नेपालमा पौडी खेलः सीमित स्रोतबीच अन्तर्राष्ट्रिय सफलताको सपना
emountaintv.com · Thu Aug 06 11:06:44 GMT 2026
कविना बलामी,काठमाडौँ। नेपालका पौडी खेलाडीहरू यतिबेला एसिया कपको तयारीमा व्यस्त छन्। सीमित स्रोत–साधन, अपर्याप्त पूर्वाधार र आर्थिक अभावका बीच पनि उनीहरू देशको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने लक्ष्यका साथ कठोर अभ्यासमा जुटेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आकांक्षा सबैमा भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न अझै धेरै चुनौती पार गर्नुपर्ने अवस्था छ।नेपालमा पौडी खेलको सम्भावना प्रशस्त भए पनि यसको विकास अपेक्षित रूपमा हुन सकेको छैन। अन्तर्राष्ट्रिय मापदण्डका स्विमिङ पुलको कमी, आधुनिक प्रशिक्षण सुविधा नहुनु, नियमित प्रतियोगिताको अभाव तथा पर्याप्त सरकारी लगानी नहुँदा खेलाडीहरूले आफ्नो क्षमता पूर्ण रूपमा प्रदर्शन गर्ने अवसर पाउन सकेका छैनन्।
धेरै प्रतिभावान खेलाडी आर्थिक अभावका कारण खेल जीवन नै छोड्न बाध्य हुने अवस्था पनि देखिन्छ।एसिया कपका लागि तयारी गरिरहेका खेलाडीहरूको मुख्य लक्ष्य व्यक्तिगत उत्कृष्ट समय सुधार गर्नुका साथै नेपाललाई सम्मानजनक नतिजा दिलाउनु हो। प्रतिस्पर्धी राष्ट्रहरू वर्षौंदेखि वैज्ञानिक प्रशिक्षण, आधुनिक उपकरण, खेल विज्ञान, पोषण, मनोवैज्ञानिक सहयोग तथा पर्याप्त आर्थिक लगानीका साथ तयारी गरिरहेका हुन्छन्।त्यसको तुलनामा नेपाली खेलाडीहरू सीमित साधनमै आफ्नो क्षमता प्रमाणित गर्न संघर्ष गरिरहेका छन्। नेपालमा पौडी खेलको विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। राजधानीका केही स्थानबाहेक अन्तर्राष्ट्रिय मापदण्डका स्विमिङ पुलको अभाव छ। अधिकांश जिल्लामा नियमित अभ्यास गर्न मिल्ने सुविधा छैन। यसले नयाँ प्रतिभा पहिचान र उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ। खेलाडी उत्पादनको अवस्था पनि चुनौतीपूर्ण छ। केही निजी विद्यालय, क्लब र स्विमिङ एकेडेमीले नयाँ खेलाडी उत्पादन गर्ने प्रयास गरिरहेका भए पनि त्यो पर्याप्त छैन। नियमित राष्ट्रियस्तरका प्रतियोगिता कम हुनु, उमेर समूहका खेलाडीलाई दीर्घकालीन प्रशिक्षण नहुनु र प्रशिक्षकको क्षमता अभिवृद्धिका कार्यक्रम सीमित हुनुका कारण खेलाडीको विकास निरन्तर हुन सकेको छैन। अझै पनि धेरै खेलाडीहरू आफ्नै र आफ्नो परिवारको आर्थिक लगानी तथा अथक मेहनतका भरमा देशका लागि खेलिरहेका छन्। सीमित स्रोत–साधनका बाबजुद उनीहरू राष्ट्रिय गौरवका लागि निरन्तर संघर्षरत छन्।
Read full story at source (emountaintv.com)