पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग
khabarhub.com · Thu Aug 13 17:06:31 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ । कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र पीडित परिवारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बैठकले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्यलाभको समेत कामना गरेको छ । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिकाको उच्च सम्मान गर्दै आगामी दिनमा पार्टीलाई गतिशील बनाउन उनले ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। यस्तै बैठकले प्रेस काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गिरफ्तार गरिएको, कार्यालयमा खानतलासी गरिएको र हत्कडी लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Read full story at source (khabarhub.com)