जलवायु परिवर्तनको भयावह चित्र
barnanmedia.com · Sun Aug 16 00:50:30 GMT 2026

काठमाडौं । विश्वका विभिन्न भू-भाग अहिले जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी संकटसँग जुधिरहेका छन् । एकातिर युरोपभरी इतिहासकै भीषण गर्मी र सुक्खाले जनजीवन अस्तव्यस्त बनाएको छ भने अर्कोतिर एसियाली देशहरूमा लगातारको भारी वर्षा, बाढी, पहिरो र सामुद्रिक आँधीले ठूलो जनधनको क्षति पुर्याएको छ । जापानको राजधानी टोकियो बाहिरका क्षेत्रहरूमा केही दिनअघि कीर्तिमानी वर्षा भयो । चिबा जिल्लाका केही स्थानमा अगस्ट महिनाभरि पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी पानी आधा दिनमै खसेको हो । भीषण वर्षा र बाढीका कारण कम्तीमा आठ जनाको ज्यान गएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार मृत्यु हुनेहरूमा धेरैजसो सडकमा डुबेका गाडीभित्रै थुनिएका चालक तथा यात्रीहरू रहेका छन् । बाढीले एक लाखभन्दा बढी बासिन्दालाई सुरक्षित ठाउँमा सर्न आपतकालीन आदेश दिइएको थियो । बाढीले राजमार्ग र रेल सेवाहरू ठप्प भए । यसका साथै टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परे ।
संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानल (आइपिसिसी) का अनुसार कोइला, खनिज तेल र ग्यास जस्ता इन्धनको अत्यधिक प्रयोगले पृथ्वीको वायुमण्डल तीव्र रूपमा तातिरहेको छ । यसैको दुष्परिणामस्वरूप एकातिर भयानक खडेरी र डढेलो लागिरहेको छ भने अर्कोतिर मौसमी सन्तुलन बिग्रेर भीषण बाढी र टाइफुनहरू आइरहेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वी तातिँदै जाँदा यस्ता मौसमी विपत्तिहरू भविष्यमा अझ बारम्बार र अझ विनाशकारी हुँदै जानेछन् ।
Read full story at source (barnanmedia.com)