इजरेलमा नेपालीहरू बङ्करमा छिर्दै, निस्कँदै, काम गर्दै

इजरेलमा नेपालीहरू बङ्करमा छिर्दै, निस्कँदै, काम गर्दै

bbc.com . २ घण्टा अघि

इरानसँग जारी द्वन्द्वबीच इजरेलमा कार्यरत नेपालीहरूको सुरक्षाबारे स्वदेशमा चिन्ता व्यक्त भइरहँदा उनीहरूले बीबीसीसँग मिश्रित अनुभव सुनाएका छन्।

मुख्य गरी केअरगिभरका रूपमा काम गर्ने नेपालीहरूले सुरक्षा सम्बन्धमा खासै चिन्ता नभएको बताएका छन् भने कृषि क्षेत्रमा कार्यरत व्यक्तिहरूले चिन्ता लागेका बताएका छन्।

हमलाबीच सुरक्षा अलर्टसँगै बङ्कर अथवा शेल्टरमा छिर्दै, निस्कँदै, काम गर्दै आएको कतिपयले हामीसँग उनीहरूको दिनचर्याबारे बताएका छन्।

के खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउन थालेका हुन्?

मध्यपूर्वको द्वन्द्वले नेपालमा पार्न सक्ने ७ असर

गत फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि हमला गरेपछि तेहरानले इजरेली सहरहरूमा आक्रमण गर्दै आएको छ।

तर आक्रमणबीच पनि दिनचर्या नियमित रूपमा चलिरहेको त्यहाँ कार्यरत नेपालीहरूले बताए। युद्धबीच पनि दैनिक उपभोग्य वस्तुको अभाव वा महँगी झेल्न नपरेको पनि उनीहरूले जनाएका छन्।

निस्फिक्री सुनिएका केअरगिभर

इजरेलमा झन्डै १९ वर्षदेखि केअरगिभरका रूपमा कार्यरत ललितपुरका मातृका तिम्ल्सिना नेपालबाट केही दिनअघि मात्रै तेल अभिभ फर्केका हुन्।

दुई महिना लामो बिदा सकेर कार्यथलो फर्केका उनी मध्यपूर्वमा जारी युद्धबीच खासै चिन्तित नरहेको सुनिए।

"काम चलिराख्छ। आक्रमण हुन लाग्दा साइरन बज्छ अनि मानिसहरू बङ्करमा जान्छन्। फेरि निस्किन्छन्, काम गर्न थाल्छन्। सबै काम त्यसरी नै चलिरहेको छ," बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा उनले भने।

युद्ध चलिरहे पनि कामहरू ठप्प नभएका तिम्ल्सिना बताउँछन्। "दिनचर्या नियमितजसो चलिरहेको छ। म बसेको ठाउँमा भौतिक क्षति पनि त्यति छैन," उनले थपे।

उनका अनुसार गाजासँग इजरेल युद्ध चल्दा बङ्करहरूमा जानका लागि तीनचार मिनेटको समय हुन्थ्यो भने अहिले पाँचदश मिनेट हुने गर्छ।

"बङ्कर जानका लागि पनि अहिले पर्याप्त समय हुन्छ," तिम्ल्सिना भन्छन्। टाढाबाट इरानले क्षेप्यास्त्रहरू प्रहार गर्ने भएर इजरेल पुग्ने समय बढी हुँदा 'अलर्ट समय' लामो हुने गरेको बुझिएको छ।

गत ४८ घण्टामा आफ्नो मोबाइलमा चार वटा चेतावनी आएको उनले सुनाए। क्षेत्रानुसार यस्ता चेतावनीको सङ्ख्या फरकफरक हुने गरेको नेपालीहरूले बताएका छन्।

उनीहरूका अनुसार इरानले प्रायः आक्रमण गर्ने गरेका सैनिक तथा सहरी इलाकाहरूमा बढी चेतावनी आउने गरेको छ।

पछिल्लो इरानी आक्रमणले इजरेललाई 'झस्काउनुका' कारण

इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता

पायक पर्ने बङ्करमा जान पाइने

गोरखाका अली मोहम्मद आठ वर्षयता इजरेलमा कार्यरत छन्। उनी पनि केअरगिभर हुन्।

हाल जारी लडाइँ रोकिएमा ईद अल अज्हाको बिदामा नेपाल आउने उनको योजना छ।

यसअघि इरान र इजरेलबीच डेढ सातासम्म लडाइँ चलेको थियो। त्यस बेलाको तुलनामा अहिले अलि बढी डर लागेको अली सुनाउँछन्।

"बाहिर हेर्दा अलि डर लाग्छ। अलिकति त्रास पनि छ। यहाँ हुनेभन्दा नेपालमा रहेका परिवारमा बढी चिन्ता हुने रहेछ," बीबीसीसँग उनले भने।

त्यो हुँदाहुँदै इजरेलको सुरक्षा प्रणालीले आश्वस्त बनाएको अली सुनाउँछन्। "सुरक्षा अलर्ट जारी हुन्छ अनि बङ्करभित्र हामी जान्छौँ। असर सकेपछि फेरि बाहिर निस्केर काममा फर्कन्छौँ। अहिलेसम्म हामी सुरक्षित नै छौँ," उनले अगाडि थपे।

इजरेलका निजी घर तथा सार्वजनिक स्थानहरूमा पनि बङ्कर/शेल्टरहरू हुने गरेका अली बताउँछन्। "जहाँ पायक हुन्छ, त्यहाँका बङ्करमा जोकोही पनि जान पाउँछ।"

तत्काल फर्कन नचाहेकी नीतु

काठमाण्डूकी नीतु खतिवडाले इजरेलमा केअरगिभरका रूपमा काम गर्न थालेको १६ वर्ष हुन लाग्यो।

'जीटूजी' भनिने सरकार-सरकारबीचको सम्झौता भएर नेपालले केअरगिभर पठाउन थाल्नुभन्दा एक दशकभन्दा अघिदेखि उनले त्यहाँ काम गरिरहेकी छन्।

जारी द्वन्द्वबीच घरपरिवारका सदस्यले चिन्ता व्यक्त गरिरहेको टेलिफोनमा खतिवडाले पनि सुनाइन्।

"दिदीहरूले अब नेपाल फर्किहाल भन्नुहुन्छ। विदेशमा रहेको छोरोले आत्तिएर मेसेज गर्छ, 'सातसात घण्टासम्म अनलाइन आउनुभएन, के भयो'। म सुतेर उठेको हुन्छु," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

"सुरक्षाबारे चिन्ता गर्नुपर्ने छैन। शेल्टरमा चाहिँ बस्नुपर्छ। म त तत्काल फर्किन्नँ होला। राम्रो भइरहँदा अझै बस्छु," खतिवडाले सुनाइन्।

बङ्कर अथवा शेल्टरहरूमा इजरेलीहरूसँगै अरू देशका नागरिक बस्ने गरेका र कुनै खालको विभेद महसुस नगरेको उनले बताइन्।

नेपालबाट कस्तो सीप भएका कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

कृषि क्षेत्रका कामदारका चिन्ता

केअरगिभरहरू सुरक्षाबारे निश्चिन्त देखिइँदा कृषि क्षेत्रमा कार्यरत नेपालीहरू भने तुलनात्मक रूपमा चिन्तित देखिन्छन्।

धादिङका ३८ वर्षीय राजन दुवाडीले इजरेलमा काम गर्न थालेको २६ महिना भयो। उनी इजरेलको तिबेरिआ सहरस्थित एउटा कुखुरा फार्ममा काम गर्छन्।

पहिलाको युद्धभन्दा यसपालि इरानसँगको युद्ध फरक देखिएको र आफूहरू मानसिक त्रासमा रहेको दुवाडीले सुनाए।

"पहिलाभन्दा धेरै फरक छ। मानसिक रूपमा अलि समस्यामा छौँ। कुन बेला साइरन बज्ने हो भन्ने चौबीसै घण्टा दिमागमा आइरहन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

केअरगिभरहरूलाई भन्दा आफूहरूलाई गाह्रो भएको दुवाडीको अनुभव छ। "कृषि फार्महरू सहरहरूभन्दा टाढै हुन्छ्न। आक्रमण भयो भने पनि जानलाई बङ्कर हुँदैन," उनले सुनाए।

"कृषि क्षेत्रलाई निसाना नबनाइने भएर हामी एक हिसाबले सुरक्षित रहेको पनि लाग्छ। तर निसाना बनाइयो भने हामी नै धेरै असुरक्षित हुन्छौँ।"

कृषिकर्म सकेर कोठा फर्केपछि चाहिँ साइरन बज्दा बङ्करमा जाने गरेको दुवाडीले बताए।

"ठूलो आवाजमा साइरन बज्छ। सुते पनि नसुनेको भन्ने हुँदैन। एकदम सुनिन्छ। मोबाइलमा पनि अलर्ट आउँछ," उनले भने।

'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत करिब २०० जना र कृषि कामदारकै रूपमा ५०० जनाको हाराहारीमा नेपालीहरू रहेका दुवाडीले बताए।

भिडिओमार्फत् परिवारलाई आश्वासन

काभ्रेपलान्चोकका हरिशरण बजगाईँ इजरेलमा फलफूल टिप्ने काम गर्छन्। टेलिफोनमा कुराकानी गर्ने बेला उनी कोठामै थिए।

"अहिले पानी परेर म फार्ममा गएको छैन। पानी रोकियो भने जान्छु," बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग उनले भने।

बजगाईँका अनुसार युद्धबीच पनि अहिले इजरेलमा सामान्य रूपमै दिनचर्या बितिरहेको देखिन्छ।

"यहाँ यस्तै हो भन्ने मानसिकता यहीँका मानिसमा र काम गर्न आउने मानिसमा पनि देखिन्छ," उनले भने।

आफूहरूभन्दा नेपालमा रहेका आफन्तहरूमा बढी चिन्ता हुने गरेको बजगाईँ सुनाउँछन्।

"बजारमा निस्केको बेला भिडिओ कलमार्फत् सबै कुरा देखाएर आश्वस्त पार्ने गरेको छु," उनले अगाडि थपे।

तथापि बाहिर काम गर्नेलाई गाह्रो नै भएको उनी सुनाउँछन्। "फील्डमा काम गर्नेहरूलाई अलि गाह्रै हुन्छ, तर सहरकेन्द्रित आक्रमणहरू भइरहँदा हामी केही ढुक्क रहने अवस्था पनि छ," बजगाईँले भने।

इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता

मध्यपूर्वमा तनाव चर्केसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढ्दो, नेपालले कति थेग्न सक्ला?

'सशक्त' आपूर्ति प्रणाली

युद्ध जारी रहे पनि इजरेलमा उपभोग्य सामग्रीहरूको कुनै प्रकारको अभाव अथवा महँगीको समस्या झेल्न नपरेको नेपालीहरूले बताएका छन्।

"अचम्मको कुरा यहाँ सबै सामानहरू सामान्य अवस्थामा जस्तै पाइएको छ," तिम्सिनाले भने।

आफूले बरु कतिपय सामानमा छुट समेत पाएको खतिवडाले बताइन्। "बढी लिएका छैनन्। केही सामानमा त छुट नै दिएका छन्," उनले अगाडि थपिन्।

इजरेली आपूर्ति प्रणालीबाट दुवाडी पनि उस्तै ढुक्क देखिन्छन्। "खुसी हुनुपर्ने कुरा आपूर्ति प्रणाली गज्जबको छ। केही कुराको अभाव छैन। मूल्य बढेको छैन।"

सेवासुविधा पनि राम्रो भएकाले धेरै नेपाली फर्कन नचाहेको उनीहरू बताउँछन्। उनीहरूका अनुसार न्यूनतम तलब नेपाली रुपैयाँ तीन लाखभन्दा केही बढी छ। त्यसबाहेक अरू सेवासुविधा पनि पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.