बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज सार्वजनिक
emountaintv.com · Sat Aug 15 07:00:22 GMT 2026
काठमाडौँ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । परिसंघले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष वीरेन्द्रराज पाण्डेले नीतिगत घोषणाभन्दा पनि त्यसको परिणाममुखी कार्यान्वयनमा जोड दिनुभएको हो । परिसंघले यस वर्ष निजी क्षेत्र र आर्थिक क्षेत्रसँग सम्बन्धित ७० वटा बुँदाहरू पहिचान गरी विस्तृत ‘बजेट वाच’ दस्तावेज तयार पारेको जानकारी दिएको छ । उक्त दस्तावेजमा सम्बन्धित निकायको भुमिका, आवश्यक कानूनी तथा नीतिगत सुधार र कार्यान्वयनका चरणहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ । ती बुँदाहरूलाई सातवटा क्षेत्रगत विषयमा वर्गीकरण गरी आगामी महिनाहरूमा विषयगत मन्त्रालयहरूसँग छुट्टाछुट्टै संवाद गरिने परिसंघले जनाएको छ । अध्यक्ष पाण्डेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको र बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम (तरलता) भएपनि बजारमा माग विस्तार हुन नसक्नु मुख्य चुनौती रहेको बताउनु भयो । ब्याजदर एकल अंकमा झर्दा समेत बजार माग अपेक्षाकृत रूपमा बढ्न सकेको नसकेको र अहिलेको मुख्य चुनौती भनेको समग्र आर्थिक गतिविधि र बजार मागलाई चलायमान बनाउनु रहेको बताउनु भयो । यसका लागि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा भरपर्दो माध्यम हुने परिसंघको ठम्याइ छ ।
Read full story at source (emountaintv.com)