भदै २०८३
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो महिना तपाईंका लागि आत्मविश्वास र अवसर दुवै बढ्ने समय रहनेछ। सुरुका दिनमा केही काम अपेक्षाअनुसार अघि नबढ्दा मन अलि खिन्न हुन सक्छ तर धैर्यता राख्नुभयो भने परिस्थिति विस्तारै तपाईंको पक्षमा मोडिनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत र लगनलाई मूल्यांकन गरिनेछ। नयाँ जिम्मेवारी आउँदा सुरुमा दबाब महसुस भए पनि त्यसले राम्रो अवसरको ढोका खोल्नेछ। व्यापार गर्नेहरूले ग्राहकको विश्वास जित्ने अवसर पाउनेछन्। आर्थिक पक्षमा आम्दानी सन्तोषजनक रहने भए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले हिसाबकिताबमा ध्यान दिनु राम्रो हुनेछ। ठूलो आर्थिक निर्णय लिनुअघि राम्ररी सोच्नु उपयुक्त हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। घरका ज्येष्ठ सदस्यको सुझावले महत्त्वपूर्ण निर्णयमा सहयोग पुर्याउनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलेर राख्ने योग छ। पारिवारिक भावनात्मक दुरी हट्नेछ। विद्यार्थीका लागि अध्ययनमा एकाग्रता बढ्ने समय रहेको छ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। अत्यधिक कामको चापमात्र होईन आरामलाई पनि प्राथमिकता दिनुहोस्। कार्यक्षेत्रमा पदोन्नति हुने अवसर मिल्ने समय छ। महिनाको उत्तरार्धमा मनको महत्त्वपूर्ण इच्छा पूरा हुने संकेत देखिन्छ। आफूले बोलेका शब्द र गरेका प्रतिबद्धतामा अडिग रहनुहोला। सामाजिक कुरा सहज रूपमा अघि बढ्नेछन्। यो महिना भगवान् हनुमानको आराधना शुभ रहनेछ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो महिना तपाईंका लागि मिश्रित रहनेछ। संयम र सही निर्णयले सफलता दिलाउने समय रहनेछ। महिनाको सुरुवातमा केही काम अपेक्षाभन्दा ढिलो हुनसक्छ धैर्यता राख्नुहोला। आर्थिक पक्षमा पहिलेको तुलनामा सुधार आउने संकेत छ। बचत गर्ने सोचले भविष्यमा राम्रो आधार तयार गर्न सक्छ। नयाँ लगानी गर्नुभन्दा अहिले भएका स्रोतको उचित व्यवस्थापन गर्नु बढी लाभदायक हुनेछ। जागिर गर्नेहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा प्रशंसा पाउने योग छ। व्यापारमा पुराना सम्बन्धबाट लाभ मिल्नेछ। परिवारमा एकअर्काप्रतिको सहयोग र आत्मीयता बढ्नेछ। प्रेम सम्बन्धमा साना कुरालाई ठूलो विवाद नबनाउँदा सम्बन्ध अझ मिठासपूर्ण रहनेछ। विद्यार्थीका लागि नियमित अध्ययनले अपेक्षाभन्दा राम्रो नतिजा दिलाउन सक्छ। स्वास्थ्य सामान्य रहने भए पनि खानपान र निद्रामा लापरबाही नगर्नु राम्रो हुनेछ। पुरानो साथीसँगको भेटले मन खुसी बनाउनेछ। कामको सिलसिलामा छोटो र फलदायी यात्रा हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको व्यवहारको प्रशंसा हुनछ। कसैलाई गरेको सहयोग भविष्यमा तपाईंकै लागि उपयोगी बन्ने संकेत देखिन्छ। मनमा आएको हरेक कुरा तुरुन्तै व्यक्त गर्नु भन्दा समय र परिस्थिति बुझेर बोल्नु राम्रो हुनेछ। महिनाको अन्त्यतिर सुखद समाचार प्राप्तिको समय रहेको छ। शुभ कार्य थालनिको नयाँ अवसर प्राप्त हुन सक्छ। यो महिना महालक्ष्मीको आराधना शुभ रहनेछ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
यो महिना नयाँ सोचले राम्रो परिणाम दिनेछ। रोकिएका कामले गति लिन थाल्नेछन्। मनमा उत्साह बढ्नेछ। बोल्ने शैलीले धेरै काम सहज बन्न सक्छ। नयाँ चिनजान भविष्यमा उपयोगी साबित हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। जिम्मेवारी बढे पनि आत्मविश्वास कायम रहनेछ। व्यापारमा नयाँ योजना अघि बढाउने समय रहेको छ। आम्दानीमा सामान्य सुधार देखिन थाल्नेछ। खर्च गर्दा प्राथमिकता छुट्याउनु बुद्धिमानी हुनेछ। विद्यार्थीले अध्ययनमा अपेक्षित उपलब्धि हासिल गर्न सक्छन्। प्रतिस्पर्धात्मक परीक्षामा मेहनतको फल मिल्ने प्रबल सम्भावना छ। परिवारबाट राम्रो साथ र हौसला प्राप्त हुनेछ। दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। प्रेम सम्बन्धमा आफ्नो कुरा खुलेर राख्दा दूरी हट्नेछ। दाम्पत्य जीवनमा सानो यात्राको योग बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ तर अनियमित दिनचर्याबाट टाढा रहनु राम्रो हुनेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। महिनाको अन्त्यतिर खोज अनुसन्धानको अवसर प्राप्त हुनेछ। आफ्नो निर्णयमा विश्वास राख्नुहोस् परिणाम तपाईंको पक्षमा रहनेछ। सदैव भगवान् गणेशको आराधना शुभ रहनेछ। यो महिनाको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो महिना मन पहिलेभन्दा हल्का रहनेछ। घरपरिवारको साथले हौसला बढ्नेछ। रोकिएको काम अघि बढ्ने संकेत छ। लामो समयदेखि सोच्दै आएको योजना कार्यान्वयन गर्ने वातावरण बन्नेछ। धेरै कुरा आफ्नै पक्षमा हुँदै गएको महसुस हुनेछ। आम्दानी सामान्य रहे पनि खर्च नियन्त्रणमा राख्नु राम्रो हुनेछ। कसैलाई दिएको पैसा फिर्ता आउने सम्भावना छ। काम गर्ने ठाउँमा नयाँ जिम्मेवारी आउन सक्छ। हतारमा निर्णय नगर्नुहोस्। पुरानो अनुभवले नयाँ समस्या समाधान गर्न मद्दत गर्नेछ। साथीभाइसँगको भेटले मन रमाउनेछ। आफन्तसँगको दूरी घट्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। जीवनसाथीसँग राम्रो समझदारी कायम रहनेछ। विद्यार्थीले मेहनतको राम्रो फल पाउन सक्छन्। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु पर्याप्त हुनेछ। पेटसम्बन्धी समस्या भए बेवास्ता नगर्नुहोस्। छोटो यात्रा सुखद बन्न सक्छ। धार्मिक काममा मन लाग्नेछ। साझेदारीमा गरेको कार्य पूरा हुने शुभ समय छ। सदैव भगवान् शिवजीको आराधना शुभ रहनेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
महिनाको प्रारम्भमा तपाईंका लागि आफूलाई चिनाउने समय बन्नेछ। धेरै समयदेखि गरेको मेहनतको परिणाम देखिन थाल्नेछ। मनमा केही बेचैनी हुन सक्छ संयमित रहनुहोस्। जीवनसाथीसँग आपसी विश्वास अझ बलियो बन्नेछ। विद्यार्थीले लक्ष्यअनुसार मेहनत गरे राम्रो नतिजा हात पार्न सक्नेछन्। नयाँ सीप सिक्ने अवसर पनि मिल्न सक्छ। स्वास्थ्यमा सामान्य सजगता अपनाए पर्याप्त हुनेछ। पुरानो थकान हट्दै जानेछ। छोटो यात्रा फलदायी बन्न सक्छ। समाजमा तपाईंको मानसम्मान बढ्ने संकेत छ। महिनाको अन्त्यतिर एउटा राम्रो सुरुवातले थप उत्साह दिनेछ। नयाँ जिम्मेवारी आउँदा आत्मविश्वासका साथ अघि बढ्नुहोस्। आफ्नो क्षमता देखाउने अवसर गुम्न नदिनुहोस्। आर्थिक पक्षमा सुधारको संकेत छ। आम्दानी बढाउने नयाँ उपाय पनि भेटिने योग छ। खर्च भने आवश्यक काममै गर्नु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। टाढिएका आफन्तसँग फेरि सम्पर्क हुनेछ। ऋण धन पारिवारिक रुपमा खुलाएर भन्न सकिने समय छ। सदैव सूर्यनारायणको आराधना शुभ रहनेछ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कामको चाप बढे पनि नतिजा राम्रो आउनेछ। पुरानो योजना अघि बढाउने समय मिल्नेछ। सरकारी काममा ढिलाइ भए पनि अन्ततः टुङ्गो लाग्नेछ। कागजी प्रक्रिया पूरा गर्दा सजिलो हुनेछ। निजी क्षेत्रमा नयाँ अवसर देखिन सक्छ। व्यापारमा नयाँ सामान थप्ने सोच सफल हुन सक्छ। शेयर बजारमा धैर्य गर्नु बुद्धिमानी हुनेछ। घरजग्गाको विषयमा सकारात्मक छलफल हुन सक्छ। बैंक वा ऋणसम्बन्धी काम सहज बन्न सक्छ। अनुभवी व्यक्तिको सुझाव काम लाग्नेछ। बोल्दा भन्दा काम गरेर देखाउने समय छ। सानो गल्तीले आलोचना आउन सक्छ त्यसैले सजग रहनुहोस्। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। स्वास्थ्यमा पाचन प्रणालीको ख्याल गर्नु राम्रो हुनेछ। खानपान नियमित राख्नु लाभदायक हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ। अरूको जिम्मेवारी अनावश्यक रूपमा नबोक्नुहोस्। महिनाको अन्त्यतिर रोकिएको एउटा काम पूरा हुन सक्छ। यो महिना भगवान् विष्णुको आराधना शुभ रहनेछ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट बढ्ने महिना छ। नयाँ चिनजान काम लाग्न सक्छ। साझेदारीको काममा राम्रो परिणाम देखिन्छ। व्यापारमा ग्राहक बढ्ने योग छ। बैंकसम्बन्धी काम सहज बन्नेछ। घरको वातावरण रमाइलो रहनेछ। खर्चसँगै बचतमा पनि ध्यान दिनुहोस्। कार्यक्षेत्रमा महिनाको उतरार्धमा जिम्मेवारी थपिन सक्छ। शेयर बजारमा धैर्य गर्नु राम्रो हुनेछ। मनको कुरा सही व्यक्तिसँग मात्र गर्नुहोस्। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ। विद्यार्थीले नयाँ लक्ष्य बनाउन सक्छन्। सानो यात्राले फाइदा दिनेछ। सरकारी कामले गति लिनेछ। स्वास्थ्यमा थकान हुनसक्छ। आराममा पनि ध्यान दिनुहोस्। सामाजिक काममा सक्रियता बढ्नेछ। पुरानो विवाद टुङ्गिने संकेत छ। महिनाको अन्त्यमा खुसी दिने समाचार सुन्न पाइनेछ। यो महिना महालक्ष्मीको आराधना शुभ रहनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भदौ महिना तपाईंका लागि परिवर्तनको संकेत बोकेर आउने देखिन्छ। धेरै दिनदेखि मनमा राखेको योजना अघि बढाउने समय मिल्नेछ। सबै कुरा एकैपटक गर्न खोज्नु भन्दा प्राथमिकता छुट्याउनु राम्रो हुनेछ। महिनाको सुरुवातमा पुरानो अनुभवले नयाँ निर्णय लिन सजिलो बनाउनेछ। कार्य सुरुवाती चरणमा ढिलाइ भए पनि अन्तिममा राम्रो नतिजा मिल्नेछ। वैदेशिक अध्ययन वा रोजगारीको प्रयासले सकारात्मक मोड लिन सक्छ। व्यापारमा पुराना ग्राहकबाट राम्रो साथ मिल्नेछ। नयाँ साझेदारी गर्दा सबै कुरा बुझेर मात्र अघि बढ्नु उचित हुनेछ। समाजमा तपाईंको विचारको सम्मान हुने योग छ। राजनीति वा नेतृत्वसँग जोडिएको कामले राम्रो छवि बनाउन सहयोग गर्नेछ। लेखन र छापाखाना सम्बन्धित कार्यगर्ने व्यक्तिले नयाँ जिम्मेवारी पाउन सक्छन्। कर्जासम्बन्धी काम सहज रूपमा अघि बढ्नेछ। पारिवारिक यात्राको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक हुनेछ। खुलेर गरेको संवाद उपयोगी बन्नेछ। स्वास्थ्यमा थकान र निद्राको कमीलाई बेवास्ता नगर्नुहोस्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफूले दिएको वचन पूरा गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ। यो महिना भगवान् भैरवको आराधना शुभ रहनेछ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
महिनाको प्रारम्भमा नयाँ ठाउँ र नयाँ अवसरसँग जोडिने समय देखिन्छ। टाढाबाट आएको खबरले मनमा उत्साह थप्न सक्छ। वैदेशिक अध्ययन वा रोजगारीको प्रयासले राम्रो दिशा लिन सक्छ। अधुरो काम पूरा गर्ने अनुकूल समय मिल्नेछ। व्यापार विस्तार गर्ने सोचले गति लिने संकेत छ। अनुभवी व्यक्तिको सल्लाहले ठूलो निर्णय लिन सहज हुनेछ। सरकारी परीक्षा वा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना देखिन्छ। लेखन, शिक्षण र बौद्धिक काममा राम्रो प्रगति हुनेछ। घरजग्गासम्बन्धी काममा लगानी गर्ने सोच आँउनेछ। बैंक तथा वित्तीय काम सहज रूपमा अघि बढ्ने देखिन्छ। आत्मविश्वासको साथ व्यावसायिक कार्यमा अघि बढ्दा फाइदा मिल्ने योग छ। सामाजिक क्षेत्रमा तपाईंको विचारले राम्रो स्थान पाउन सक्छ। समयको सही उपयोगले अरूभन्दा अघि बढ्ने अवसर मिल्नेछ। नयाँ चिनजान भविष्यमा उपयोगी बन्ने संकेत देखिन्छ। अनावश्यक बहसभन्दा आफ्नो काममा केन्द्रित रहनु राम्रो हुनेछ। सानो प्रयासले पनि अपेक्षाभन्दा राम्रो उपलब्धि हात पर्न सक्छ। महिनाको उत्तरार्धमा आम्दानीको अर्को स्रोत थपिने संकेत देखिन्छ। आफूले गरेको मेहनतको उचित मूल्य पाउने समय आएको छ। यो महिना भगवान् विष्णुको आराधना शुभ रहनेछ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
भदौ महिना तपाईंका लागि मेहनतको प्रतिफल देखिने समय बन्न सक्छ। नयाँ जिम्मेवारीले अनुभवसँगै आत्मविश्वास पनि बढाउनेछ। काम गर्ने शैलीले राम्रो चर्चा पाउन सक्नुहुन्छ। पुरानो प्रयासको नतिजा यसै महिनाभित्र देखिन सक्छ। आफ्नो योजना समयमै अघि बढाउनु राम्रो हुनेछ। अनावश्यक हतारले भने सानो गल्ती गराउन सक्छ। आर्थिक पक्ष सन्तुलित रहने देखिन्छ। आम्दानीसँगै बचतमा पनि ध्यान दिन सक्नुभयो भने भविष्यमा सहज हुनेछ। घर मर्मत वा आवश्यक सामान खरिद गर्ने सोच बन्न सक्छ। अनुभवी व्यक्तिको सुझावले महत्त्वपूर्ण निर्णय लिन सजिलो हुनेछ। अधुरा कागजी काम टुङ्ग्याउने अवसर मिल्नेछ। कामका सिलसिलामा नयाँ व्यक्तिसँग चिनजान बढ्न सक्छ। सानो अवसरलाई बेवास्ता नगर्नुहोस् पछि त्यसैबाट ठूलो फाइदा मिल्न सक्छ। अरूको सफलतासँग आफूलाई तुलना गर्नु भन्दा आफ्नै लक्ष्यमा केन्द्रित रहनु राम्रो हुनेछ। समयको सही उपयोगले धेरै काम सहज रूपमा पूरा हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको व्यवहारको प्रशंसा हुन सक्छ। आफ्नो निर्णयमा विश्वास राख्नुभयो भने अपेक्षाभन्दा राम्रो उपलब्धि हात पार्न सक्नुहुनेछ। यो महिनाभरी हनुमानजीको आराधना गरेर दिनको शुरूवात गर्नुहोस्।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
भदौ महिना नयाँ सोचलाई सही दिशा दिने समय बन्नेछ। लामो समयदेखि मनमा रहेको योजना अघि बढाउन सकिनेछ। फरक ढङ्गले गरेको प्रयासले राम्रो परिणाम दिन सक्छ। काममा सिर्जनशीलता देखाउने अवसर मिल्नेछ। नयाँ प्रविधि वा नयाँ सीप सिक्न मन लाग्नेछ। अनुभवी व्यक्तिसँगको सहकार्य लाभदायक बन्ने देखिन्छ। आफ्ना विचार खुलेर राख्दा राम्रो साथ पाउनुहुनेछ। सामाजिक काममा सक्रियता बढ्न सक्छ। नयाँ चिनजानले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। आर्थिक पक्ष बिस्तारै सुदृढ बन्दै जानेछ। अनावश्यक खर्च घटाउन सक्नुभयो भने बचत बढ्नेछ। सानो लगानीले पनि राम्रो प्रतिफल दिने योग छ। लेखन, अनुसन्धान, सूचना–प्रविधि वा सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूलाई विशेष उपलब्धि मिल्न सक्छ। अरूको कुरामा धेरै अल्झिनुभन्दा आफ्नो लक्ष्यमा केन्द्रित रहनु राम्रो हुनेछ। समयको सही उपयोगले धेरै काम सहज रूपमा सम्पन्न हुनेछन्। अधुरा योजना पूरा गर्ने अनुकूल वातावरण बन्नेछ। पुरानो अनुभवले नयाँ चुनौती पार गर्न मद्दत गर्नेछ। आफूमाथि गरिएको विश्वास कायम राख्न सक्नुभयो भने सम्मान अझ बढ्नेछ। तपाईंले गरेको एउटा सही निर्णयले भविष्यका धेरै ढोका खोल्न सक्छ। यो महिना भगवान् शनिदेवको आराधना शुभ रहनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शान्त स्वभावले धेरै बिग्रिन लागेको काम सम्हाल्न मद्दत गर्नेछ। हतारमा भन्दा सोचेर लिएको निर्णय बढी फलदायी हुनेछ। मनमा रहेको अन्योल बिस्तारै हट्दै जानेछ। आफ्नै क्षमताले नयाँ अवसर सिर्जना गर्न सक्नुहुनेछ। कसैले दिएको सुझाव महत्त्वपूर्ण सावित हुन सक्छ। व्यापारमा ग्राहकको विश्वास बढ्ने देखिन्छ। कृषि, पशुपालन वा खाद्यसँग सम्बन्धित काममा राम्रो सुधार आउनेछ। सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। हातमा आएको अवसर गुम्न नदिनुहोस्। दैनिक आम्दानीलाई व्यवस्थित गर्दा आर्थिक अवस्था सन्तुलित रहनेछ। कुनै नयाँ ठाउँसँग सम्बन्ध जोडिन सक्छ। अध्ययन वा तालिमबाट राम्रो अनुभव प्राप्त हुनेछ। समाजमा विनम्र व्यवहारले सम्मान बढाउनेछ। आफन्तसँगको भेटघाटले मन हल्का बनाउनेछ। पुरानो मनमुटाव अन्त्य हुने सम्भावना छ। आवश्यक सामान खरिद गर्ने योजना बन्न सक्छ। आफूले सुरु गरेको काम अन्तिमसम्म निरन्तरता दिनुहोस्। सानो परिवर्तनले पनि जीवनमा सकारात्मक प्रभाव पार्ने समय छ। आफ्नो मेहनतको मूल्य ढिलो भए पनि अवश्य प्राप्त हुनेछ। यो महिना भगवान् श्रीविष्णुको आराधना शुभ रहनेछ।