एमालेमा मतदान स्थगित हुनुको कारण अनि नतिजा थप ढिला गराउन सक्ने अरू कुरा

एमालेमा मतदान स्थगित हुनुको कारण अनि नतिजा थप ढिला गराउन सक्ने अरू कुरा

bbc.com . ७ घण्टा अघि

विद्युतीय मतदानयन्त्रमा समस्या देखिएपछि नेकपा एमालेको नेतृत्व चयनका लागि मङ्गलवार सुरु हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको छ।

मङ्गलवार दिउँसोबाट सुरु हुने भनिएको मतदान बारम्बार सर्दै साँझ पुगेको थियो। तर मतदानअघि परीक्षण गर्दा मतदानयन्त्रमा समस्या देखिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बीबीसी नेपालीलाई बताए।

"भोटिङ मशीनमा समस्या आएका कारण आज हुने भनिएको मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ," उनले भने। "त्यो बनाउन पाँचछ घण्टा लाग्छ भनियो, त्यसकारण स्थगित भएको हो।"

नतिजा कहिले

गौतमका अनुसार मतदान सुरु गर्न परीक्षण गर्दा समस्या पहिचान भएको थियो।

मतदान ढिलो भएसँगै एमालेको नेतृत्व चयनका लागि बुधवार हुने मतदानको अन्तिम परिणाम आउन समय लाग्ने देखिएको छ।

नेकपा एमालेले ११औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बीबीसी नेपालीसँग कुरा गर्दै मतगणना सुरु भएको तीन घण्टामै परिणाम आउने बताएका छन्।

"मतदान कार्यक्रम सम्पन्न भएपछि परिणाम आउन अधिकतम तीन घण्टा लाग्छ," सुब्बाले भने।

सुब्बाका अनुसार ८० वटा विद्युतीय मशीन प्रयोग गरेर भएको मतदान सक्न भने १० घण्टा लाग्न सक्छ। एक जना प्रतिनिधिलाई मतदानका लागि २५ मिनेटसम्म लाग्ने आकलन निर्वाचन आयोगले गरेको छ।

एमालेको महाधिवेशनका लागि देशभरि तथा प्रवास स्थित पार्टी सङ्गठनबाट २,२०० जना भन्दा बढी प्रतिनिधि छानिएर काठमाण्डू आएका छन्।

"एक जनालाई २० देखि २५ मिनेट लाग्छ। मतदानका लागि ८० वटा मशीन प्रयोग हुन्छन्, त्यसकारण १० घण्टा जति लाग्छ भन्ने अनुमान हो," सुब्बाले भने।

अन्तिम समयमा उम्मेदवार हेरफेर हुँदा विद्युतीय मतदान मशीनमा उम्मेदवारहरूको नामावली मिलाउन समय लागेको सुब्बाले बताए।

एमालेले महाधिवेशन चलिरहेको भृकुटीमण्डपको हल बुधवार बिहानसम्मका लागि मात्रै भाडामा लिएको छ। दिउँसोबाट अरूलाई नै उक्त स्थल भाडामा दिएका कारण मतगणनाको काम पार्टी कार्यालयमा सार्ने सम्भावना रहेको सुब्बाले बताएका छन्।

अघिल्लो महाधिवेशनबाट चुनिएका यी पाँच जना अहिले दौडमा छैनन्

ठिक चार वर्षअघि चितवनको सौराहामा भएको एमालेको अघिल्लो महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित भएका १९ जनामध्ये पाँच जना एमालेको ११औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका छन्।

एमालेको उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले यो पटक उम्मेदवार नै नबन्ने घोषणा गरे। अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भयो।

उपमहासचिव प्रदीप ज्ञवालीले यो पटक महासचिवमा दाबी गरेका थिए। तर केपी ओली समूहबाट उक्त पदको उम्मेदवार शङ्कर पोखरेल बनेपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए।

सचिवमा निर्वाचित भएका टोपबहादुर रायमाझी भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि थुनामा छन्।

अघिल्लो महाधिवेशनबाट पदाधिकारी बनेका पाँच ज बाहेक १४ जना नेताहरू यो महाधिवेशनमा पनि विभिन्न पदमा उम्मेदवार बनेका छन्। केपी ओली सहित १० जना पदाधिकारी यो पटक पनि ओली समूहबाटै पदाधिकारीको उम्मेदवार बनेका छन्।

अघिल्लो महाधिवेशनसम्म ओलीनिकट रहेका ईश्वर पोखरेल यो महाधिवेशनमा ओलीकै प्रतिद्वन्द्वी बनेका छन्। पोखरेल समूहको महासचिव उम्मेदवारमा अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका सुरेन्द्रप्रसाद पाण्डे छन्।

सचिवमा निर्वाचित गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार छन् भने अर्का सचिव योगेश भट्टराई उपमहासचिवको उम्मेदवार छन्।

नवौँ महाधिवेशनमा चुनिएका सात जना यो पटक पनि उम्मेदवार

एघार वर्षअघि भृकुटीमण्डपमै भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट पदाधिकारीमा चुनिएका १२ जनामध्ये सात जना यो महाधिवेशनमा पनि पदाधिकारीको दौडमा छन्।

त्यस बेला अध्यक्षमा पहिलो पटक निर्वाचित भएका ओली यो महाधिवेशनमा पनि अध्यक्षकै उम्मेदवार छन्। अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल नवौँ महाधिवेशनमा महासचिव बनेका थिए।

नवौँ महाधिवेशनबाट उपमहासचिव बनेका विष्णु पौडेल अहिले उपाध्यक्षमा अनि सचिव बनेका पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य र गोकर्ण विष्ट यो पटक उपाध्यक्षका उम्मेदवार छन्।

पौडेल र गुरुङ ओली समूहबाट उम्मेदवार छन् भने विष्ट पोखरेल समूहबाट। दुवै समूहमा नअटाएका आचार्यले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। नवौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका अर्का नेता योगेश भट्टराई पोखरेल समूहबाट उपमहासचिवको उम्मेदवार छन्।

ककसले फेरे गुट

अघिल्लो महाधिवेशनमा एमालेमा अधिकांश पदहरू सर्वसम्मत चयन भएका थिए। त्यस बेला पार्टीमा अध्यक्ष ओली र ओलीप्रति असहमति राखेर अलग भएका माधव नेपाल र झलनाथ खनाल समूह निकट रहेका केही नेता पनि निर्वाचित भएका थिए।

पछिल्लो समय ती नेताहरू ईश्वर पोखरेल समूहमा खुलेर देखिएका छन्।

तर त्यसमध्येका एक नेता रघुजी पन्त भने यो अधिवेशनमा ओली समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका छन्। समूहको उम्मेदवार सूचीमा अन्तिम समयसम्म पनि नअटाएका उनलाई प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेपछि त्यो ठाउँमा उम्मेदवार बनाइएको विवरण आएका छन्।

यसअघि ओलीनिकट मानिने आनन्द पोखरेलले पनि अन्तिम समयमा समूह परिवर्तन गरेका छन्। उनी पोखरेल समूहबाट उपमहासचिवको उम्मेदवार बनेका छन्।

पार्टीमा ओली वा ईश्वर पोखरेल पक्षमा स्पष्ट नखुलेको भनिएका शेरधन राई र हिक्मतबहादुर कार्की ओली समूहबाट सचिव पदमा उम्मेदवार बनेका छन्। कुनै समय ओलीको अतिनिकट रहेको भनिएका कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल र गोकुल बाँस्कोटा ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन्।

कुनै समय ओलीनिकट रहे पनि पछिल्लो समय विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने मत राखेर ओलीसँग टाढिएका कर्ण थापा पनि पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन्।

मोरङका एमाले नेता विनोद ढकाल पनि कुनै समय ओलीनिकट मानिन्थे। उनी पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.