एपस्टीन फाइल सार्वजनिक गर्ने पक्षमा अमेरिकी संसद्‌मा अत्यधिक बहुमत

एपस्टीन फाइल सार्वजनिक गर्ने पक्षमा अमेरिकी संसद्‌मा अत्यधिक बहुमत

bbc.com . १ घण्टा अघि

अमेरिकी संसद्को दुवै सदनले न्याय मन्त्रालयलाई यौनअपराधी जेफ्री एपस्टीनसम्बन्धी उसका दस्तावेज सार्वजनिक गर्न आदेश दिएका छन्।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा सो फाइल सार्वजनिक गर्ने पक्षमा ४२७ अनि विपक्षमा केवल १ भोट परेको थियो। माथिल्लो सदन सिनेटमा मतदान नगरीकन सर्वसम्मतिले ती दस्तावेज सार्वजनिक गर्ने आदेश भयो।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही दिन अगाडिमात्र उनको पुरानो अडान त्यागेर संसद्लाई ती विवरण सार्वजनिक गर्ने पक्षमा मतदान गर्न आह्वान गरेका थिए।

उनकै धेरै समर्थकहरूले यसबारे आवाज उठाएपछि ट्रम्पले उक्त आह्वान गरेका थिए।

गत साता एपस्टीन फेरि समाचारमा छाएका थिए जब २० हजार पृष्ठका विभिन्न दस्तावेज बाहिर आयो जसमा केहीमा राष्ट्रपतिको नाम पनि उल्लेख भएको पाइयो।

ह्वाइट हाउसले कुनै गल्ती नभएको प्रतिक्रिया दिएको थियो।

गाजामा शान्तिबारे ट्रम्पको योजनालाई राष्ट्रसङ्घ सुरक्षा परिषद्को समर्थन

बीबीसीद्वारा ट्रम्पसँग क्षमायाचना, क्षतिपूर्ति दिन अस्वीकार

एकमात्र विरोधको स्वर

सिनेटमा सर्वसम्मति भएको थियो तर तल्लो सदनमा चाहिँ केवल एकजना सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए।

लुइजियाना राज्यका रिपब्लिकन कङ्ग्रेसम्यान क्ले हिगिन्सले ती दस्तावेज सार्वजनिक गर्दा 'निर्दोष मानिसहरू पनि प्रताडित' हुने आफ्नो चिन्ता जनाए।

विगतमा ती दस्तावेज सार्वजनिक गर्नु पर्छ भन्नेहरूको आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले 'लुकाउनु पर्ने केही छैन' भन्दै अकस्मात् आफ्नो अडान परिवर्तन गरेकोप्रति वाशिङ्टनमा कतिपय मानिसहरू छक्क परेका छन्।

विगतका हप्ताहरूमा राष्ट्रपतिको बोलीसँगै आफ्ना बोली मिलाउँदै आएका रिपब्लिकन नेताहरूपनि छक्क परेका थिए।

तल्लो सदनका सभामुख माइक जोन्सनले एपस्टीन फाइल सार्वजनिक गर्नु पर्ने मागलाई विपक्षी डेमोक्र्याटहरूको नौटङ्की भन्ने गर्थे।

तर मङ्गलवार उनले पनि ती फाइल सार्वजनिक गर्नु पर्ने पक्षमा मत दिए।

तल्लो सदनको मतदानपछि माथिल्लो सदनमा उक्त प्रस्ताव पुग्न केही दिन लाग्ने ठानिएको थियो। तर तल्लो सदनमा देखिएको अत्यधिक बहुमतका कारण त्यसलाई द्रुत गतिमा निर्णयार्थ प्रस्तुत गरियो।

सिनेटमा डेमोक्र्याटका नेता चक शुमरले सर्वसम्मतिका लागि उक्त प्रस्ताव पेश गरे। कसैले आपत्ति प्रकट नगरेपछि विना कुनै संशोधन त्यो पारित भयो।

अब सो प्रस्ताव राष्ट्रपतिको हस्ताक्षरका लागि ह्वाइट हाउस पुग्ने छ।

हुन त ती दस्तावेज सार्वजनिक गर्न संसदले नै मतदान गर्नु पर्ने थिएन – ट्रम्पकै आदेश मात्रले पनि त्यसो गर्न सकिन्थ्यो।

अब के हुन्छ?

संसद्ले पास गरेको प्रस्तावबमोजिम अब अमेरिकी महान्यायाधिवक्ता प्याम बोन्डीले एपस्टीन र उनका सहयोगी गिलेन म्याक्सवेलसँग सम्बन्धित "सबै रेकर्ड, कागजात, सञ्चार तथा अनुसन्धानात्मक सामग्री" बढीमा ३० दिनभित्र सार्वजनिक गर्नु पर्ने छ।

ती सामग्रीमा न्यायमन्त्रालयका सञ्चार कागजात, फ्लाइट लग, अनि एपस्टीनसँग जोडिएका मानिस तथा निकाय पर्छन्।

तर कुनै सक्रिय सङ्घीय अनुसन्धानलाई असर पर्ने वा कुनै पीडितको पहिचान खुल्ने खालका सूचना चाहिँ सार्वजनिक नगर्न बोन्डीलाई अधिकार हुने छ।

अमेरिकाका एक चर्चित फाइनान्सियर जेफ्री एपस्टीनलाई सन् २०१९ मा न्यूयोर्कस्थित जेलको कोठामा मृत पाइएको थियो। उनले आत्महत्या गरेको कोरोनरले ठहर्‍याएका थिए।

उनलाई यौन अपराधको मामिलामा थुनिएको थियो। सन् २००८ मै पनि नाबालिगसँगको यौन कार्यलाई लिएर उनी दोषी ठहर भइसकेका थिए।

एपस्टीनमाथि भएका दुईवटा आपराधिक अनुसन्धानमा हजारौँ कागजातहरू बटुलिएका थिए जसमा पीडित तथा प्रत्यक्षदर्शीहरूसँगका अन्तर्वार्ता थिए।

विगतमा ट्रम्प र एपस्टीनको उठबस उही समूहमा हुने गरेका थिए। तर राष्ट्रपतिले आफूले सन् २००८ भन्दा धेरै पहिलेदेखि नै एपस्टीनसँगको सङ्गत छाडिसकेको भन्दै आएका छन्। एपस्टीनका आपराधिक क्रियाकलापबारे आफू अनभिज्ञ रहेको पनि ट्रम्पले बताउँदै आएका छन्।

गत साता डेमोक्र्याटहरूले एपस्टीनसँग सम्बन्धित इमेलहरू सार्वजनिक गरेका थिए। तीमध्ये केहीमा ट्रम्पको नाम पनि उल्लेख भएपछि यो मामिला फेरि गर्माएको थियो।

एप्स्टीनलाई बाल यौन शोषण गर्न सघाएको आरोपमा पूर्वप्रेमिकामाथि अमेरिकामा मुद्दा

ब्रिटेनका राजकुमार एन्ड्रूको उपाधि खोसियो, उनका दुई छोरीको उपाधि यथावत्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.