युद्धका समयमा कसरी यात्रुवाहक विमानहरू उडिरहन्छन्
पछिल्ला १५ दिनयता इरान र खाडी क्षेत्रका आकाशमा ड्रोनहरू घुमिरहँदा एअर ट्राफिक कन्ट्रोलरहरूले युद्धरत इलाकाका साँघुरा र सुरक्षित क्षेत्रबाट यात्रुवाहक विमानहरूलाई वारपार गराइरहेका छन्।
फ्लाइट ट्रयाकर नक्सामा हेर्दा इजिप्ट र जोर्जाको आकाश कति व्यस्त छ भन्ने देखिन्छ।
एअर ट्राफिक कन्ट्रोलरहरूले नक्साका फरकफरक खण्डहरू हेरेर कुन विमान आफ्नो हवाई मार्गमा प्रवेश गर्दै छ र कुन विमान बाहिरियो भन्ने निगरानी गरिरहेका हुन्छन्।
नेपालले अघि सारेका इन्धन र समयको बचत गर्ने अन्तर्राष्ट्रिय हवाईमार्ग
विमानको आविष्कारक को? मान्छेअनुसार फरक जवाफ हुनुको कारण यस्तो
साधारण अवस्थामा एक जना कन्ट्रोलरले एक पटकमा छ वटा विमानसम्म व्यवस्थापन गर्न सक्छन्। तर युद्ध भएको समयमा एक जनाले हेर्नुपर्ने विमानको सङ्ख्या त्यसको दोबर पनि हुन सक्छ।
"हाम्रो मस्तिष्कले २० देखि ३० मिनेटभित्रको समयमा त्यो मात्रा सम्मको मात्रै एकाग्रता दिन सक्छ," अवकाशप्राप्त एअर ट्राफिक कन्ट्रोलर ब्रेन रोश सुनाउँछन्।
उनले १८ वर्ष यही पेसामा बिताएका छन्। उनले सुरुमा रोयल एअर फोर्समा विभिन्न देशमा काम गरे। त्यसपछि लन्डनमा यात्रुवाहक विमानमा काम गरे। त्यहाँ उनलाई विमानबाट आपत्कालीन सहायता माग भएको अवस्थामा काम गर्ने एकाइको जिम्मेवारी थियो।
विमानहरू धेरै हुने समयमा ठूलो सङ्ख्या व्यवस्थापनका लागि त्यति नै धेरै कन्ट्रोलरहरू काममा खटिन्छन्। उनीहरूलाई कामको चाप धेरै नहोस् भनेर उनीहरूलाई छिटोछिटो आलोपालो गराएर काममा खटाइन्छ।
एउटा शिफ्टमा ४० देखि ५० मिनेट काम गर्नु पर्छ र त्यसपछि २० देखि ३० मिनेटको विश्राम अवधि हुने रोश बताउँछन्। तर द्वन्द्वको समयमा २० देखि ३० मिनेट काम गरेपछि पुन त्यति नै समयको विश्राम अवधि हुन्छ।
"अहिलेको समयमा कन्ट्रोलरहरूले अविश्वसनीय शिफ्टमा काम गरिरहेका छन् र अविश्वसनीय सङ्ख्यामा विमानहरू व्यवस्थापन गरिरहेका छन्," उनी भन्छन्।
सन् २०१४ मा रुसमा निर्मित क्षेप्यास्त्रले पूर्वी युक्रेनमा मलेशियन वायुसेवाको एमएच१७ विमान खसाल्दा त्यसमा सवार २९८ जनाको ज्यान गएको घटनाले द्वन्द्वले कसरी यात्रुवाहक विमानको बाटोलाई प्रभावित पार्छ भन्ने देखाएको छ।
उडेको विमानमा हुने हलचल 'टर्ब्युलन्स' सन् २०५० सम्म तीन गुनाले बढ्ने
भारतमा रोकिनु परेको एउटा ब्रिटिश जेटको अनौठो घटना
त्यसबेलासम्म युक्रेन निकै कम द्वन्द्व भएको क्षेत्र थियो। तर त्यसबेला भर्खरै मात्र उक्त क्षेत्रमा युद्ध बिस्तार भएको थियो र त्यसअघिका महिनामा कैयौँ सैनिक विमान खसालिएका थिए। यस्तो परिदृश्य अरू ठाउँमा कसैले दोहोरिन दिन चाहँदैन।
गतसाता आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी विमान इराकमा दुर्घटना हुँदा छ जना चालकदलका सदस्यको ज्यान गयो।
उक्त विमान इरानमा जारी अमेरिकी आक्रमणमा संलग्न थियो र आक्रमणमा परेको दोस्रो विमान हो। आक्रमणमा परेको अर्को विमान सुरक्षित रूपमा अवतरण भएको थियो। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार त्यो दुर्घटना आफ्नै तर्फबाट भएको आक्रमण थिएन।
हवाई क्षेत्र अचानक बन्द गर्नु पर्ने वा सीमित गर्नुपर्ने अवस्थामा कन्ट्रोलरहरूले पाइलटहरूलाई विमानको गन्तव्यबारे सोध्छन्। अनि विमानमा कति इन्धन बाँकी छ भनेर सोधिन्छ। त्यसपछि उडानमा रहेको उक्त विमान अवतरणका लागि कुन विमानस्थल उपयुक्त हुन सक्छ भनेर जानकारी दिइन्छ।
कन्ट्रोलरहरूले जुनसुकै आकारका विमान भए पनि तिनीहरूबीचको निश्चित दूरी कायम हुने अवस्थाको पनि सुनिश्चित गर्नु पर्छ। यस्तो दूरी अगाडि पछाडि मात्रै नभएर आकाशमा तल वा माथि पनि कायम हुनुपर्छ किनभने ठूला यात्रुवाहक विमानले वरपरका अन्य विमानहरूका लागि धेरै नै टर्ब्युलन्स वा हलचल निम्त्याउन सक्छन्।
त्यसको अर्थ साना जेटहरूलाई ठूला विमानको बाटोबाट टाढा राख्नुपर्छ।
अचानक उडान मार्ग बन्द हुने कुरा निकै दुर्लभ हुने २० वर्षसम्म अनुभव बटुलेका पाइलट जोन बताउँछन्। उनी अहिले पनि मध्यपूर्वमा विमान उडाइरहेका कारण आफ्नो वास्तविक नाम खुलाउन चाहँदैनन्।
उनका अनुसार अधिकांश वायुसेवाहरू निश्चित हवाई क्षेत्रमा सकेसम्म प्रवेश गर्न चाहँदैनन्। कहिलेकाहीँ त्यो युद्धका कारण त कहिले खराब मौसमका कारण पनि हुन सक्छ।
"यो अवस्थामा हामी सबैलाई थाहा थियो कि मध्यपूर्वमा केही चलिरहेको छ," जोन सुनाउँछन्। "त्यो कहिलेबाट मात्रै भन्ने थियो।"
द्वन्द्व भएको क्षेत्र छल्नुपर्ने अवस्थामा पाइलटहरू वैकल्पिक उडान मार्गबारे जानकार रहने मात्रै नभई प्रस्थान भएकै विमानस्थल फर्कनुपर्ने वा गन्तव्यभन्दा टाढाको विमानस्थलसम्म पुग्नुपर्ने अवस्थाका लागि पुग्ने गरी सकेसम्म धेरै इन्धन भरेर उडान गर्छन्।
"यो एकदमै साधारण, प्रशिक्षित र नियन्त्रित गतिविधि हो," जोन भन्छन्। उनका अनुसार व्यस्त हवाई क्षेत्र छल्नका लागि कन्ट्रोलरहरू र पाइलटहरूले निकै मिहिन रूपमा प्रक्रिया पालना गर्ने गर्छन्।
विमानमा हुने 'टर्ब्युलन्स' के हो, कसरी उत्पन्न हुन्छ
के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ?
जोनका अनुसार चालक दलका अन्य सदस्य र यात्रुहरूलाई पनि उनीहरूले यो अवस्थाबारे जानकारी दिइरहेका हुन्छन्।
लामो दूरीका उडानहरूमा चालक दलका सदस्यहरूलाई सहयोग गर्ने कामको नेतृत्व गर्ने अर्को एक जनाले पनि हामीसँग कुराकानी गरेकी छन्। उनी कार्यरत वायुसेवाको तर्फबाट कुरा गर्ने आधिकारिक व्यक्ति नभएका कारण हामीले उनको वास्तविक नाम प्रयोग नगरी उनलाई हाना भनेर चिनाएका छौँ।
हाना पनि धेरैजसो मध्यपूर्वकै आकाशबाट वारपार गर्नुपर्छ। उनका अनुसार युद्धको समयमा विमानमा रहने उनको टोलीको महत्त्व अझै धेरै हुन्छ। खासगरी यात्रुहरू हताश र चिन्तित भएको अवस्थामा।
" यो अवस्थामा हाम्रो काम यात्रुहरूले खानामा के लिन्छन् भनेर सोध्ने मात्रै हो भन्ने आम बुझाइभन्दा धेरै पर हुन्छ," उनी भन्छिन्।
"त्यसकारण धेरै मानिसहरूले हाम्रो काम सुरक्षाको पक्ष पनि हो भन्ने बिर्सिन्छन् … र सबै कुरा सामान्य भएको अवस्थामा हामीले दिने सेवा मात्रै सम्झन्छन्।"
निर्धारित मार्गबाट बिथोलिएका विमानका उडानहरूले पाइलट र चालकदलका सदस्यको काम र जीवनबीचको स्वास्थ्यकर सन्तुलनमा असर गर्ने हाना बताउँछिन्।
इरानको आकाशमा उडान नहुने भएपछि उनले काम गर्ने जस्तै अर्को एउटा विमानले हालै अर्को एउटा विमानस्थलमा रोकेर उडान गर्ने निर्णय लियो।
तर थपिएको कामको जिम्मेवारीलाई उनी आफ्नो जागिरकै एक अंशका रूपमा उनी लिन्छिन्।
"क्याबिन क्रूका रूपमा हामी सबै जना एउटै ठूलो परिवारको अंश भएको महसुस गर्छौँ," उनी भन्छिन्। "हामीलाई पखेटाले एकै ठाउँ बनाएको छ।"
यूएईमा ड्रोन हमलाका फोटो, भिडिओ सामाजिक सञ्जालमा शेअर गर्नेहरू पक्राउ, नेपालीहरूलाई सजग हुन आग्रह
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: