बाङ्ग्लादेशमा हिन्दूहरूलाई लोभ्याउने प्रयासमा रुढीवादी इस्लामिक दल, कारण के
बाङ्ग्लादेशको झिनाईदहको उमेदपुर बजार। एक ठाउँमा बेन्चमा १०-१२ जना सँगै बसिरहेका छन्। जमात-ए-इस्लामी पार्टीका एकजना स्थानीय नेताले उनीहरूलाई पर्चा बाँडिरहेका छन्।
त्यसबारे सोध्दा उनको भनाइ थियो, "पार्टीले सनातन धर्मका समर्थकहरूको निम्ति एउटा 'सभा' आयोजना गर्दै छ।"
उनका अनुसार उक्त सभामा सहभागी हुनेहरू जमात-ए-इस्लामीका 'समर्थक' हुन्।
जमात-ए-इस्लामीको उमेदपुर समितिका अमीर मोहम्मद शौकत अली भन्छन्, "हामीले विगत केही महिनादेखि सनातन धर्मावलम्बीहरूसँग काम गरिरहेका छौँ। उनीहरूले राजनीतिक रूपमा हामीलाई समर्थन गरिरहेका छन्। यी सबै तराजु (पार्टीको चुनाव चिन्ह)का समर्थक हुन्।"
केन्द्रीय नेतृत्वले पार्टीको 'राजनीतिक अपिल' विभिन्न धर्मावलम्बीहरूसम्म पुर्याउन निर्देशन दिएको उनले जानकारी दिए।
शेख हसिनाको सत्तावसानपछि बाङ्ग्लादेशमा 'अल्पसङ्ख्यक हिन्दूहरू निसानामा'
लक्षित आक्रमण भएपछि बाङ्ग्लादेशमा हिन्दूहरू भयभीत
जमात-ए-इस्लामीका नेता र कार्यकर्ताहरूले झिनाईदहमा जस्तै देशका अन्य भागहरूमा पनि हिन्दू धर्मावलम्बीहरूबीच गइरहेको देखिन्छ।
अन्य विभिन्न जिल्लाहरूबाट पनि यस्ता समाचारहरू आइरहेका छन्। जसमा हिन्दूहरू जमात-ए-इस्लामी पार्टीमा सहभागी भइरहेको उल्लेख गरिएको छ। कतिपय ठाउँमा 'सनातनी समिति' पनि गठन गरिएका समाचारहरूमा जनाइएको छ।
करिब एक साताअघि देशको दक्षिणी भागमा रहेको खुलना जिल्लाको डुमुरियामा जमात पार्टीका तर्फबाट एउटा 'हिन्दू सम्मेलन' पनि आयोजना गरिएको थियो।
'सुरक्षाको आशा'
यसअघि बाङ्ग्लादेशमा हिन्दूहरू जमात जस्तो रुढीवादी मानिने इस्लामवादी पार्टीमा सामेल हुनु असामान्य जस्तै थियो। त्यस्तो कहिल्यै सुनिएको पनि थिएन।
त्यसैले अहिले जिज्ञासा पाइन्छ: वास्तवमा अन्य धर्मका अनुयायी वा समर्थकहरू त्यो इस्लामिक पार्टीमा जोडिनुको यो अवसर किन? जमातले अल्पसङ्ख्यकलाई पार्टीमा भित्र्याउन किन चासो दिइरहेको छ?
झिनाईदहमा जमात पार्टीका नेताले आफ्ना समर्थक भनेर जसलाई परिचय गराएका थिए बीबीसी बाङ्ग्लाले तीमध्ये केहीसँग कुराकानी गरेको छ।
केहीले 'सुरक्षाको आशा' ले गर्दा त्यस्ता सभामा सहभागी भएको बताए।
उनीहरूका भनाइमा गत वर्ष अगस्ट ५ तारिखपछि हिन्दू बस्तीहरूमा डर र आतङ्कको अवस्था सृजना भएको थियो। पछि जमातका नेताहरू पुगेर सुरक्षाको प्रत्याभूति दिएका थिए।
बाङ्ग्लादेशमा भएका 'सबै नेपाली सुरक्षित', समन्वय नगरी यात्रा नगर्न दूतावासको सुझाव
बाङ्ग्लादेशमा एकैरात कैयौँ मन्दिरमा तोडफोड
हिन्दू समुदायका अमल कुमारले भने, "उनीहरूले जस्तो सुकै अप्ठेरोमा पनि हामीलाई सहयोग गर्ने र हामीसँगै उभिने आश्वासन दिएका छन्। हाम्रो मोबाइल नम्बर लगेका छन्। अन्य दलले यस्तो साथ कमै दिएका छन्। उनीहरूले हामीलाई साथ दिइरहेका छन् र हामीले उनीहरूलाई समर्थन गरिरहेका छौँ।"
अन्य कतिपयले पनि करिब यस्तै धारणा सुनाए।
उमेदपुर समितिका जमात नेता मोहम्मद शौकत अली भन्छन्, "हामीले उनीहरूसँग मेलमिलाप अघि किन बढायौँ भने उनीहरू हाम्रा छिमेकी हुन् र उनीहरू आफ्नो धर्मको पालनमा स्वतन्त्र छन्। उनीहरूलाई सुरक्षा प्रत्याभूत गराउनु हाम्रो दायित्व हो। उनीहरूले हामीबाट सधैँ उचित व्यवहार पाउने छन्।"
'मुस्लिमलाई जस्तो सर्त छैन'
बाङ्ग्लादेशका विभिन्न क्षेत्रमा अल्पसङ्ख्यकमाथि हुने उत्पीडनको लामो इतिहास छ। अगस्ट ५ तारिख पछि पनि विभिन्न मानवअधिकारवादी सङ्गठनहरूले देशका विभिन्न भागहरूमा अल्पसङ्ख्यकहरूमाथि उत्पीडन र उनीहरूको सुरक्षा खतरासँग सम्बन्धित घटनाहरूबारे जानकारी गराएका थिए।
जमातका नेताहरूले स्थानीय तहमा हिन्दूहरूसँग आफ्नो निकटता बढाउन 'उक्त सुरक्षा खतरा' को उपयोग गरिरहेको देखिन्छ।
के हिन्दूहरूलाई जमातमा सहभागी हुने वा त्यसको नेतृत्व गर्ने अवसर छ?
जमात एउटा इस्लामिक दल हो, जसमा मुस्लिम धार्मिक विश्वास र धार्मिक रीति-रिवाज महत्त्वपूर्ण छन्। पार्टीको शीर्षस्थ स्थानमा पुग्न वा नेतृत्व हासिल गर्न धार्मिक मुद्दाको महत्त्वपूर्ण भूमिका रहन्छ।
त्यसैले यस्ता पार्टीमा सम्मिलित भए पनि अन्य धर्मका मानिसले त्यहाँ कुनै सार्थक भूमिकाको अवसर पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा बहस हुन सक्छ। त्यस्तै अन्य धर्मको व्यक्ति सामेल भएमा पार्टीमा उसको भूमिका वा जिम्मेवारी के हुन्छ भन्ने पनि प्रस्ट छैन।
राम मन्दिरबारे इस्लामिक देशहरूले दिए आक्रोशपूर्ण प्रतिक्रिया
हिंसात्मक आन्दोलनपछि बाङ्ग्लादेशको अदालतद्वारा आरक्षण प्रणालीलाई सीमित पार्न आदेश
जमात–ए–इस्लामीका केन्द्रीय महासचिव मिया गुलाम परवारले बीबीसी बाङ्ग्लासँग भने, "जमातको विधानअनुसार हामीले सनातन धर्मका अनुयायीमध्ये उनीहरूलाई मात्र समर्थकका रूपमा पार्टीमा समावेश गरेका छौँ, जो 'हाम्रो पार्टीमा सामेल हुन' चाहन्छन्।"
उनका भनाइमा गैरमुस्लिमलाई सदस्यका रूपमा पार्टीमा सामेल गराउने व्यवस्था विधानमा छ।
"तर, मुसलमानको जस्तो उनीहरूका लागि कुनै सर्त छैन। विधानअनुसार जमातको अनुशासन पालना गर्ने, राजनीतिक निर्णयको कार्यान्वयनलाई महत्त्व दिने, देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षामा भूमिका निर्वाह गर्ने र पैसा आर्जनको निम्ति अवैध माध्यमको सहारा नलिने चार सर्त पालना गरेमा अन्य धर्मका मानिस पनि हाम्रो पार्टीको सदस्य बन्न सक्छन्," महासचिव परवारको भनाइ छ।
'आफ्नो समुदायको अगुवा'
त्यसपछि पनि प्रश्न उठिरहेका छन्। प्राथमिक सदस्यका रूपमा पार्टीमा सामेल भए पनि अन्य धर्मका व्यक्तिको कुनै प्रभावकारी भूमिका हुँदैन भनेर आलोचना भइरहेको छ।
यसको कारण के हो भने जमात-ए-इस्लामीको सदस्य भए पनि पार्टीको विधानले कुनै पनि तहको नेतृत्व वा नीति निर्माणको कुनै तहमा अर्को धर्मको व्यक्तिलाई पार्टीमा सामेल हुन अनुमति दिँदैन।
तैपनि पार्टीले वास्तवमा कुन तहसम्म सबै धर्मका अनुयायीहरूलाई सामेल हुन अनुमति दिन्छ भन्ने प्रस्ट छैन।
तर जमातको नजरमा यसमा कुनै समस्या छैन। जमातका केन्द्रीय महासचिव मिया गुलाम परवार भन्छन्, "हाम्रो विधानअनुसार उनीहरूलाई जमातको मूल नेतृत्वमा आउने कुनै अवसर छैन। उनीहरू आफ्नो समुदायका अगुवाइ गर्ने नेता हुन्छन्। आफ्नो समुदायभित्र काम गर्नेछन् र विभिन्न कर्तव्यको पालना गर्ने छन्। साथै, स्थानीय तहमा आफ्नो कुनै समिति बन्यो भने उनीहरूले नै त्यसको नेतृत्व गर्ने छन्।"
यसरी पार्टी प्रभावकारी रूपमा कतिको 'समावेशी' भयो?
"यस्ता मानिसहरू हाम्रो पार्टीमा सामेल हुने बित्तिकै सहयोगी बन्छन्। समावेशिताको अर्थ हो कि उनीहरू पार्टीमा अङ्ग हुन्। उसको योग्यता र कार्य कुशलता के र कति छ भन्ने फरक अध्याय हो," उनको जबाफ थियो।
'नागरिक भोट बैङ्क होइनन्'
बाङ्ग्लादेशको कुल जनसङ्ख्याको करिब १० प्रतिशत अल्पसङ्ख्यक छन्। देशका विभिन्न भागमा हुने निर्वाचनमा अल्पसङ्ख्यक मतदाता निर्णायक भूमिकामा देखिन्छन्।
अवामी लीगमाथि प्रतिबन्ध लागेपछि अब अल्पमतको मत कहाँ जान्छ भन्ने प्रश्न उठिरहेको छ। यद्यपि, कैयौँ मानिसहरू अल्पसङ्ख्यकहरूमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) को पकड राम्रो रहेको ठान्छन्।
एउटा इस्लामिक पार्टी हुनका साथै र कतिपय ऐतिहासिक कारणहरूले गर्दा जमात-ए-इस्लामी यस सन्दर्भमा फाइदा लिन सक्ने स्थितिमा छैन। जमातको शीर्ष नेतृत्वले पार्टीमा गैरमुस्लिम समर्थकको सङ्ख्या बढाउन जोड दिनुको एउटा मुख्य कारण अल्पसङ्ख्यक मतदातालाई आकर्षित गर्नु हो भन्ने विश्वास गरिन्छ।
के पाकिस्तानले अल्पसङ्ख्यक हिन्दुको संरक्षण गर्न सक्छ?
भारतमा मस्जिद भत्काइँदा पाकिस्तानका मन्दिरमा कसरी पर्यो असर
करिब एक साताअघि खुलनामा जमातको ब्यानर तल आयोजित 'हिन्दू सम्मेलन' मूलतः चुनावी सभा थियो। त्यसमा जमातका उम्मेदवारको समर्थनमा तराजु बोकेर मानिसहरू सहभागी भएको देखिएको थियो।
यसका साथै जमातले अल्पसङ्ख्यक बहुल निर्वाचन क्षेत्रमा अल्पसङ्ख्यकहरूलाई चुनाव अभियानमा समावेश गर्ने र उनीहरूलाई निर्वाचन समितिमा स्थान दिने रणनीति पनि तयार गरेको छ।
यसबारे प्रश्न गर्दा परवारले पार्टीले अल्पसङ्ख्यक वा हिन्दू मतदातालाई भोट बैङ्कको रूपमा नभई नागरिकको रूपमा हेर्ने गरेको बताए। उनी भन्छन्, "हो, उनीहरू मतदाता पनि हुन्। तर त्यो नै सबै कुरा होइन। हामीले भोट बैङ्कका रूपमा हेरिरहेका छैनौँ। हामी उनीहरूको साथमा उभिन चाहन्छौँ।"
शङ्का र हिचकिचाहट?
तर, जमातले जेसुकै भने पनि पार्टीका विभिन्न तहमा परम्परागत समिति बनाउने र हिन्दूलाई पार्टीमा समावेश गर्ने विषयमा हिन्दू समुदायमा शङ्का र हिचकिचाहट देखिन्छ।
बाङ्ग्लादेश हिन्दू, बौद्ध तथा क्रिश्चियन एकता परिषद्का कार्यवाहक महासचिव मनिन्द्रकुमार नाथ प्रभावकारी भूमिकाको अवसर नदिई अन्य धर्मका मानिसलाई पार्टीमा समावेश गर्दैमा धरातलीय परिवर्तन नहुने बताउँछन्।
उनले भने, "धर्ममा आधारित पार्टी भएकाले उनीहरूको विचारधारा र संरचनाले अन्य धर्मका मानिसलाई त्यसमा संलग्न गराउन अनुमति दिँदैन। यो चुनावी राजनीति र मत बढाउने रणनीति हो। पार्टीमा प्रवेश गराएपछि विभिन्न धर्मका व्यक्तिलाई प्रभावकारी भूमिका नदिए परिवर्तन अस्थायी हुने छ। त्यसको कुनै दिगो प्रभाव रहँदैन।"
जमात वा त्यस्तै अन्य राजनीतिक दलहरूले अल्पसङ्ख्यकहरू विरुद्धको उत्पीडन र धम्की रोक्न जे गर्नु पर्ने थियो त्यो गरिरहेका छैनन् भन्ने मनिन्द्रकुमार नाथलाई लागेको छ।
"अल्पसङ्ख्यकहरूलाई पार्टीको सदस्य बनाएर मात्रै समान मर्यादा, समान अधिकार र सुरक्षा सङ्कट समाधान हुँदैन," नाथले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: