक्त पदमा थिए।

बीबीसीका युक्रेन संवाददाता जेम्स वाटरहाउस यमार्कको ठाउँमा उमेरोभको नियुक्ति परिणाम निकाल्न युक्रेनको पहल हो वा अरू नै केही उद्देश्यले हो भन्ने स्पष्ट नभएको बताउँछन्।

रुस : किरिल दिमित्रिएफ

अमेरिकामा ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि किरिल दिमित्रिएफले अमेरिका-रुस कूटनीतिक पहलमा मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन्।

उनी यसअघि अमेरिकामै बसेका र त्यहाँ काम गरेका व्यक्ति हुन्। उनी अन्तर्राष्ट्रिय कूटनीति र सैन्य मामिलामा भन्दा व्यापारिक सम्झौतामा बढी अनुभवी छन्।

पुटिनको भ्रमण दलका अन्य सदस्यभन्दा दिमित्रिएफ अमेरिकी टेलिभिजन स्टुडिओमा बढी देखा पर्छन्। उनी ट्रम्पको कूटनीतिक क्षमताको सावधानीपूर्वक प्रशंसा गर्छन् र पश्चिमा दर्शकहरूलाई रुसी सरकारको धारणाबारे पश्चिमाकै भाषामा बुझ्ने गरी प्रस्तुत गर्न सक्षम छन्।

गत महिना बाहिरिएको पछिल्लो शान्ति योजनाको मस्यौदा दिमित्रिएफ र विट्कफले मियामीमा तीन दिन बसेर तयार गरेको विवरण आएको छ।

रुस : यूरी यूशकोफ

यूरी यूशकोफ सन् २०१२ देखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सल्लाह दिँदै आएका व्यक्ति हुन्। उनी सन् १९९८ देखि २००८ सम्म अमेरिकाका लागि रुसका राजदूत थिए।

ब्लूम्बर्ग न्यूजले सार्वजनिक गरेको यूशकोफ र विट्कफबीचको भनिएको टेलिफोन कुराकानीमा उनी वार्ता अघि बढाउन ट्रम्प र पुटिनबीच कुरा गराउन आतुर देखिन्छन्।

गत साता मस्कोमा उनले युरोपेली योजनाको आलोचना गर्दै भनेका थिए "प्रथम दृष्टिमै युरोपेली योजना ... पूर्णतः रचनात्मक नरहेको र हाम्रो लागि अनुपयुक्त छ।"

रुस : भ्लादिमिर मदिन्स्की

भ्लादिमिर मदिन्स्की राष्ट्रपति पुटिनका मुख्य सहयोगीमध्ये एक हुन्।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्णस्तरको आक्रमण गरेदेखि नै उनी रुसी वार्ताकारमध्ये महत्त्वपूर्ण सदस्यका रूपमा छन्।

उनी पहिला संस्कृतिमन्त्री थिए। उनलाई कट्टरपन्थी नेता मानिन्छ। उनले युद्धको औचित्य पुष्टि गर्ने रुसको नयाँ पाठ्यक्रम लेखनमा पनि सहयोग गरेका थिए।

उनको जन्म चाहिँ मध्ययुक्रेनको स्मिला सहरमा भएको थियो।

तेल, रक्षा र भूराजनीति : पुटिनको भारत भ्रमण

युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले पुटिनलाई यसकारण मनाइरहेका छैनन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.