समानुपातिक उम्मेदवार अब कहिले र कसरी निर्वाचित हुन्छन्?
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतगणना सकिएसँगै दलहरूले पाएको मतका आधारमा सीट बाँडफाँट गरिने बताएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले देशका १६५ निर्वाचन क्षेत्रमै समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने मतको गणना सकिएको बीबीसी न्यूज नेपालीलाई बताए।
"समानुपातिक मतगणना सम्पन्न भएको भन्ने जानकारी आएको छ," उनले भने। "सम्बन्धित निर्वाचन क्षेत्रमा मतगणना सकिए पनि तथ्याङ्क सूची इन्ट्री गर्न बाँकी भएजस्तो देखिन्छ। केही हजार मतहरू थपिँदै गएको छ र अझै अन्तिम भइसकेको छैन।"
प्रधानमन्त्री नियुक्तिका दुइटा बाटा, यस्तो छ मतगणना सकिएपछि नयाँ सरकार बन्ने प्रक्रिया
सबै क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सकियो, 'सङ्ख्या अद्यावधिक' गर्दै निर्वाचन आयोग
उनका अनुसार यस प्रणालीतर्फ गणना भएका सबै मत आयोगको प्रणालीमा पेस गर्ने काम मतगणना सकिएका भएका निर्वाचन क्षेत्रबाट भइरहेको छ।
कहिले टुङ्गो लाग्छ सीट?
निर्वाचन आयोगले समानुपातिकतर्फ तीन प्रतिशतको न्यूनतम सीमा अर्थात् ' थ्रेश्होल्ड' कटाउने दलहरूलाई बिहीवारसम्म सीट बाँडफाँट गरिसक्ने योजना रहेको बताएको छ।
समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा बाँडफाँट हुने ११० वटा सीटको टुङ्गो भोलि नै लगाउने तयारी भइरहेको जीसीले बताए।
"त्यसपछि कानुनमा तीन दिनभित्र नाम पेस गर्ने गरी दलहरूलाई पत्राचार गर्ने भन्ने व्यवस्था छ। छिटो गरेर एकदुई दिन पनि हुन सक्छ।"
उनका अनुसार आयोगले समानुपातिक प्रणालीतर्फ तीन प्रतिशत मत कटाउने दलहरूलाई सीट बाँडफाँटका लागि पत्राचार गर्छ।
"सेन्ट लक मेथडबाट सीट बाँडफाँट गरेर दलहरूलाई निर्वाचन कानुन र समानुपातिक निर्वाचन निर्देशिकाबमोजिम समावेशी क्लस्टरअनुसार उम्मेदवार छनौटको सिफारिस माग गरिन्छ," सहायक प्रवक्ता जिसी भन्छन्।
निर्वाचित हुने उम्मेदवारको टुङ्गो कसरी लाग्छ
समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ वटा राजनीतिक दलले ५७ वटा निर्वाचन चिह्न लिएर भाग लिएका छन्। त्यसमध्ये अधिकांश दलहरूले ११० जना उम्मेदवारहरूको बन्दसूची मतदानअघि नै आयोगमा बुझाएका थिए।
आयोगका अनुसार कुल ३,१३५ जना उम्मेदवारहरूको अन्तिम बन्दसूची आयोगमा पेस गरिएको छ। यही बन्दसूचीका आधारमा आयोगले समावेशी प्रतिनिधित्व हुने गरी हरेक दलले बुझाएका उम्मेदवारहरूको बन्दसूचीबाट निर्वाचित हुने सांसदहरूको नाम पठाउन दलहरूलाई तीन दिनको समय दिने तयारी गरेको छ।
आयोगका अनुसार दलहरूले गरेको सिफारिस पुनः आयोगले जाँच गरेर रुजु गर्छ। यदि दलको छनौट समावेशी प्रतिनिधित्वअनुसारको नभएको अवस्थामा आयोगले पुनः दलहरूलाई सच्याउन समय दिने अधिकारीहरूले बताएका छन्।
"पुनरवलोकनका लागि पुनः माग गरे दुई दिनभित्र सक्ने भन्ने छ। त्यसकारण पाँचदेखि सात दिन लाग्ने देखिन्छ," आयोगका सहायक प्रवक्ता जीसीले समानुपातिक सांसदहरूको अन्तिम टुङ्गो लगाउन लाग्ने अनुमानित समयबारे भने।
कुन पार्टीलाई कति समानुपातिक सीट? यसरी हुन्छ छिनोफानो
जनप्रतिनिधि रिक्त भएका स्थानीय तहमा उपचुनाव हुन्छ कि हुँदैन?
उनका अनुसार पुनरवलोकनपछि आयोगले निर्वाचित उम्मेदवारहरूको नाम आफ्नो वेबसाइटमा प्रकाशित गर्छ।
"त्यसरी अन्तिम भएका उम्मेदवारहरूलाई मात्रै आयोगले निर्वाचित भएको घोषणा गरेर प्रमाणपत्र दिन्छ," जीसीले भने।
निर्वाचन आयोगले चैत्र ५ गतेभित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना बनाएको छ।
अपराह्न ५ बजेसम्मको विवरणअनुसार समानुपातिक प्रणालीतर्फ १ करोड ८ लाख मत आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ।
समावेशिता कसरी सुनिश्चित गरिन्छ?
समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार दलहरूले बन्दसूचीमा बुझाएका उम्मेदवारहरूमध्येबाट जनसङ्ख्याको अनुपातमा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदहरू छान्नुपर्छ।
कानुनले दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिमको जनसङ्ख्या प्रतिशत निर्धारण गरेको छ।
जसअनुसार निम्न अनुपातमा समानुपातिकहरू सांसदहरू चुनिनुपर्छ -
दलित- १३.४४ प्रतिशत
आदिवासी जनजाति- २८.७२ प्रतिशत
खस आर्य- ३०.२८ प्रतिशत
मधेशी- १६.१५ प्रतिशत
थारू- ६.५२ प्रतिशत
मुस्लिम- ४.८९ प्रतिशत
कानुनले राष्ट्रिय सभामा समेत जोडेर दलहरूबाट निर्वाचित हुने सांसदको कुल ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उल्लेख गरेको छ।
त्यसका अतिरिक्त पिछडिएको क्षेत्रबाट ४ प्रतिशत सांसदहरू समावेश गर्नुपर्ने नियम छ।
समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने कुल सांसदको १० प्रतिशत वा ११ वटा वा त्यसभन्दा कम सीट जितेको दलका हकमा भने समावेशितासम्बन्धी नियम केही खुकुलो छ।
'चलाउने होइन, दापभित्र राख्ने खुकुरी': संविधान संशोधन गर्न रास्वपालाई कस्तो अवसर
रास्वपाको पक्षमा देखिएको लहरबारे अरू दल के भन्छन्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: