युक्रेन युद्ध अन्त्यबारे नयाँ अमेरिकी प्रस्ताव, जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने

युक्रेन युद्ध अन्त्यबारे नयाँ अमेरिकी प्रस्ताव, जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने

bbc.com . ५० मिनेट अघि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यबारे वाशिङ्टनले पेश गरेको नयाँ प्रस्तावबारे डोनल्ड ट्रम्पसँग कुरा गर्ने भएका छन्।

उक्त योजना अमेरिकी विशेष दूत स्टिभ विट्कफ र उनका रुसी समकक्षी किरिल डिमित्रिभले युक्रेनको सहभागिताविना मस्यौदा गरेको बताइएको छ।

एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीको कार्यालयले मस्यौदा योजनाले "कूटनीतिलाई पुन: बल दिन सघाउने" वाशिङ्टनको विश्वास रहेको अनि युक्रेनले "युद्धको न्यायोचित अन्त्य हुने गरी योजनाका प्रावधानहरूमा काम गर्न सहमति जनाएको" उल्लेख छ।

"वास्तविक शान्ति ल्याउन सक्ने सबै ठोस प्रस्तावहरूलाई" किएभले समर्थन गर्ने उसले भनेको छ।

जेलेन्स्की चेतावनी : रुसलाई नरोके युक्रेनबाहेक अन्यत्र पनि कारबाही बढाउने छ

पश्चिमा जगतलाई पुटिनको ताजा चेतावनी: युक्रेनमा 'शान्तिसेना' पठाउने बारे सोच्दा पनि नसोच्नु

के छ नयाँ प्रस्तावमा?

उक्त प्रस्तावमा के छ भनेर युक्रेनीहरूले बताएका छैनन् तर एक्सिअस, फाइनान्सियल टाइम्स र रोएटर्सले उद्धृत गरेका सूत्रहरूका अनुसार त्यसमा किएभले अझै पनि उसकै नियन्त्रणमा रहेका पूर्वी युक्रेनको डोन्बास क्षेत्र रुसलाई दिनु पर्ने, उसको सैन्य सङ्ख्या उल्लेखनीय कटौती गर्नु पर्ने तथा उसका कैयन् अस्त्र त्याग्नु पर्ने विषय समेटिएका छन्।

यदि पुष्टि भएमा ती मागहरू मस्कोकै पक्षमा धेरै ढल्किएको हुने छन् – अनि उक्त योजनाप्रति किएभले जनाएको चिसो प्रतिक्रिया पनि बुझ्न सकिने छ।

तर ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै प्रेस सेक्रेटरी क्यारलिन लेभिटले सो योजनामा युक्रेनबाट अत्यधिक माग गरिएको भन्ने विषय अस्वीकार गरिन्।

उनले विट्कफ र विदेशमन्त्री मार्को रुबियोले दुवै पक्षसँग कुराकानी गरेर तिनले कतिसम्म प्रतिबद्धता जनाउँछन् भन्ने बुझ्ने प्रयास गरिरहेको बताइन्।

"यो रुस र युक्रेन दुवैका लागि राम्रो योजना हो," उनले योजनाको विस्तृत पक्ष उल्लेख नगरिकनै भनिन्। "दुवै पक्षलाई यो मान्य हुने हाम्रो विश्वास छ। त्यसका लागि हामी मिहिनेत गरिरहेका छौँ।"

मस्कोको प्रतिक्रिया

मस्कोले पनि उक्त योजनालाई धेरै महत्त्व नदिएको जस्तो प्रतिक्रिया जनाएको छ।

त्यसमा २८ बुँदा रहेको बताइन्छ।

क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोफले अमेरिकासँग सम्पर्कहरू भएको तर "छलफल भन्न मिल्ने कुनै प्रक्रिया नथालिएको" बताए।

बिहीवार अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कल, चिफ अफ स्टाफ जनरल र्‍यान्डी जोर्ज तथा युरोपस्थित वरिष्ठ सैन्य कमान्डर जनरल क्रिस डोनाह्युले युक्रेनी राष्ट्रपतिलाई भेटेपछि जेलेन्स्कीको कार्यालयले विज्ञप्ति जारी गरेको थियो।

शान्ति योजनाप्रति किएभको चिसो प्रतिक्रियापछि जेलेन्स्कीले "युरोपमा सुरक्षा पुनर्बहालीका निम्ति राष्ट्रपति ट्रम्प र उनको टोलीले गरिरहेको मिहिनेत"को प्रशंसा गरे – सायद ट्रम्प प्रशासनको रुसप्रति नरम शैली भए पनि उनलाई नचिढ्याउन।

बिहीवार एक सम्बोधनमा जेलेन्स्कीले युक्रेनलाई 'जायज शान्ति' आवश्यक भएको अनि 'युक्रेनीहरूको मर्यादा सम्मानित हुनु पर्ने' बताए।

युरोपेलीहरू सामेल छैनन्

पछिल्लो योजनाको मस्यौदामा युक्रेन तथा उसका युरोपेली साझेदारहरू सामेल छैनन्। युरोपेली विदेशमन्त्रीहरूले किएभ वा ब्रसल्ससँग परामर्श नगरीकन प्रस्ताव ल्याउन नहुने चेतावनी दिएका छन्।

"कुनै पनि योजना सफल हुनका निम्ति युक्रेनीहरू तथा युरोपेलीहरू त्यसमा सहमत हुन आवश्यक छ," युरोपेली युनियनकी विदेश नीति प्रमुख काया कालासले भनिन्।

क्रेम्लीनका प्रवक्ता पेस्कोफले चाहिँ कुनै पनि शान्ति योजनाले 'द्वन्द्वको मूल कारण' सम्बोधन गर्नु पर्ने बताए – मस्कोको भाषामा त्यो भनेको उसको अत्यधिक माग सम्बोधन हो जसको अर्थ युक्रेनले आत्मसमर्पण गरे सरह हुन्छ।

आफ्नो दोस्रो कार्यकाल आरम्भ गरेदेखि नै राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि विभिन्न अभियान थाले। अलास्कामा पुटिनसँग शीर्ष भेटघाटका अतिरिक्त विशेष दूत विट्कफलाई कैयन् पटक मस्को भ्रमणमा पठाए। साथै उनले जेलेन्स्की तथा पश्चिमा देशका नेताहरूसँग पनि थुप्रै पटक छलफल गरे।

तर युद्ध थालिएको चार वर्ष पुग्न आँट्दा त्यसको अन्त्यबारे दुवै पक्षबीच ठूलै भिन्नता कायम छन्।

यसबीच लामो दुरीका ड्रोनमार्फत् रुसी सैन्य तथा ऊर्जा संरचनालाई लक्षित आक्रमण गर्न युक्रेन सिपालु भएको छ भने मस्कोको आक्रमण निरन्तर जारी छ।

युद्ध समापनलाई रुसले जटिल बनाइरहेको जेलेन्स्कीको आरोप

रुस-युक्रेन युद्ध: कीर्तिमान सङ्ख्यामा भएका ड्रोन हमलाले युद्धमैदानमा ल्याएको खतरनाक फेरबदल

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.