'मर्नु न बाँच्नुजस्तो': तत्काललाई तनाव साम्य भए पनि ढुक्क छैनन् वीरगन्जवासी

'मर्नु न बाँच्नुजस्तो': तत्काललाई तनाव साम्य भए पनि ढुक्क छैनन् वीरगन्जवासी

bbc.com . १ दिन अघि

दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको वीरगन्जमा हिन्दू–मुस्लिम समुदायका अगुवाबीच पाँचबुँदे सहमति भएपछि कर्फ्यू हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलवार सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको हिन्दू र मुस्लिम समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरू सम्मिलित सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित पाँचबुँदे सहमति गरेको हो।

सहमतिपत्रमा हिन्दू–मुस्लिम धर्मगुरु र जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन्।

साम्प्रदायिक तनाव नियन्त्रण गर्न गुप्तचर परिचालन, सरकारका अरू रणनीति यस्ता

के नेपालमा पनि हिन्दुत्वको राजनीतिले जरा गाडिरहेको छ?

जनजीवन सामान्य बन्दै

साम्प्रदायिक तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशका कारण मङ्गलवार पर्साको वीरगन्जमा जनजीवनमा प्रभाव परेको थियो।

धनुषामा शनिवार एउटा मस्जिदमा तोडफोड भएको भनिएको घटनापछि वीरगन्जमा आइतवारदेखि अशान्ति फैलिन थालेको थियो। पर्सा जिल्ला प्रशासनले सोमवार साँझदेखि मङ्गलवार बिहानसम्मका लागि जारी गरेको कर्फ्यूको अवधि दिउँसोसम्मका लागि बढाइएको थियो।

सहमति कार्यान्वयनसँगै सोमवारदेखि लागु गरिएको कर्फ्यू मङ्गलवार अपराह्न ३:३० बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

कर्फ्यू हटेपछि वीरगन्जको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। बजार खुलेका छन् भने सडकमा आवागमन पनि सामान्य भएको छ।

स्थानीयवासी के भन्छन्?

तराई मधेशका कतिपय जिल्ला सामुदायिक विवादका कारण अशान्त बन्दा पटकपटक कर्फ्यू र निषेधाज्ञा लागु गर्नपर्ने परिस्थितिबारे सर्वसाधारणहरूले चिन्ता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा केही फरक फरक क्षेत्रका व्यक्तिहरूसँग हामीले प्रतिक्रिया लिएका छौँ ।

पञ्चाङ्ग कसरी बनाउने भन्नेमा मतभेद, तिथिमिति र चाडपर्वमा कस्तो असर पर्ला

नेपालमा बौद्ध र अरू तीन धर्मका अनुयायीको सङ्ख्या किन घट्दो क्रममा

'निस्किन पनि डर लाग्छ'

नेहा यास्मिन, विद्यार्थी

हामी वीरगन्जमा गाउँबाट आएर डेरामा बसेर पढिरहेका छौँ। झन् बस्ने डेराबाट परीक्षा केन्द्र धेरै टाढा छ। बन्दका कारण गाडी चलेन।

अब यस्तो बेला निस्किन पनि डर लाग्छ। कसरी जाने, कसरी फर्किने, बाटोमा केही भइहाल्छ कि भन्ने मनमा डर हुन्छ।

तर फेरि परीक्षा त छोड्नुभएन। हिँडेरै भए पनि पुग्नुपर्ने हुन्छ।

'मर्नु न बाँच्नुजस्तो'

कृष्ण चौधरी, व्यापारी

कहिले जेन जी आन्दोलन त कहिले यही हिन्दू-मुस्लिम भनेर बन्दहडताल भएको छ। दैनिक काम गरेर खाने हामीजस्ताका लागि त यो समय मर्नु न बाँच्नुजस्तो हुन्छ।

घरमा आठ जनाको परिवार, कमाउने म एक्लो। आइतवारदेखि नै मेरो कपडा पसल राम्ररी खुल्न सकेको छैन । मेरो मात्र होइन, वीरगन्जमा सयौँ पसल, बजार सबै बन्दको अवस्थामा छन् दुईतीन दिनदेखि। कर्फ्यूका कारण आज पनि व्यापार ठप्प रह्यो।

हामीले एकअर्काको धर्मप्रति त सम्मान गर्नुपर्छ। वीरगन्जमा सद्भाव कायम राख्नुपर्छ। आफू पनि अरूलाई पनि बाँच्ने आधार मार्नुभएन।

पहिले पनि पटकपटक यस्तो विवादले व्यापारव्यवसाय ठप्प भयो। अझ पनि त्यही भइरहेको छ। हामी त ऋणमा डुबिहेका छौँ।

'पहिल्यैदेखिको मेलमिलाप कायम हुनुपर्छ'

तबरेज अहमद, राजनीतिकर्मी

वीरगन्जमा जसरी पहिला आपसी मेलमिलाप र भाइचारा थियो, फेरि त्यस्तै हुनु नै पर्छ। बाल्यकालदेखि नै एकअर्काको समुदायप्रति सद्भाव देख्दै आएका छौँ। मायास्नेह तथा आदरसत्कार पनि अझ उत्तिकै छ। एकअर्काका चाडबाड, संस्कारमा जाने, मनाउने, खाने जसरी हामी गरिरहेका थियौँ, अझ पनि त्यस्तै हुनुपर्छ।

त्यस्तै छ पनि तर केही अराजक तत्त्वका कारण मात्रै दुवै समुदायबीच विवाद सिर्जना भइरहेका छन्।

हामीले यति मात्रै बुझे हुन्छ कि हामी मानव हौँ। सबैको रगत रातो नै छ। मलाई कहिले हिन्दू समुदायका साथीहरूका बीचमा कहिल्यै एक्लो महसुस भएन। माया नै पाएको छु।

यसमा सञ्चारजगत् र अन्यले पनि ध्यान दिन जरुरी छ। हामीले हाम्रो दायित्व पनि निर्वाह गर्न आवश्यक छ। सबैले आआफ्नो स्थानबाट प्रयास गरे भने पक्कै पनि फेरी हाम्रो वीरगन्ज उस्तै शान्त हुने छ।

धार्मिक स्वतन्त्रतासम्बन्धी वाशिङ्टनको प्रतिवेदनमाथि प्रश्न गर्दै अमेरिकालाई नेपालको 'कूटनीतिक नोट'

नेपालमा इसाई धर्म विस्तारमा दक्षिण कोरियाली भूमिका

'भाइचारा बचाउनुपर्छ'

कमल चौगाईँ, सामाजिक अगुवा

यो सहर आर्थिक रूपमा मात्रै होइन, सामाजिक र सांस्कृतिक रूपमा पनि अब्बल छ। हाम्रो देश गौतम बुद्धको देश, शान्तिको देश भनेर चिनिन्छ, त्यसैले एकअर्काका धार्मिक समुदायप्रतिको सद्भाव कायम गरी सम्मानजनक बोली, प्रतिक्रिया र व्यवहार गर्नुपर्छ।

दुई फरक समुदायको भाइचाराका लागि पनि परिचित वीरगन्जको पहिचानलाई बचाइराख्नुपर्छ। नभए जहिले पनि बन्दहड्तालले विद्यालय, कार्यालय , स्वास्थ्य सबै क्षेत्र र सबै क्षेत्रका मानिसहरू प्रभावित हुन्छन्। यो हामी वीरगन्जवासीका लागि चिन्ताको विषय हो।

'कमीकमजोरी सुधार गर्नैपर्छ'

अलि असगर मदनी, मौलाना

कसैले कसैको धर्मप्रति कुनै नराम्रो प्रतिक्रिया दिनु नै हुँदैन, चाहे मुस्लिम, चाहे हिन्दू , इसाई वा अन्य कुनै धर्मका किन न हुन्। यस्ता नकारात्मक विषयका प्रभावबाट हाम्रा सन्ततिको आगामी भविष्य कस्तो हुन्छ त भन्ने भयावह परिस्थितिबारे आजैबाट विचार गनुपर्छ र आआफ्नो मनमा मनन गर्दै सबै समुदायकाले आआफ्नो नकारात्मक पक्ष सुधार गर्नुपर्छ। आफ्ना कमीकमजोरी सुधार गर्नैपर्छ।

'भाइचारा त जहिले पनि हुन्छ'

रमितामाया गुप्ता, हिन्दू अगुवा

वादविवाद केही कुरामा छैन तर अराजक व्यवहार गर्नेविरुद्ध मात्रै हामीले समयसमयमा आवाज उठाउने गरेका छौँ। कसैले पनि आफ्नो धर्मप्रतिको नकारात्मक टिप्पणी सहन सक्दैन, जुनसुकै समुदायका भए पनि। त्यसैले यस्ता कुरामा मात्रै सबै फरक समुदायबाट ख्याल भयो भने विवाद वा द्वन्द निम्तिने कुरै आउँदैन जस्तो लाग्छ। आपसी भाइचारा त जहिले पनि हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.