भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई बुझाइन् आफ्नो पदक

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई बुझाइन् आफ्नो पदक

bbc.com . २ महीना अघि

भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोले बिहीवार ह्वाइटहाउसमा भएको एक बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन्।

"मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो," ट्रम्पलाई भेटेर फर्केपछि उनले भनिन्। उनीहरूबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो।

अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि भेट भएको हो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गर्दै सो पुरस्कार प्राप्त गर्नु "आपसी सम्मानको अद्भुत सङ्केत" भएको बताए।

सन् २०२४ को व्यापक रूपमा प्रतिस्पर्धात्मक भएको चुनावमा विजयी भएको दाबी गर्ने मचाडोलाई अमेरिकी राष्ट्रपतिले भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न अस्वीकार गरेका छन्।

भेनेजुएलामा ट्रम्पले नोबेल विजेता मचाडोको साटो मदुरोकै उपराष्ट्रपतिलाई रोज्नुका कारण

भेनेजुएलाकी भूमिगत नेत्रीलाई नोबेल शान्ति पुरस्कार, ह्वाइट हाउसले के भन्यो

ट्रम्प र मचाडो के भन्छन्?

ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख मदुरोकी पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेससँग काम गरिरहेका छन्।

तर उनले मचाडोलाई भेट्नु "ठूलो सम्मान" भएको बताउँदै उनलाई "निकै कुरा झेलेकी अद्भुत महिला" भनेर सम्बोधन गरे।

ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा "हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ" भनेको एसोसिएटेड प्रेसले जनाएको छ।

"मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ," मचाडोले पछि अङ्ग्रेजीमा पत्रकारहरूलाई भनिन्।

उनले त्यसलाई "हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यता" भनेर उल्लेख गरिन्।

नोबेल शान्ति पुरस्कार पाउने आफ्नो चाहनाका बारेमा बारम्बार बोल्ने ट्रम्पले मचाडोलाई उक्त पुरस्कार दिइँदा असन्तुष्टि व्यक्त गरेका थिए। ती विपक्षी नेत्रीले भने गत वर्षको त्यस सम्मान स्वीकार गर्ने निर्णय गरेकी थिइन्।

बीबीसीले प्रतिक्रियाका लागि ह्वाइटहाउसलाई सम्पर्क गरेको छ।

ट्रम्पले कतिवटा युद्ध साँच्चै अन्त्य गराए? नोबेल पुरस्कारको 'आश'मा गरिएका दाबीको तथ्यजाँच

भेनेजुएलापछि ट्रम्पले 'आँखा लगाउन सक्ने' पाँच देशहरू

नोबेल समितिको प्रतिक्रिया के छ?

मचाडोले गत साता उनले उक्त पुरस्कार ट्रम्पसँग साझा गर्ने बताए तापनि नोबेल समितिले पछि त्यो हस्तान्तरण गर्न नमिल्ने भनेर स्पष्ट पारेको थियो।

"एक पटक नोबेल पुरस्कार घोषणा भएपछि यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन," सो समितिले गत साताको एक विज्ञप्तिमा भनेको छ। "यो निर्णय अन्तिम हो र सधैँको लागि रहन्छ।"

मचाडोको टिप्पणीमा प्रतिक्रिया माग गरिँदा नोबेल समितिले बीबीसीलाई उनीहरूको अघिल्लो अभिव्यक्ति देखायो।

बिहीवार ह्वाइटहाउसको उक्त बैठकअघि नोबेल शान्ति केन्द्रले एक्समा पोस्ट गर्दै "पदकले वाहकहरू परिवर्तन गर्न सक्छ तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि सक्दैन" भनेको छ।

आफ्नो टिप्पणीमा मचाडोले कसरी अमेरिकाको क्रान्तिकारी युद्धमा लडेकी मार्की द लफाएट आधुनिक भेनेजुएलाका संस्थापक पिताहरूमध्ये एक साइमन बोलिभरलाई जर्ज वाशिङ्गटनको समानता भएको पदक दिएका थिए भनेर स्मरण गरेकी छन्।

त्यस उपहार आफ्नो देश र अमेरिकाबीचको "अत्याचारविरुद्धको स्वतन्त्रताको लडाइँमा" रहेको "भाइचाराको सङ्केत" भएको मचाडोले बताएकी छन्।

"र २०० वर्षको इतिहासमा, बोलिभरका जनताले वाशिङ्गटनका उत्तराधिकारीलाई हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यताको रूपमा पदक, यस अवस्थामा नोबेल शान्ति पुरस्कारको पदक, फिर्ता दिइरहेका छन्," उनले भनिन्।

मचाडोले आफ्नो वाशिङ्गटन भ्रमणका क्रममा अमेरिकी सिनेटरहरूलाई भेट्न कङ्ग्रेसको भ्रमण समेत गरेकी थिइन्।

जहाँ पत्रकारहरूसामु दिएको उनको टिप्पणी समर्थकहरूको "मारिया, राष्ट्रपति" को नाराबाजी र भेनेजुएलाको झण्डा फहराउँदा ओझेलमा परेको थियो।

मचाडोले ट्रम्पसँगको आफ्नो समयलाई रोड्रिगेसको अन्तरिम सरकारलाई समर्थन गर्नु गल्ती भएको र उनको विपक्षी गठबन्धन यस सङ्क्रमणका लागि जिम्मेवार हुनुपर्ने भन्दै उनलाई मनाउन प्रयोग गर्ने अपेक्षा गरिएको थियो।

भेनेजुएलासँग ट्रम्पको सम्बन्ध अहिले कस्तो छ?

बिहीवार बैठक चलिरहँदा ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकारहरूलाई मचाडो "भेनेजुएलाका धेरै जनताका लागि एक उल्लेखनीय र साहसी आवाज" भएको भन्दै ट्रम्प "यस बैठकका लागि उत्सुक थिए र भेनेजुएलाको जीवनको वर्तमान वास्तविकताका बारेमा स्पष्ट र सकारात्मक छलफलको अपेक्षा गरेका" बताएकी थिइन्।

ट्रम्पले यसअघि नै मचाडोलाई "स्वतन्त्रता सेनानी" भनेर उल्लेख गरिसकेका छन्। तर मदुरोलाई हटाएपछि उनीसँग पर्याप्त घरेलु समर्थनको अभाव रहेको तर्क गर्दै मचाडोलाई भेनेजुएलाको नेतृत्व सुम्पने धारणालाई अस्वीकार गरेका थिए।

मदुरोलाई ज्यानुअरी ३ मा कब्जा गरिएदेखि ट्रम्प प्रशासनले अमेरिकी प्रतिबन्धहरूमाझ रहेको भेनेजुएलाको तेल क्षेत्रलाई पुनर्निर्माण गर्न द्रुत गतिमा अघि बढेको छ। बुधवार एक अमेरिकी अधिकारीले बताए अनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री पूरा गरेको छ जसको मूल्य ५० करोड अमेरिकी डलर छ।

न्यूयोर्क टाइम्सले छापेको एक खबरमा भेनेजुएला सरकारका एकजना दूत बिहीवार अमेरिकी अधिकारीहरूलाई भेट्न र देशको दूतावास पुन: खोल्न प्रारम्भिक कदम चाल्न वाशिङ्गटन जाने अपेक्षा गरिएको उल्लेख गरिएको थियो।

रोड्रिगेजले बिहीवार कराकसमा देशका नाममा वार्षिक सम्बोधन गर्दै त्यसमा उनले वाशिङ्गटनका बैठकहरूमा भाग लिन इच्छुक रहेको बताएकी थिइन्।

ट्रम्प र रोड्रिगेसबीच बुधवार समेत फोनवार्ता भएपछि अमेरिकी राष्ट्रपतिले पछि सामाजिक सञ्जालमा आफ्ना समकक्षीलाई "एक उत्कृष्ट व्यक्ति" भनेर वर्णन गरेका छन्। यसैबीच रोड्रिगेसले सो फोनवार्तालाई "उपयोगी र शिष्टाचारयुक्त" भन्दै त्यसमा "आपसी सम्मान" अभिव्यक्त भएको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.