मेक्सिको नकआउटमा पुग्ने पहिलो टिम
gorkhapatraonline.com · Sat Jun 20 01:23:32 GMT 2026
सहआयोजक मेक्सिको शुक्रबार दक्षिण कोरियालाई १–० ले हराएर विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । मेक्सिको दुई खेलपछि नै समूह ‘ए’ विजेता बन्ने पक्का भएको छ । उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो । पछिल्लो विश्वकपमा मेक्सिकोले समूह चरण पार गर्न सकेको थिएन । कतार विश्वकपअघिका सात संस्करणमा मेक्सिकोले समूह चरण पार गरे पनि प्रिक्वाटरफाइनलमा निराशा बेहोरेको थियो । सन् १९७० र १९८६ मा क्वाटरफाइनल खेल्दा मेक्सिकोले नै विश्वकपको आयोजना गरेको थियो । मेक्सिको यसपालि घरेलु मैदानमा लामो यात्रा तय गर्ने दाउमा छ ।
खेलको ५० औँ मिनेटमा दक्षिण कोरियाका डिफेन्डर र गोलरक्षकको गल्तीमा लुइस रोमोले निर्णायक गोल गर्नुभएको हो । गोलरक्षक किम सियुङ–ग्यु र डिफेन्डर लिग गि–ह्युक ठोकिएपछि डिबक्सभित्र बल प्राप्त गरेका रोमोले सहज गोल गर्नुभयो । खेलको ८७ औँ मिनेटमा दक्षिण कोरिया बराबरी गोलको निकै नजिक पुगेको थियो । चो गुइ–सुङले गोलपोस्ट नजिकबाट गरेको हेडर र त्यसपछि रिबाउन्डमा याङ ह्युन जुनले गरेको प्रहारमा गोलरक्षक राउल रान्गेलले ‘डबल सेभ’ गरेपछि दक्षिण कोरियाले बराबरी गर्न सकेन ।
Read full story at source (gorkhapatraonline.com)